२४ मंसिर २०८०, आइतवार
(नेपाली समय)
२४ मंसिर २०८०, आइतवार
नेपाली समय

प्रधानमन्त्रीको संश्लेषण : कोरोना रोकथाम ठीकै ढंगले चलेको छ

काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटार बस्ने मन्त्रिपरिषद् बैठकमा अचेल कोरोनाबाट जोगिन ‘सोसियल डिस्ट्यान्सिङ’ का लागि श्वेतपोश टेबलहरु अलि टाढा राखिएका हुन्छन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली कहिलेकाहीँ कडा रूपमा प्रस्तुत हुने गर्छन् । तर, सोमबारको बैठकमा उनी केही प्रफुल्ल भावमा देखिए ।

थोरै एजेन्डा भएका कारण सोमबारको मन्त्रिपरिषद बैठक छोटो समयमा सकियो ।

बैठकले चैत २५ को लकडाउनलाई बैशाख ३ गतेसम्म लम्ब्याउने निर्णय गर्‍याे । राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्‍याे । र, संसदको अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गर्‍याे ।

सोमबारको क्याबिनेटका निर्णयहरु यति नै बाहिर आएका छन् ।

मुलुक कोरोनाको जोखिममा परिरहेका बेला बसेको मन्त्रिपरिषद बैठकमा राष्ट्रिय परिस्थितिबारे पक्कै पनि विश्लेषण हुनुपर्ने हो । तर, सोमबार खासै छलफल भएन । फेरि बसौंला भनेर चाँडै उठ्ने काम भयो ।

यद्यपि प्रधानमन्त्री ओलीले बैठकमा छोटो अभिव्यक्ति दिँदै कोरोनाको रोकथामका लागि सरकारले गरेका प्रयासहरु सही दिशामै अघि बढिरहेको संश्लेषण गरेका थिए ।

देशले राम्रै प्रयास गरेको छ भन्दै प्रधानमन्त्री ओलीले अब ढिलासुस्ती गरेर गल्ती नगरौं, अझै पनि आउट बे्रकका सम्भावना छन्, त्यसैले कामलाई अझै व्यवस्थित गरौं भनेको स्रोतले अनलाइनखबरलाई बतायो ।

कांग्रेसको माग पूरा हुने भो !

देशको पछिल्लो जटिल परिस्थितिबारे प्रधानमन्त्रीले सोमबारको क्याबिनेटमा खुलेर छलफल नगरे पनि मंगलबार उनले देशबासीका नाममा सम्वोधन गर्ने भएका छन् ।

विपक्षी नेपाली कांग्रेसका नेताहरुले यस्तो संकटको घडीमा प्रधानमन्त्री किन मौन भन्दै प्रश्न उठाउँदै आएका छन् ।

सोमबारको बैठकपछि एक मन्त्रीले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्रीज्यूले भोलि देशबासीका नाममा सम्वोधन गर्दै हुनुहुन्छ, कांग्रेसको माग पूरा हुने भो ।’

प्रधानमन्त्रीले पार्टीमा जवाफ दिनुपर्ने

यसैवीच, नेकपा सचिवालयको बैठक पनि मंगलबार नै प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्दैछ । सचिवालयका नेताहरुले कोरोना रोकथामबारे सरकारले के गर्‍याे भनेर बैठकमा सोध्नुभन्दा तीन घण्टा पहिल्यै प्रधानमन्त्रीले टेलिभिजनमार्फत् सरकारका कामहरुको फेहरिस्थ सार्वजनिक गर्ने भएका छन् ।

तथापि, अपरान्ह बस्ने सचिवालयको बैठकमा शीर्षनेताले सरकारबाट भइरहेका कामबारे सोधखोज गर्ने पक्कापक्की छ ।

औषधिजन्य सामग्री खरीदको विषयमा स्वास्थ्यमन्त्रीको भूमिकामाथि प्रश्न उठाउनेदेखि लिएर प्रधानमन्त्री ओलीको सचिवालयका केही सदस्यका विषयमा समेत बैठकमा प्रश्न उठ्न सक्ने नेकपाको उच्च स्रोत बताउँछ ।

महासचिव विष्णु पौडेलले भने कोरोनाको महामारी रोकथामबारे सरकारले गरिरहेको प्रयासका सम्बन्धमा जानकारी लिने बैठकको कार्यसूची रहेको अनलाइनखबरलाई बताए ।

यही समसामयिक विषयमा छलफलका लागि बैठक बस्न लागेको उनले जानकारी दिए ।

सरकारका कतिपय निर्णयहरुबारे जनस्तरमा असन्तुष्टि देखिन थालेपछि केही नेताहरुले तत्काल सचिवालय बैठक बोलाउन नेतृत्वसँग माग गरेका थिए ।

नेकपाको सचिवालयमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डका साथै झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, ईश्वर पोखरेल र विष्णु पौडेलसमेत ९ जना छन् ।

साभार : अनलाइनखबर अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds