काठमाडौं : भावी प्रधानसेनापतिका दाबेदार मानिएका उपरथी प्रभुराम शर्माले रथीको जिम्मेवारी सम्हालेका छन्। आइतबार सैनिक मुख्यालयमा एक समारोहबीच प्रधानसेनापति पूर्णचन्द्र थापाले उनलाई रथीको दर्जयानी चिह्न प्रदान गरे।
शर्मालाई भावी प्रधानसेनापतिका रूपमा सबैले बधाई तथा शुभकामना व्यक्त गरे। वैशाख १४ को मन्त्रिपरिषद्ले उनलाई रथीमा बढुवा गरेको थियो। सेनामा दुई रथीको पद छ। दोस्रो वरीयताका रथी (बलाध्यक्ष) गौरव तण्डुल उमेर हदका कारण वैशाख १९ बाट अनिवार्य अवकाश पाएका छन्। खाली पदमा शर्माको बढुवा भएको हो। अहिले उनी करिब ९६ हजार सैनिक संगठनको तेस्रो शक्तिशाली व्यक्ति बनेका छन्।
सैनिक ऐनअनुसार रथीको उमेर हद ५८ वर्ष तोकिएको छ। सेनाका पहिलो वरीयताका रथी (बलाधिकृत) शरद गिरी पनि उमेर हदका कारण असार ६ गते अनिवार्य अवकाश पाउँदै छन्। गिरीको अवकाशपछि शर्मा पहिलो वरीयताका रथी अर्थात् प्रधानसेनापतिपछि संगठनमा सबैभन्दा शक्तिशाली सैनिक अधिकृत हुनेछन्। शर्माको रथीको कार्यकाल २०७८ पुससम्म रहने र प्रधानसेनापति थापाको तीन वर्षे कार्यकाल २०७८ भदौ २४ मा सकिनेछ।
प्रधानसेनापति नियुक्ति विगतमा झैं यसपटक त्यस्तो कुनै असजता र द्वविधा रहने छैन। थापा प्रधानसेनापति हुन म्याद थपको साथै एक दिनमा हुने या नहुने भन्ने अन्तिमसम्म असहज भएको थियो। त्यो अवस्था आउन नदिने प्रधानसेनापति थापाले पटक–पटक बताउँदै आएका थिए। उनले भनेअनुसार हुन २०७८ को भदौसम्म हालको ऐन संशोधन वा अन्य कुनै नयाँ व्यवस्था नभए वरीयताका आधारमा शर्मा प्रधानसेनापति बन्ने निश्चित छ।
भारतबाट एनडीसी कोर्स गरेका शर्मा अहिले सेनाको सबैभन्दा महत्वपूर्ण र शक्तिशाली सम्भाररथी विभागमा छन्। उनी यसअघि युद्धकार्य महानिर्र्देशकको विभाग र दूतावासमा सैनिक सहचारीसमेत रहिसकेका छन्। शर्मासँगै आइतबार प्रधानसेनापति थापाले सञ्जय थापा र आनन्दकुमार अधिकारीलाई उपरथीको दर्जयानी चिह्न प्रदान गरे। अधिकारीलाई उपत्यका पृतनाका पृतनापति र थापालाई मध्य पृतनाका पृतनापतिको जिम्मेवारी दिइएको सेनाका जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
साभार : अन्नपूर्ण पोष्ट अनलाइन