१६ असोज २०८०, मंगलवार
(नेपाली समय)
१६ असोज २०८०, मंगलवार
नेपाली समय

प्रशिक्षक मोउरिन्हो र खेलाडीलाई चेतावनी

लन्डन : इङ्लिस प्रिमियर लिग क्लब टोट्टनहामका प्रशिक्षक होजे मोउरिन्हो र उनका केही खेलाडीले सरकारद्वारा जारी नियमको उल्लंघन गरेका छन्। हाल विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण अधिकांश राष्ट्रले लकडाउन र सामाजिक दूरी कायम राख्नु पर्ने नियम लागू गरेका छन्।

इङ्ल्यान्ड पनि कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित राष्ट्रमध्ये एक हो। त्यसैले संक्रमण फैलिन नदिन लकडाउन र सामाजिक दूरीको नियम त्यहाँ पनि लागू गरिएको छ। त्यसैले इङ्ल्यान्डमा खेलकुदका सम्पूर्ण गतिविधि हाल स्थगित छन्। इङ्लिस प्रिमियर लिग फुटबल पनि लामो समयदेखि स्थगित छ।

तर, सरकारी नियमको उल्लंघन गर्दै प्रशिक्षक मोउरिन्हो र टोट्टनहामका केही खेलाडी प्रशिक्षण स्थलमा भेला भएको पाइएको छ। प्रशिक्षक मोउरिन्हो र केही खेलाडी नियमित प्रशिक्षणमा सहभागी भएको दृश्य सीसीटीभीमा कैद भएपछि क्लबसमेत उनीहरूसँग रुष्ट बनेको छ।

सीसीटीभीमा कैद भएको दृश्यमा क्लबका डिफेन्डर डाभिसन सान्चेज र रायन सेसेगोन मंगलबार सँगसँगै मैदानमा दौडिरहेका देखिन्छन्। उनीहरूको यस्तो कार्यबाट दुई वा सोभन्दा बढी व्यक्ति एकसाथ घर बाहिर निस्किन नहुने गरी सरकारले जारी गरेको नियमको उल्लंघन गरेको क्लबले जनाएको छ।

सीसीटीभीमा कैद दृश्यमा प्रशिक्षक मोउरिन्हो पनि खेलाडीलाई अभ्यास गराउने पोसाक लगाएर मैदानमा दौडिरहेको देखिएको छ। प्रशिक्षक मोउरिन्होले भने आफूहरूले सामाजिक दूरी कायम राखेरै नियमित अभ्यास गरेको दाबी गरेका छन्। अन्य खेलाडीले पनि प्रशिक्षककै भनाइ दोहोर्‍याएका छन्।

उक्त घटना सार्वजनिक भएपछि टोट्टनहामले नियमित अभ्यासमा सहभागी आफ्ना प्रशिक्षक र खेलाडीसँग सोधपुछ गरेको थियो। क्लबले खेलाडीहरूलाई आगामी दिनमा यस्तो गैरजिम्मेवार काम नगर्न चेतावनी पनि दिएको छ। ‘सामाजिक दूरीको नियमलाई अक्षरशः पालन गर्न हामीले प्रशिक्षक र खेलाडीहरूलाई फेरि निर्देशन दिएका छौं’, क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

टोट्टनहामका समर्थकहरूले पनि उक्त कार्यको आलोचना गरेका छन्। २९ खेलबाट ४१ अंक जोडेको टोट्टनहाम इङ्लिस प्रिमियर लिग तालिकाको आठौं स्थानमा छ। टोट्टनहाम च्याम्पियन्स लिगमा भने उपाधि होडबाट बाहिरिइसकेको छ। प्रिक्वार्टरफाइनल खेलमा टोट्टनहामलाई जर्मन क्लब रसेनबलस्पोर्ट लिपजिगले हराएको थियो।

साभार : अन्नपूर्ण पोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds