८ असोज २०८०, सोमवार
(नेपाली समय)
८ असोज २०८०, सोमवार
नेपाली समय

फ्रेन्च लिग अन्योलमा

पेरिस : विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण स्थगित भएको फ्रेन्च लिग फुटबल पुनः सुचारु नहुने सम्भावना बढेको छ। फ्रान्स सरकारले आगामी सेप्टेम्बरसम्म खेलकुदका कुनै पनि गतिविधि सञ्चालन गर्न रोक लगाएका कारण फ्रेन्च लिग रद्द हुने सम्भावना बढेको हो।

सरकारले आगामी सेप्टेम्बरसम्म बन्द रंगशालामा समेत कुनै पनि खेलकुद गतिविधि सञ्चालन नगर्न निर्देशन जारी गरेको छ। फ्रान्सका प्रधानमन्त्री एडुआर्डो फिलिपले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि कडा निर्देशन जारी गरेपछि फ्रेन्च लिगको सन् २०१९/२० सिजन अगाडि बढ्न नसक्ने भएको हो।

यसअघि फ्रान्स फुटबल महासंघले आगामी जुन १७ तारिखदेखि फ्रेन्च लिग पुनः सुचारु गर्ने योजना बनाएको थियो। महासंघले जुलाई २५ तारिखमा लिग टुंग्याउने लक्ष्य लिएको थियो। यसका लागि खेलाडीलाई कुनै पनि बेला अभ्यासमा फर्कन तयार रहन सूचना पनि जारी गरिसकेको थियो।

फ्रान्समा गत मार्च १३ तारिखदेखि फुटबलका कुनै पनि गतिविधि सञ्चालन भएका छैनन्। सरकारको पछिल्लो निर्देशनपछि अब फ्रेन्च लिगको स्थिति कस्तो हुन्छ भन्ने अन्योल पनि बढेको छ। लिग च्याम्पियन र रेलिगेसनमा पर्ने टोलीहरूको निर्णय कसरी लिने भन्ने विषयमा पनि अन्योल बढेको छ। यसका अतिरिक्त च्याम्पियन्स लिग र युरोपा लिगमा छनोट हुने टोलीको निर्णय लिन पनि अप्ठ्यारो परेको छ।

महासंघ र फ्रेन्च लिग सञ्चालक निकायसँग पनि यस विषयमा स्पष्ट योजना छैन। कोरोना भाइरसको त्रासका कारण फ्रेन्च लिग स्थगित हुनुअघि केही टोलीले २८ र केही टोलीले २७ खेल खेलेका थिए। यस आधारमा फ्रेन्च लिगमा अझै १० चरणको खेल हुन बाँकी छ।

हालसम्म २७ खेल खेलेको पेरिस सेन्ट जर्मन (पीएसजी) ६८ अंकसहित पहिलो र २८ खेल सकेको मार्सिल्ले ५६ अंकसहित दोस्रो स्थानमा छन्। पीएसजी फ्रेन्च लिगको साबिक विजेता पनि हो। फ्रेन्च लिगमा रेलिगेसनमा पर्ने सम्भावना रहेका टोलीबीचको अन्तर पनि खासै ठूलो देखिँदैन।

लिग लिडर पीएसजीका अध्यक्ष नासिर अल खेलाइफीले सरकारको निर्देशनको पालना गर्नु सबैको कर्तव्य भए पनि लिग टुंग्याउन कुनै अर्को विकल्प खोजिनुपर्ने धारणा व्यक्त गरेका छन्। ‘विपत्को यस घडीमा सरकारको निर्देशनलाई हामीले पालना गर्नै पर्छ। यो नागरिककै सुरक्षाका लागि हो’, उनले भनेका छन्, ‘तर, लिग टुंग्याउन हामीले उपयुक्त विकल्प खोज्नु आवश्यक छ।’ उनले अन्य राष्ट्रमा खेलाएर भए पनि लिग टुंग्याउनुपर्ने धारणा व्यक्त गरेका छन्।

साभार : अन्नपूर्ण पोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds