१९ मंसिर २०७८, आइतवार
(नेपाली समय)
१९ मंसिर २०७८, आइतवार
नेपाली समय

बन्द रंगशालामा विश्वकप नखेलाउन एलन बोर्डरको सुझाव

ग्लेन म्याक्सवेल पनि बोर्डरको पक्षमा

सिड्नी : चर्चित अस्ट्रेलियन क्रिकेटर एलन बोर्डरले आगामी टीट्वेन्टी विश्वकप क्रिकेट दर्शकविहीन रंगशालामा खेलाउनु उपयुक्त नहुने धारणा व्यक्त गरेका छन्। उनले दर्शकविहीन रंगशालामा विश्वकप खेलाउँदा प्रतियोगिताको वास्तविक सौन्दर्य गुम्ने दाबी पनि गरेका छन्।

पुरुष टीट्वेन्टी विश्वकप क्रिकेटको सातौं संस्करण आगामी अक्टोबर १८ देखि नोभेम्बर १५ तारिखसम्म अस्ट्रेलियामा आयोजना हुने कार्यक्रम छ। तर, अहिले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण उक्त प्रतियोगिताको भविष्य पनि अन्योलमा परेको छ।

कोरोना भाइरसको महामारीका कारण अहिले विश्वभर खेलकुद गतिविधि ठप्प छन्। कोरोनाको संक्रमण फैलने क्रम बढ्दै गएपछि एकपछि अर्को ठूला प्रतियोगिताहरू स्थगित भइरहेका छन्। सोही कारणले टीट्वेन्टी विश्वकपको आगामी संस्करण पनि अन्योलमा परेको हो। यद्यपि विश्वकप सुरु हुन अझै पाँच महिनाभन्दा बढी समय बाँकी छ।

कोरोना भाइरस नियन्त्रणमा नआए आगामी विश्वकप बन्द रंगशालामा खेलाउने विषयमा पनि छलफल सुरु भइसकेको छ। तर, अस्ट्रेलियन टोलीका पूर्वकप्तान बोर्डर भने कुनै पनि हालतमा बन्द रंगशालामा विश्वकप खेलाउन नहुने धारणा व्यक्त गर्छन्। ‘कुनै पनि ठूला प्रतियोगिताको वास्तविक सौन्दर्य भनेकै दर्शक हुन्। दर्शकको अनुपस्थितिमा विश्वकप जस्तो ठूलो प्रतियोगिताको कल्पनासम्म गर्न सकिँदैन’, आफ्नो समयका चर्चित क्रिकेटर बोर्डर भन्छन्।

बन्द रंगशालामा विश्वकप खेलाउनुभन्दा प्रतियोगिताको मिति केही समय पर सार्नु उपयुक्त हुने बोर्डरको सुझाव छ। ‘खेलाडी, दर्शक, निर्णायक र मैदानमा सक्रिय हुने पदाधिकारीहरूको सक्रियता नै क्रिकेटको वास्तविक सौन्दर्य हो। त्यसैले दर्शक नै नभएको रंगशालामा विश्वकप खेलाउनुको कुनै अर्थ हुँदैन। त्योभन्दा राम्रो प्रतियोगिताको मिति परिवर्तन गर्नुपर्छ वा अन्य कुनै उपयुक्त विकल्प खोज्नुपर्छ’, ६४ वर्षीय बोर्डरको कथन छ।

बोर्डरसँगै अर्का अस्ट्रेलियन क्रिकेटर ग्लेन म्याक्सवेल पनि बन्द रंगशालामा विश्वकप खेलाउने पक्षमा देखिँदैनन्। ‘ खेलाडीहरू पनि दर्शकविहीन रंगशालामा विश्वकप खेल्न चाहँदैनन्। खेलाडीको हौसला बढाउन रंगशालामा दर्शक नभए त्यो निरश क्षण हुन्छ’, म्याक्सवेल भन्छन्। दर्शक’ अस्ट्रेलियाको विभिन्न सहरमा आयोजना हुने भनिएको आगामी विश्वकपमा १६ राष्ट्रको सहभागिता रहनेछ।

साभार : अन्नपूर्ण पोष्ट अनलाइन