३० फागुन २०८०, बुधवार
(नेपाली समय)
३० फागुन २०८०, बुधवार
नेपाली समय

बागलुङमा रोपाइँको चटारो

बागलुङ, २९ जेठ (रासस) ः असार नलाग्दै यहाँका किसान रोपाइँमा व्यस्त छन् ।

सिञ्चित र दुई बाली उब्जाउ हुने खेतमा छिट्टै रोपाइँ शुरु भएको हो । हालसम्म करीब १० प्रतिशत रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत विप्लव अधिकारीले जानकारी दिनुभयो ।

वर्षा हुन थालेपछि रोपाइँ थप सहज भएको किसान बताउँछन् । जेठ दोस्रो सातादेखि नै रोपाइँ शुरु भएको गलकोट नगरपालिका–७ का सम्मरबहादुर थापाले बताउनुभयो ।

छिटो रोपाइँ हुनेमा गलकोट, कुश्मीसेरा, खरबाङ र बुर्तिबाङ क्षेत्र पर्छन् । गलकोटको मजुवा फाँट जिल्लाकै बढी धान उब्जाउ हुने थलोमा पर्छ ।

खोला आसपास र बाह्रैमास सिँचाइ भएको ठाउँमा रोपाइँ छिटो गरिन्छ । गहुँ र धानबालीमात्रै लगाउने खेतमा रोपाइँ छिटो हुने गरेको उहाँको भनाइ । मकैबाली हुने खेतमा मकै झिकेपछि रोपाइँ शुरु हुन्छ ।

करीब ९०० हेक्टरमा रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । दैनिकजसो परेको पानीले किसानलाई राहत मिलेको छ । यस वर्ष मनसुन छिटो शुरु भएकाले रोपाइँ छिट्टै सकिने अधिकृत अधिकारी बताउनुहुन्छ ।

जिल्लाको अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायत ठाउँमा रोपाइँ ढिलो हुन्छ । बागलुङमा कूल छ हजार १२२ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । त्यसमध्ये दुई हजार ६३५ हेक्टरमा उन्नत र तीन हजार ४८७ हेक्टरमा स्थानीय जातको धानखेती गरिएको छ । धान उत्पादनमा वृद्धि गर्न उन्नत जातको खेतीतर्फ किसान आकर्षित हुन थालेका छन् ।

कृषि कार्यालयले उन्नत जातको धानको खेती बढाउन किसानलाई बीउ वितरण र बीज वृद्धि कार्यक्रम सञ्चालन गरेको छ । जिल्लाको २० प्रतिशत सिञ्चित क्षेत्रमा धानखेती गरिँदै आएको छ । केही स्थानीय जातका साथै उन्नततर्फ माछापुच्छ«े, छुन्दुङ, हिमाली, सावित्री, जेठो बुढो, सुख्खा १, २, ३ लगायतका जातका धानको खेती गरिन्छ ।

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds