काठमाडौं : स्थानीय तह निर्वाचनमा भाग लिन उम्मेदवारी मनोनयन दर्ता गराएका ८ हजार जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
उम्मेदवारी फिर्ता लिने अन्तिम दिन शुक्रबार बागी र स्वतन्त्रसहित ८ हजारले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनका लागि ९५ हजार २५३ पुरुष र ५७ हजार ९६७ महिला गरी कूल एक लाख ५३ हजार २२० जनाको उम्मेदवारी परेको बताए। यसमा ८ हजार उम्मेद्वारले नाम फिर्ता लिएको उनले जानकारी दिए। अब १ लाख ४५ हजार उम्मेवार चुनावी प्रतिस्पर्धामा छन्।
यस्तै आयोगले देशभरका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ।
शुक्रबार साँझ प्रकाशित अन्तिम नामावलीअुनसार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको प्रवक्ता पौडेलले बताए। यही वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ता गराएर मनोनयन फिर्ता नलिएका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको उनको भनाइ छ।
राष्ट्रिय मान्यता प्राप्त छ वटा राजनीतिक दलका उम्मेदवारलाई मतपत्रको क्रम सङ्ख्या १ देखि ६ सम्म कायम निर्वाचन चिह्न प्रदान गरिएको छ।
यस्तै राष्ट्रिय मान्यता प्राप्त नगरेका तर आयोगमा दर्ता भएका दलका उम्मेवारलाई सम्बन्धित पार्टीको निर्वाचन चिह्न र स्वतन्त्र उम्मेदारलाई मतपत्रमा रहेको चिह्नबाट छान्न लगाइएको छ भने स्वतन्त्र उम्मेदवारका लागि भ्यागुतो, गुलावको फूल, भुइकटहरदेखि खसीको टाउको लौरी जस्ता निर्वाचन चिन्ह प्रदान गरिएको छ।
७५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ सदस्यका लागि बैंशाख ३० गते निर्वाचन हुँदैछ।
साभार : अन्नपुर्णपोष्ट अनलाइन