बाढी पीडितलाई जापानबाट आर्थिक सहयोग

बाबियाचौर, म्याग्दी, ३० जेठ (रासस) ः अन्नपूर्ण गाउँपालिका– २ भुरुङ तातोपानीका बाढीबाट पीडित वासिन्दाका लागि जापानबाट आर्थिक सहयोग प्राप्त भएको छ । 

हाल जापानमा रहनुभएका भुरुङ तातोपानीका सन्तोष थापामगरको पहलमा जापानको तोचीगीस्थित लाफा क्लबले रु एक लाख ३० हजार आर्थिक सहयोग गरेको हो । 

क्लबका कोषाध्यक्षसमेत रहनुभएका थापाले गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन र वडाध्यक्ष ओमप्रकाश फगामीको नाममा गरिमा विकास बैंकको पोखरेबगर शाखामा खोलिएको खातामा उक्त रकम जम्मा गर्नुभएको छ । 

वैशाख २९ गतेको भुरुङ तातोपानीका पीडित र सम्भावित विपद्को व्यवस्थापन तथा राहतका लागि सहयोग जुटाउन शुरु गरिएको अभियानमा हालसम्म रु दुई लाखभन्दा बढी सहयोग जुटेको छ । अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको नेपाल रेडक्रस सोसाइटीको उपशाखाले वडाध्यक्ष नरसिङ पुर्जामार्फत रु २० हजार १५५ उपलब्ध गराएको छ । 

बाढीले चार घर पूर्ण र १३ घरमा आंशिक गरी करीब रु एक करोडको क्षति गरेको थियो । 

जलउत्पन्न प्रकोप व्यवस्थापन कार्यालय बागलुङले उपलब्ध गराएको तारजालीमा ग्याबिन पर्खाल बनाएर बाढी पहिरो नियन्त्रणको काम शुरु गर्ने तयारी भएको वडाध्यक्ष फगामीले बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *