१० कार्तिक २०७८, बुधवार
(नेपाली समय)
१० कार्तिक २०७८, बुधवार
नेपाली समय

भारतमा नेपाली कामदारको बेहाल, राजदूत आचार्य गुमनाम

राजदूतावास भन्छ– जहाँ हुनुहुन्छ, त्यहीँ सुरक्षित रहनुस्

६ वैशाख, काठमाडौं । भारतमा देशव्यापी लकडाउन जारी रहँदा त्यहाँ रहेका नेपालीहरुको अवस्था नाजुक बन्दै गएको छ । ठूलो संख्यामा नेपाली कामदारले रोजगारी गुमाएका छन् भने कयौं भोकभोकै छन् ।

कोरोनाको महामारी फैलिन थालेपछि भारत सरकारले गत २४ मार्चदेखि देशव्यापी लकडाउन गर्‍यो । त्यसयता धेरै उद्योगधन्दा कलकारखाना बन्द भए । त्यहाँ नेपालीहरुको सबैभन्दा ठूलो रोजगार क्षेत्रका रुपमा रहेको होटल व्यवसाय ठप्प जस्तै छ । लकडाउन कहिलेसम्म जारी रहने भन्ने टुङ्गो नभएकाले प्रायः होटल रेस्टुरेन्टले नेपालीहरुलाई धमाधम कामबाट निकालिरहेका छन् । ननिकालेकाहरूले पनि तनखा दिएका छैनन् ।

अखिल भारत नेपाली एकता मञ्चका युवा नेता आरबी खड्का अहिलेसम्म भारतमा २० प्रतिशतभन्दा बढी नेपाली कामदारले रोजगारी गुमाइसकेको र यो आँकडा अबका दिनमा तीव्ररुपमा बढ्ने आकलन गर्छन् ।

‘होटल रेस्टुरेन्टमा वेटर, कुकका रुपमा काम गर्ने तथा घर तथा कार्यालयमा चौकीदारको काम गर्ने धेरै नेपालीहरुको रोजगारी गुमेको छ र बेखर्ची बनेका छन्,’ उनले भने ।

आधिकारिक तथ्यांक नभए पनि भारतका विभिन्न स्थानमा १५ लाख नेपालीहरु रहेको अनुमान छ । उनीहरूमध्ये ३० प्रतिशत सुदुरपश्चिमका छन् । यसैगरी ५० हजार जति नेपाली विद्यार्थीहरु भारतमा अध्ययनरत छन् । भारतमा राम्रो जागिर वा व्यवसाय गरिरहेका नेपालीहरुको सानो हिस्सा पनि छ । अहिले लकडाउनले सबैभन्दा पीडित बनेका चाहिँ कामदार वर्ग नै हो । उनीहरु बेहालको अवस्थामा रहेको केही अगुवा नेपालीहरुको कुराकानीबाट बुझ्न सकिन्छ ।

कोरोनाको त्रास

भारतमा कोरोनाले ठूलो महामारीको रुप लिइसकेको त छैन, तर संक्रमण बढ्दो छ । त्यहाँ शुक्रबारसम्म १४ हजार संक्रमित भेटिएका छन् भने चार सय ५२ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा कुनै नेपालीको कोरोनाबाट मृत्यु भएको छैन । केही नेपालीहरुमा संक्रमण भने देखिएको छ । दिल्लीस्थित नेपाली दूतावास स्रोतले एक दर्जन नेपालीलाई कोरोना पुष्टि भएको जानकारी दियो । केही दिनअघि मुम्बईकै गिरगाउँ चौपाटीमा बस्ने एक नेपाली परिवारका आठ सदस्यमा कोभिड–१९ पुष्टि भएको थियो ।

अहिले धेरै नेपालीहरु कोरोना संक्रमणको जोखिममा रहेको प्रवासी नेता राजु खनाल बताउँछन् ।

‘न्यून आय भएका नेपाली कामदारहरु एउटै कोठाभित्र धेरै जना कोचिएर बसेका हुन्छन्, सामाजिक दुरी बनाउन सम्भव नै छैन । त्यसैले एकजनालाई संक्रमण हुनासाथ सबैमा फैलिने अवस्था छ,’ खनालले भने । साथै अस्पताल गएर उपचार गर्ने पैसा नभएर कतिपयले रोग लुकाएर बसिरहेको हुन सक्ने पनि उनी बताउँछन् ।

दिल्लीको शाहीनबाग भन्नेमा ठाउँमा एक हजार नेपाली परिवार छन् । मुस्लिम बाहुल्यता रहेको सो क्षेत्रलाई भारत सरकारले कोरोनाको ‘हट स्पट’ मानेर कडा लकडाउनमा राखेको छ । घरबाट बाहिर निस्किन रोक लगाइएको छ । यस क्षेत्रमा नेपालीहरू काम गर्ने साहुलाई कोरोना संक्रमण भएकाले नेपालीहरू पनि जोखिममा रहेको खनालले जानकारी दिए ।

‘त्यहाँका नेपालीहरुको अवस्था दयनीय रहेको सूचना पाएका छौँ,’ उनले भने, ‘न उनीहरुलाई दिल्ली सरकारले हेरेको छ, न नेपाली दूतावासको आँखा पुगेको छ ।’

नेपाली कामदारहरुको सबैभन्दा ठूलो संख्या दिल्ली र महाराष्ट्रमा छ । दिल्लीमा करिब पाँच लाख र महाराष्ट्रमा तीनदेखि चार लाख नेपालीहरु बसोबास गरिरहेको प्रवासी संगठनहरुले जनाएका छन् । यी दुवै राज्य कोरोनाबाट बढी प्रभावित हुन् ।

भोकले मर्ने चिन्ता

भारतमा नेपालीहरुलाई यतिबेला कोरोनाको त्रासभन्दा पनि भोकै मरिने चिन्ता बेसी छ । उत्तराखण्डबाट रामबहादुर थापाले म्यासेन्जरमा भने, ‘मजदुरी गरेर जोगाएको पैसा सकियो । अब भोकले मरिन्छ कि जस्तो छ ।’

भारत सरकारले दिने राहत नेपाली कामदारहरूसम्म आइपुग्दैन । भारतको आधारकार्ड भएकाहरूलाई मात्रै राहत दिने सरकारको नीति छ । साथै भारतका विभिन्न संघ-संथाले मजदुरहरुलाई राहत वितरण गर्दा पनि नेपाली कामदारलाई पन्छाउँछन् ।

अहिले अधिकांश नेपालीहरू स्वदेश फर्किन चाहन्छन् । भारतमा रोजगारी गुमेको अवस्थामा फर्किनुको विकल्प पनि उनीहरुसँग छैन । घर फर्किन पाएमा कम्तीमा परिवारसँग जे–जसरी बाँचिन्थ्यो भन्ने धेरैलाई लाग्छ । तर, फर्किने उपाय पनि केही छैन । स्वदेश फर्किन खोज्नेहरु सीमानामा नेपालकै प्रहरीबाट लखेटिन्छन् ।

सीमानामा रोकिएका नेपालीहरुलाई भारतीय प्रशासनले क्वारेन्टाइनमा राखेको भनिएको छ । तर, यस्ता क्वारेन्टाइन नाम मात्रैको रहेको भनेर समाचारहरु आइरहेका छन् । यी कथित क्वारेन्टाइनमा भारतीय प्रहरी प्रशासनले नेपालीहरुलाई अमानवीय व्यवहार गरिरहेको विभिन्न संघ-संस्थाले जनाएका छन् ।

‘यसै त भारतमा पहिलेदेखि नेपालीहरुमाथि हेपाहा व्यवहार हुन्छ । त्यसमाथि आफ्नै देशको प्रहरीबाट लखेटिएकाहरुलाई त उनीहरुले अपमान गर्नु कुन ठूलो कुरा भयो ?’ प्रवासी संगठनका एक नेताले भने ।

अहिले अखिल भारतीय नेपाली मञ्च र अन्तर्राष्ट्रिय वीपी चिन्तन प्रतिष्ठानले दिल्लीमा केही नेपालीहरुलाई संरक्षण दिइरहेको छ । मञ्चका नेता खड्काले दिल्लीमा अलपत्र परेका दुई सय ५० जति नेपालीहरुलाई आफूहरूले बस्ने–खाने प्रवन्ध मिलाइरहेको बताए ।

‘आकाशे पुलमुनि, धर्मशालामा र सडकमा यत्तिकै अलपत्र परेका नेपालीहरुलाई उद्धार गरेर अस्थायी क्याम्पमा राखी आवश्यकता अनुसार रासनको प्रवन्ध मिलाएका छौँ,’ उनले भने ।

यसबाहेक नेपाली समुदायलाई अन्य कुनै संघ–संस्थाबाट ठोस सहायता प्राप्त भएको छैन ।

भारतका अस्पतालहरुमा उपचारका लागि पुगेका नेपालीहरु पनि बिचल्लीमा परेका छन् । बिरामी र कुरुवासमेत गरी यस्ता व्यक्तिहरु एक हजारभन्दा बढी संख्यामा रहेको अनुमान गरिएको छ ।

दूतावास भूमिकाविहीन, राजदूत गुमनाम

भारतमा नेपालीहरुको बिजोक भइरहँदा झट्ट सम्झना हुन्छ, दिल्लीस्थित नेपाली राजदूतावासको । प्रवासी नेपालीहरुका लागि दूतावास नै प्रमुख अभिभावक हो । दिल्लीको नेपाली दूतावासले यतिबेला नेपाली समुदायको संरक्षणमा के–कस्ता पहल गरिरहेको होला ?

दुःखका साथ भन्नुपर्दा नेपाली दूतावास यतिबेला लगभग भूमिकाविहीन देखिएको छ । वयोवृद्ध राजदूत नीलाम्बर आचार्य निस्क्रियजस्तै छन् । उनको उपस्थिति कतै पनि देखिँदैन । अनुशासनपूर्वक लकडाउनको पालना गरेर निवासभित्र आराम गरिरहेका उनी अरुलाई पनि यसै गर्न सल्लाह दिन्छन् ।

राजदूत आचार्यको फेसबुक हेर्ने हो भने उनले पछिल्लोपटक प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा अन्तर्वार्ता सेयर गरेका छन् । त्यसभन्दा अगाडि गत ५ अप्रिलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानअनुसार राति ९ बजे ९ मिनेटसम्म दीप प्रज्वलन गरेको भन्दै तस्वीरसहित दुईवटा स्टाटस सेयर गरेका छन् ।

उनी लेख्छन्, ‘भारतका प्रधानमन्त्री माननीय श्री मोदीको आह्वानमा आज साँझ ९ बजेदेखि ९ दियो बालियो । एउटै संकल्प लिएर गरिएको यो दीप प्रज्ववलनले एकताको सशक्त सन्देश दिएको छ ।’

यसरी मोदीको आदेश पालना गरेर एकताको सन्देश दिएका राजदूतले भारतमा बेहाल अवस्थामा रहेका नेपालीहरुलाई चाहिँ कस्तो सन्देश दिएका छन् त ?

राजदूतले फेसबुकमै दिएको सन्देश यस्तो छ, ‘लकडाउन पूर्ण पालना गरौँ । बाहिर ननिस्कौँ । जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ। जीवन रक्षा गरौँ । महामारीविरुद्ध लडाइँमा विजयी बनौँ।’

आचार्य मन्त्रीसरहको हैसियतमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ खाएर राजदूत नियुक्त भएका हुन् । नेपालका प्रधानमन्त्रीसँग भिडियो कन्फ्रेन्स गर्दा मोदीले उनलाई आफ्नो आडैमा राखेको देख्दा उनले भारतमा राम्रै पहुँच बनाएका हुन् कि भन्ने ठानिएको थियो । तर, अहिले संकटको बेलामा उनी निरीह देखिएका छन् ।

आचार्य गत माघमा ७५ वर्षको उमेरमा राजदूत नियुक्त गरिँदा उनलाई ‘बुढेसकालमा आराम गर्न पठाइएको’ टिप्पणी भएको थियो । नभन्दै त्यस्तै भएको छ । राजदूत भएर गएदेखि उनी गुमनाम नै छन् । बिरामी पत्नीलाई समय दिनुपर्ने भएकाले पनि उनले दूतावासको जिम्मेवारी राम्ररी निभाउन नसकिरहेको बताइन्छ ।

अखिल भारत नेपाली एकता मञ्चका युवा नेता आरबी खड्का भन्छन्, ‘यतिबेला नेपाली राजदूतावास आफैँ क्वारेन्टाइनमा छ । हामीले गरिरहेको कामका लागि धन्यवाद दिनुबाहेक उसले अरु केही गरेको छैन । गर्ने क्षमता पनि छैन ।’

अप्ठ्यारोमा परेका नेपालीहरुले फोन गर्दा दूतावासको फोनसमेत नउठ्ने गरेको उनले गुनासो गरे ।

‘हाम्रो अभिभावक भनेको दूतावास हो, तर उसले अभिभावकत्व देखाउन सकेको छैन,’ खड्काले. भने ।

आचार्य भन्छन्– काम गरिरहेका छौँ

अनलाइनखबरसँगको टेलिफोन कुराकानीमा आचार्यले संकटका बेला दूतावास सुतेर नबसेको बताए । आफ्नो तहबाट सक्दो काम गरिरहेको उनको भनाइ छ ।

‘तपाईंले फोन गर्नुअघि पनि म एकजना मुख्यमन्त्रीसँग कुरा गर्दै थिएँ । यहाँ लाखौंको संख्यामा नेपालीहरुलाई दूतावास आफैँले हेर्न सक्दैन । हामीले भारत सरकार र यहाँका संयन्त्रलाई नै घच्घच्याउने हो । त्यो काम गरिरहेका छौँ,’ आचार्यले भने ।

दूतावासको फोन नउठ्ने गरेको गुनासोमा उनले भने, ‘कहिलेकाहीँ उठ्दैन होला । एकपटक उठेन भने फेरि प्रयास गर्दा भयो नि । दूतावासको ल्यान्डलाइन फोन बिहान १० बजेदेखि ५ बजेसम्म उठ्छ । चौबिसै घन्टा उठ्ने मोबाइल फोन पनि दिएकै छौँ ।’

उनले संकटका बेला गुनासो आउनु स्वभाविक भएको भन्दै आफूले नेपाल सरकारसँग समन्वय गरेर काम गरिरहेको बताए ।

साभार : अनलाइनखबर अनलाइन