७ कार्तिक २०७८, आइतवार
(नेपाली समय)
७ कार्तिक २०७८, आइतवार
नेपाली समय

भारतीय मिडियासँग परराष्ट्रमन्‍त्रीले भने, ‘नेपाललाई हेर्ने लेन्स दिल्लीले बदल्नुपर्छ’

काठमाडौँ : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले नेपाललाई हेर्ने लेन्स बदल्नुपर्ने बताएका छन् ।

भारतीय टेलिभिजन ‘आजतक’सँगको अन्तर्वार्तामा बोल्दै उनले यस्तो बताएका हुन् । साथै मन्त्री ज्ञवालीले नेपालले हालै जारी गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा स्थायी भएको पनि बताए ।

उक्त नक्साले गर्दा दुई देशबीचको वार्तामा कुनै असर नपुग्ने मन्त्री ज्ञवालीको भनाइ थियो । कुनै पनि देशले आफ्नो सीमाको पहिचान गर्नुपर्ने भएकाले नेपालले जारी गरेको नक्सालाई स्वभाविक प्रक्रियाको रुपमा उनले व्याख्या गरेका थिए ।

तर यसबारे भारतीय मिडियाले व्याख्या गर्ने गरेको धारणा प्रति उनले आपत्ति जनाएका थिए । नेपाललाई चीनले उक्साइरहेको भन्दै आउने गरेका टिप्पणीप्रति उनले नेपालको स्वतन्त्र निर्णयमा विदेशीको हात रहेको देख्ने लेन्स नै फेर्नुपर्ने सुझाव उनले दिए ।

‘म भारतीय मित्रहरुसँग आग्रह गर्न चाहन्छु, उहाँहरुले नेपाललाई हेर्ने लेन्स बदल्नूस्,’ मन्त्री ज्ञवालले भने । यसवाहेक नेपाल मात्रै उपनिवेश नभएको एक दषिण एसियाली देश रहेको इतिहास मन्त्री ज्ञवालीले स्मरण गराएका थिए ।

यसैले पनि नेपाल आफैँ स्वतन्त्र निर्णय गर्न नसक्ने धारणा परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो । साथै नेपालको नयाँ नक्सा बनाउनुमा नेपाली जनताको हात रहेको ज्ञवालीले बताएका थिए ।
मन्त्री ज्ञवालीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नेपालबारे टिप्पणीमा पनि आपत्ति जनाएका थिए ।

साभार: अन्नपूर्णपोष्ट अनलाइन