२१ असार २०७९, मंगलवार
(नेपाली समय)
२१ असार २०७९, मंगलवार
नेपाली समय

मजदुरहरुको दुखेसो–रोगभन्दा भोक सहन गाह्रो

१ वैशाख, काठमाडौं । चैत १० गतेअघिसम्म सिन्धुलीका हरि माझीलाई दिन बितेको पत्तो हुँदैनथ्यो । दिनभर भारी बोक्यो, साँझ खाना खायो थुपुक्क सुत्यो । एकै निद्रामा बिहान झिसमिस भइहाल्थ्यो । जुरुक्क उठेपछि भारी बोक्ने काम सुरु हुन्थ्यो । यसरी बित्थे माझीका दिनहरु ।

दैनिक गुजाराका लागि भारी बोकेर उपत्यकामा भौंतारिएको धेरै वर्ष भइसक्यो तर उहाँलाई अहिलेको जस्तो सकस पहिले कहिल्यै परेको थिएन । “दिनदिनैको बन्दले केही गर्न पाएको छैन । आज २० दिन भयो दुई चार पैसा कमाइ पनि छैन । विकल्प नै केही नभएपछि के गर्नु भोकभोकै बस्नुपरिरहेको छ”, भक्तपुर थिमिस्थित शङ्खधर चोकमा भेटिएका माझीले मलिन स्वरमा दुःख पोखे ।

माझी थोत्रो ज्याकेट र पाइन्ट, धेरै दिन नुहाउन नपाएर जिङ्रिङ परेको कपाल, मुखमा कालो मास्क र फाट्न लागेको चप्पलमा देखिए । उनका अरु मजदुर साथीहरु पनि सडकपेटीमा सुस्ताउँदै थिए । माझीले हामीलाई व्यथा पोख्न भ्याए । समस्या सबैको उही न हो, बीचबीचमा उनीहरु पनि थप्दै थिए । कसरी दिन काट्ने होला भन्ने नै थियो सबैको साझा चिन्ता ।

सकड खाली नै थियो । एकै छिनमा मानवसेवा आश्रमको गाडी हुँइकिएर आयो । माझीलगायत उनका मजदुरहरु साथीहरु र सडक पेटीमा बसिरहेका अरुको अनुहार उज्यालो भयो । सबै खुशी देखिए । लकडाउनको सुरुआतमा भोगभोकै परेका मजदुरहरुलाई केही दिनदेखि त्यही गाडीले खाना ल्याएर खुवाउने रहेछ । यसो हेर्दैगर्दा उनीहरु बसेकै सडकपेटीमा खाना आइपुग्थ्यो । आश्रमले यसरी नियमित खाना खुवाउन थालेदेखि उनीहरुको मुहारमा चमक देखिन थालेको रहेछ जुन आज पनि झल्कियो ।

“केही दिन भयो यसैगरी खाना बाँड्न ल्याउनुहुन्छ, खायो बस्यो, बेलुका पाटीमा गयो सुत्यो, यसरी चल्दैछन् हिजोआजका दिन”, माझीले सुनाए । सुरुका दिनहरुमा भोकभोकै पर्यौँ उनले भने । कतिदिन त एक छाक खान पायौँ अनि धेरै दिन भोकै रहेको पीडा भुल्न नसकेको भन्दै अब त्यस्ता दिन नआएहुन्थ्यो उनी भन्दै थिए । पछिल्ला केही दिन खान त पाएका छन् तर उनीहरुको मनले मानेको छैन । उनीहरु काम गर्न चाहन्छन् । तर पाएका छैनन् ।

सरकारसँग रासन माग्न पनि गएकै हो, तर मजदुरले पाएनन् । “सिफारिस लिएर गएको हो खोइ साहुहरुलाई दियो, हामीलाई दिएन” खाना खुवाउने आश्रमलाई धन्यवाद दिँदै माझीले थपे, “हजुर रोग लागेर त केही हुँदैनथ्यो भोक सहन सकिँदैन जस्तो लाग्नथाल्यो ।” उनले रोग लागेर पनि सबै जना मर्दैनन् भनेर आफूले सुनेको बताउँछन् ।

नजिकै रहेका उनका अन्य सहकर्मीहरु भाइकाजी खत्री, रामबहादुर वाइवा, बाबुराम गुरुङ, प्रेम धिमाल, पूर्ण लामा सडकपेटीमै बसेर धमाधम खाना खाँदै थिए । खाना खानुअघि आश्रमले नै सेनिटाइजरको व्यवस्था गरेको थियो । सामाजिक दुरी कायम गरेर खाना खुवाइएको थियो । बेखर्ची भएर सडकमै बस्न बाध्य उनीहरु धेरैजसोको काम भारी बोक्ने नै हो ।

नुवाकोटका पूर्ण लामाको कथा केही फरक छ । उनी जात्रा हेर्न चैत ९ गते उपत्यका भित्रिएका रहेछन् । तर बन्दाबन्दीले निस्कनै पाएनन् । चैत १० मा भेटघाट सकेर ११ गते फर्कने सोच थियो उनको । तर १० गते साँझ सरकारले कोभिड–१९ को सङ्क्रमण रोक्न मुलुकमा अत्यावश्यक कामबाहेक बाहिर निस्किन नपाउने बन्दाबन्दी ‘लकडाउन’ को आदेश जारी गर्यो । राति मात्रै थाहा पाएका लामा उपत्यकामा अलपत्र परे । साथमा रहेको पैसा पनि केही दिनमा सकियो, खाना खान भौतारिनुपर्‍यो । अहिले कहिले पेटभर त कहिले आधी पेटमा दैनिकी चल्दैछ । विगत पाँच दिनदेखि भने पेटभर खान पाएको उनले सुनाए ।

काठमाडौंको कोटेश्वरमा एक सानो खाजा पसलमा कुक काम गर्ने रामेछापका वीरबहादुर खड्का पनि आफू कहिल्यै अभावमा परेको मान्छे नभए पनि यतिखेरको जस्तो समस्या कहिल्यै सामना गर्नु नपरेको बताउँछन् । लकडाउनलाई अघिपछिको बन्दजस्तै होला भन्ने ठानेका उनी मुलुक नै सुनसान बन्द भएपछि छक्क परेका छन् । मासिक रु १६ हजार तलब खाने खड्का अहिले बेखर्ची भएपछि सडकमै छन् । घर जान सकिने अवस्था रहेन । सरकारले राहत पनि दिएन । “राहत दिन्छ रे भनेर नागरिकता लिएर गएको दिएन”, खड्काले दुःख पोख्दै भने, “त्यही सडकमा डुल्ने, खाने, ठेला र प्रतिक्षालयमा सुत्ने अवस्थामा छु, दिन काट्नै पर्‍यो के गर्नु ?” उनलाई सुरुमा कोटेश्वरमा एउटा युवा क्लबले खाना दिन्थ्यो । अहिले सो आश्रमले खाना दिन थालेपछि भने सजिलो भएको सुनाए ।

खाना खुवाउन आइतबार साँझ मध्यपुरथिमि नगपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी सरिक भएकी थिइन् । घरमा असहायको संरक्षण गरी सडक मानव र पशुपक्षीको सहयोग गर्दै आएको संस्थाले लकडाउनका बेला आफ्नो नगरपालिकामा आएर भोकाएका मजदुरलाई खाना खुवाएकामा उपप्रमुख मधिकर्मीले आश्रमको प्रशंसा गरिन् । उनले पकाउने चुलो नभएकालाई चामल दिँदा बेचेर खाने अवस्था रहेको भन्दै खानादिनु नै उत्तम विकल्प हो भनिन् ।

चीनको वुहानमा गत डिसेम्बर ३१ मा शुरु भई विश्वव्यापी महामारीको रुप लिँदै गएको कोभिड–१९ को सङ्क्रमण विश्वका २१३ देशमा फैलिइसकेको छ । उक्त रोगबाट आजसम्म १८ लाख ५३ हजार १५५ नागरिक सङ्क्रमणमा परेका छन् । एक लाख १४ हजारले ज्यान गुमाइसकेका छन् । नेपालमा १२ जनामा यो सङ्क्रमण देखिए पनि फैलिएको भने छैन ।

यहाँ रोगको सङ्क्रमण नफैलिए पनि अप्रत्यक्षरुपमा देशभरका मानिस प्रभावित भएका छन् । कैयौँ भोकै बस्नुपर्ने बाध्यता छ । यस्तो अवस्था देखिएकाले सरकारी निर्णयअनुसार स्थानीय तहबाट राहत वितरण जारी छ । पकाएर खाने ठाउँ नहुँदा मजदुरलाई राहत आकाशको फल झैँ हुन्छ । राहत पाउनेमा पनि सम्पन्नको बाहुल्यता देखिने गरेको गुनासो गरिब मजदुरको छ । त्यसैले मजदुरलाई दैनिक खाना खुवाउनु नै प्रभावकारी ठानिएको छ ।

नेपालमा यसरी भोकै सडकमा पुगेकालाई विभिन्न संस्थाले राहत र खान खुवाउँदै आएको छ । यो क्रम उपत्यकामा पनि जारी छ । वितरण प्रभावकारी नहुँदा अझै कतिपय मजदुर भोकभोकै बस्नु परेको छ भने भोकभोकै पैदलै गाउँ फर्कन पनि कतिपय बाध्य छन् ।

भक्तपुरका विभिन्न ठाउँमा मानवसेवा आश्रम र नेपाल स्वयंसेवक सङ्घका प्रतिनिधि मिलेर अहिले भोकै रहेका मजदुरलाई खोजीखोजी खाना खुवाउन थालिएको हो । सङ्घका अध्यक्ष सन्तोष निरौलाका अनुसार सुरुका दिनमा सडकमा भएका कुकुरलाई खाना खुवाउन थालिएको थियो । सोही क्रममा सडकमा मजदुर भोकै बसेको फेला पर्‍यो । “दुई/तीन दिनदेखि खान नपाएको उनीहरुको दुखेसो सुन्यौँ, अब केही त गर्नै पर्‍यो भनेर आश्रममा खबर गर्‍यौँ, अनि सबैको सल्लाहमा अभियान थालेका हौँ”, निरौलाले अभियानको बारेमा जानकारी दिए । स्वयंसेवकले भोकाएका मजदुर कहाँकहाँ छन् भनेर खोजी गर्छन् । त्यसपछि मानवसेवा आश्रमले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर स्थानीय तहको समन्वयमा खान पकाएर वितरण गर्दै आएको छ । खानामा भात, दाल, तरकारी, सलाद दिने गरिएको छ ।

आश्रमले विगत सात वर्षदेखि मुलुकलाई नै असहाय सडक मानवमुक्त बनाउने अठोटका साथ सडकमा मागेरसमेत खान नसक्ने, वेसहारा, मनोरोगीको उद्धार गरी संरक्षणको अभियान चलाउँदै आएको छ । लकडाउनको अहिलेको समयमा आश्रमले दोहोरो अभिभारा ग्रहण गरेको छ । असहायको संरक्षणसँगै भक्तपुरका सडकमा भोको रहेका व्यक्तिलाई खाना खुवाउन थालेको छ । अन्य जिल्लामा आवश्यक सहयोग, समन्वय र सडक मानवको उद्धार गरिरहेको छ । आश्रममै खाना तयार हुन्छ र गाडीमा बोकेर जहाँजहाँ भोका मानिस छन्, त्यहीँ पुगेर खाना खुवाउने गरिएको छ । यतिबेला कोभिड– १९ को डरले गर्दा खाना खुवाउने क्रममा पनि सामाजिक दुरी कायम गरिन्छ । व्यक्तिगत सुरक्षा उपकरण प्रयोग गरेर आश्रमका अभियानकर्मीहरु खाना दिन जान्छन् । हिजोआज दैनिक करिब ३०० जनालाई बिहान बेलुकाको खाना खुवाइने गरिएको छ ।

आश्रमका अध्यक्ष रामजी अधिकारीले चैत २४ गतेदेखि नियमित खाना खुवाउने गरिएको बताए । उद्धार गर्ने अभियानसँगै विभिन्न परिस्थितिमा सकडमा रहेका मजदुरको अवस्था कमजोर देखिएकाले आश्रमको इच्छा कटौती गरेर खाना खुवाउन थालिएको अधिकारी बताउँछन् ।
सात प्रदेशका १४ जिल्लाका १९ शाखाबाट आश्रमले बेसहारालाई सेवा दिइरहेको छ । यसरी बेसहारा र सडकबाट उद्धार गरिएकामध्ये अहिले एक हजार १०० जना संरक्षणमा छन् भने ६०० बढीलाई परिवारमा मिलन गराइसकिएको जनाइएको छ ।

साभार : अनलाइनखबर अनलाइन