१९ मंसिर २०७८, आइतवार
(नेपाली समय)
१९ मंसिर २०७८, आइतवार
नेपाली समय

माओवादी सह्यौं, नाकाबन्दी सहृयौं, बन्दाबन्दीले बिजोग भयो !

२ बैशाख, पोखरा । बारीभरि फर्सी, गाजर, गोभीलगायतका तरकारी फलेका छन् । बारीमा केही किसानहरु देखिन्छन् । कोही तरकारी टिप्दैछन् भने कोही डोकोमा भरेर बजारसम्म पुर्‍याउने मेलोमेसोमा छन् ।

वैशाखको चर्को घाममा किसानहरु मेलापातमा व्यस्त छन् । यहाँका किसानलाई कोरोना संक्रमण रोक्न सरकारले गरेको लकडाउनले छोएको छैन । लडकडाउन हो भनेर घरभित्रै बस्ने छुट उनीहरुलाई छैन । किनभने भ्याइनभ्याई काम छ ।

पोखरा ५ पर्स्याङ महानगर मुख्य बजार क्षेत्रबाट नजिकै छ । यहाँ ३० भन्दा बढी किसानले व्यवसायिक तरकारी खेती गर्दै आएका छन् । पर्स्याङलाई तरकारी उत्पादनमा महानगरकै पकेट क्षेत्रका रुपमा लिने गरिन्छ । यहाँ उत्पादन भएको तरकारीले बजार मागको ठूलो हिस्सा ओगट्ने गर्दछ ।

‘गह्रामा फाल्न माया लाग्छ, बजारमा बिक्न छाड्यो’

कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण बजार पूर्ण रुपमा ठप्प छ । तरकारी खपत हुने सबै प्रकारका होटल तथा रेस्टुरेन्ट बन्द छन् । विभिन्न सिलसिलामा बजारमा बसेकाहरु आ-आफ्ना गाउँ फर्किसके ।

बिहान २ घन्टा तरकारी बजार त खुल्छ । तर, किन्ने मान्छे भेटिँदैनन् । लकडाउनले तरकारीको मागमा पनि उल्लेख्य कमी आएको किसानहरुको गुनासो छ । ‘सबै तरकारी तयार भइसकेका थिए । यसबेला बजारमा लगेर बेचौंला भनेको लकडाउन भयो,’ किसानको गुनासो छ, ‘गह्रामै फालेर हिँड्न पनि माया लाग्छ, बजारमै पुर्‍याउँदा पनि किन्ने मान्छे भएनन् ।’

वार्षिक ८० हजार रुपैयाँ भाडामा लिएर ६ रोपनी जग्गामा लक्ष्मी बन्तनाकोले परिवार तरकारी खेती गर्दै आएको छ । उनको बारीमा काउली र बन्दा ‘बेच्न’ तयार भइसकेको छ । तर, लकडाउनले गर्दा उपभोक्ता घटेपछि भने उनी चिन्तित छिन् ।

पोखरा-८ मा तरकारी मन्डी छ । महानगरले बिहान ४ बजेदेखि ६ बजेसम्म मन्डी खोल्ने व्यवस्था गरेको छ । त्यहाँ बन्तनाले आफ्नो बारीमा फलाएका तरकारी बिक्री गर्न एउटा सटर पनि भाडामा लिएकी छिन् । तर, ग्राहकको संख्या ह्वात्तै घटेकाले ‘पसल कुरेर बस्ने काममात्रै’ भएको उनको दुखेसो छ ।

‘बिहान ४ बजेदेखि ६ बजेसम्म मन्डी खुल्छ । अलिकति ढिलो गर्‍यो भने मन्डीमा भिड हुन्छ भनेर भित्र जान पाइँदैन,’ बन्तनाले सुनाइन्, ‘राति २ बजे नै उठेर जान्छौं । तर, किन्ने मान्छे भए पो बिक्री हुने हो !’ बिक्री नहुने थाहा भएपनि बारीमा उब्जेको फसल माया मार्न नसकेको उनी बताउँछिन् ।

‘माओवादीदेखि नाकाबन्दी बेहोर्‍यौं, तर कोरोनाले बिजोग बनायो !’

१७ वर्षदेखि त्यही ठाउँमा तरकारी खेति गर्दै आएको छ, राजन पौडेलको परिवारले । १७ वर्षमा उनले तत्कालीन जनयुद्धदेखि नाकाबन्दीको बेलासमेत तरकारी खेतीको अनुभव लिने अवसर पाए । तर, उनले ‘कोरोना लकडाउन’ले भने धेरै प्रभाव पारेको सुनाउँछन् ।

‘उसबेला मान्छेको डर भए पनि जसोतसो बजारसम्म पुर्‍याए त बिक्री भइहाल्थ्यो । मान्छेहरु जसरी पनि खोजेर खाइहाल्थे,’ गिरीले अनलाइनखबरसँग अनुभव सुनाए, ‘तर, अहिले कोरोनाको डरले धेरै बिजोग बनायो ।’ उनले पर्स्याङमा करिब १० रोपनी क्षेत्रफलमा व्यवसायिक तरकारी खेती गर्दै आएका छन् ।

पर्स्याङमा करिब ३० जना किसानले व्यावसायिक तरकारी खेति तथा पशुपालन गर्दै आएका छन् । उनीहरुले पसलसम्म तरकारी पुर्‍याउन सामूहिक गाडीको व्यवस्था गरेका छन् । प्रत्येक बिहान पर्स्याङबाट पृथ्वीचोकमा रहेको सब्जी मन्डीसम्म तरकारी पुर्‍याउन त्यहाँबाट ३ वटा गाडी जान्छ ।

‘कसैले डोकैमै बोकेर घरघरै बिक्री गर्न जान्छन् । तर, अहिले लकडाउनले बाटोमा धेरै हिँड्न दिँदैन,’ कृषक पौडेलले भने, ‘अहिले हामी आफैं मिलेर बजारसम्म गाडीमै तरकारी लगिरहेका छौं ।’ अघिल्लो वर्ष करिब ३ हजार किलो गाजर बिक्री गरेको बताउने उनले अहिले सुरुआतमै लकडाउन भएपछि सोचेजति बिक्री हुनेमा शंका व्यक्त गरे ।

अघिल्लो समयभन्दा लकाउनमा तरकारीको माग नभएकाले मूल्यमा पनि कमी आएको कृषक बताउँछन् । ‘होटल तथा रेस्टुरेन्ट खुल्या भए धेरै जान्थ्यो । होटल, रेस्टुरेन्ट नखुल्नेबित्तिकै बिक्री ठप्पै हुन्छ,’ पौडेल भन्छन्, ‘अहिले त व्यापार नै छैन भन्दा पनि हुन्छ ।’

‘कोरोनाले काममा कत्तिको असर पारेको छ ?’ अनलाइनखबरको यो प्रश्नमा प्राय सबै किसानको एउटै जवाफ थियो, ‘बरु सरकारले मन्डी नै बन्द गरिदिए पनि हुन्थ्यो, ढुक्क भएर त बस्थ्यौं । नत्र मन्डी खुलेपछि बिक्री हुन्छ कि भन्ने आश त हामीलाई पनि हुन्छ । अनि बाँच्ने मन पनि त छ…।’

तस्वीर : युनिश गुरुङ/अनलाइनखबर

साभार : अनलाइनखबर अनलाइन