७ कार्तिक २०७८, आइतवार
(नेपाली समय)
७ कार्तिक २०७८, आइतवार
नेपाली समय

मानिस किन आत्महत्या गर्छन् ?

महालक्ष्मी आचार्य

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष विश्वमा लगभग १० लाखभन्दा बढी मानिसले आत्महत्या गर्छन् । हरेक २० सेकेण्डमा एक जनाले आत्महत्या गर्छन् । नेपालमा पनि लकडाउन भएदेखि(११ चैत्रदेखि २० जेठसम्म) ११ सयभन्दा बढी मानिसले आत्महत्या गरिसकेको तथ्याङ्क केन्द्रीय प्रहरी विभागले सार्वजनिक गरेको छ । के कारणले आफ्नो जीवन आफैँले समाप्त गर्न आँट गर्छ त मानिस ? यो बुझ्न र महसुस गर्न सक्ने क्षमता सबैमा हुँदैन किनकि त्यो दुः ख पीडा र डिप्रेशनको निराशाजनक अवस्थालाई बाहिरबाट हेर्नेले अनुभव गरेकै हुँदैनन् । 

जसले आत्महत्याको कोसिस गर्छ वा आत्महत्या गर्छ, उसले मनको अन्तर्यमा असीम पीडाको अनुभूत गर्छ। उक्त पीडाबाट निस्कने कुनै विकल्प देख्दैन । 
व्यक्तिपिच्छे यसको कारण अलग अलग हुन्छ । किनकि हरेक व्यक्तिको आ—आफ्नो छुट्टै स्वभाव निर्माण भएको छ । त्यही अनुसार हरेक चीजवस्तुलाई हेर्ने र ग्रहण गर्ने आफ्नै मूल्य र मान्यता छ । त्यही कारणले प्रत्येक व्यक्तिलाई खुसी बनाउने र दुःखी बनाउने चीज, वस्तु वा परिस्थिति अलग अलग नै हुन्छन् । 

आत्महत्या मानिसले परिस्थितिजन्य र मानसिक वा भावनात्मक कारणले गर्ने गर्छन् । परिस्थितिजन्य कारणमा सम्बन्ध विच्छेद, पारिवारिक समस्या, शारीरिक समस्या (कुनै जटिल रोग), लागु औषध दुर्व्यसन, भयङ्कर दुःख या क्षति (प्रियजनको मृत्यु, साथी, पारिवारिक सदस्य वा सामाजिक व्यक्तित्व (जसलाई आफूले विशेष ठानेको हुन्छ) उसको आत्महत्याको खबर, रिसको आवेग, जिज्ञासाको कारण (बालबालिकामा हुन सक्ने), स्कुल वा कार्यक्षेत्रमा समस्या, बेरोजगारी, आर्थिक तथा कानुनी समस्या, समाधान नदेखिने समस्या आदि पर्दछन् ।

मानसिक वा भावनात्मक कारणमा निराशाबादी चिन्तन, समस्यामा जेलिएको महसुस गर्नु, जीवनप्रतिको अवमूल्यन, बाँच्नुको औचित्य नदेख्नु,, जीवनमा कुनै उद्देश्य नहुनु, मानसिक समस्या (डिप्रेशन, बाइपोलार डिसअर्डर, सिजोफ्रेनिया), बढी खाने वा नखाने समस्या (इटिङ डिसअर्डर) आदि पर्छन् ।

आत्महत्या गर्ने विचार गरेका मनिले विभिन्न लक्षण देखाउँछन् । उनीहरु आत्महत्या सम्बन्धमा कुरा गर्ने, त्यसको बारेमा लेख्ने गर्छन् । अरुलाई त्यस्ता मानिसको कुरा हल्का खालको वा मजाक जस्तो लाग्न पनि सक्छ । उनीहरु आत्महत्या गर्नको लागि प्रयोग गरिने साधन (डोरी, चक्कु, विषादि औषधी आदि) तिर बढी आकर्षित हुन्छन् । कुन चीजद्वारा सजिलै मर्न सकिन्छ भन्ने कुराको योजना बनाइरहेका हुन्छन्।

साथीभाइ, आफन्तसँग बिदा मागिरहेको हुन्छन् । परिवारको लागि आफू गएपछि पर्न सक्ने अप्ठ्यारोको लागि पनि सकेसम्म व्यवस्था मिलाउन खोजिरहेको हुन्छन् । आफ्ना सामान अरुलाई बाँड्न थाल्छन् । दुःखी, निराश देखिन्छन् । आफ्नो बारेमा लापरवाही हुँदै जान्छन् । पहिले खुसीले गर्ने कामप्रति रुचि कम हुँदै जान्छ । धुम्रपान, मद्यपान गर्ने गरेको छ भने अझै बढी प्रयोग गर्न थाल्छन् । अरुबाट अलग्गिने, एक्लै बस्न रुचाउने हुन थाल्छन् । आफूप्रति घृणाको भाव देखाउन थाल्छन् र पछिल्लो अवस्थामा अचानक खुसी र शान्त देखिन थाल्छन् । माथिका लक्षणहरु भएका मानिस एक्कासी खुसी देखियो भने त्यो व्यक्तिले मर्नको लागि पूरै योजना बनाइसक्यो र अब उसले आफ्नो जीवन समाप्त गर्दैछ भनेर बुझ्दा हुन्छ । 

आत्महत्या गर्ने कुनै विशेष उमेर हुँदैन । यो जुनसुकै उमेरका मानिसले पनि गर्छन् । तर पनि विशेषगरि १५  देखि ३५ वर्षसम्मका व्यक्तिले बढी गर्ने गरेको अध्ययनले देखाउँछ । यो उमेर भनेको सिर्जनशील उमेर हो ।  

कुनै पनि मानिस समस्यासँग जुझ्न सकुनजेल मर्ने इच्छा गर्दैन । अन्तिम अवस्थामा मात्र मानिस आफैँलाई मार्न तयार हुन्छ । चाहे जुनसुकै कारणले आत्महत्या गरुन् यसलाई रोक्नु अति नै आवश्यक छ । 
 
आत्महत्या रोकथामको लागि सबभन्दा महत्वपूर्ण र पहिलो काम भनेको आत्महत्या गर्ने व्यक्तिले देखाउने लक्षणको बारेमा स्पष्ट हुनु हो । कुनै पनि व्यक्तिले एक्कासी आत्महत्याको प्रयास गर्दैन । विभिन्न रिसर्च अनुसार आत्महत्या गर्ने व्यक्तिमध्ये ८०—९० प्रतिशतले कुनै न कुनै लक्षण देखाएको हुन्छ । बाँकी केहीले रिसको आवेगमा आएर वा बालबालिकाको हकमा जिज्ञासाको कारणले पनि आत्महत्या भएको पाइएको छ । त्यसैले परिवारको सदस्य वा साथीभाइमा यस्ता लक्षण देखिन थालेमा उक्त व्यक्तिलाई सहयोगको आवश्यकता छ भन्ने बुझ्नुपर्छ ।
 
साथीभाइ तथा परिवारका कुनै पनि सदस्यमा यदि यस्ता किसिमका कुनै लक्षण देखिन थालेमा उक्त व्यक्तिसँग उसको समस्याको बारेमा सोधपुछ गर्नुपर्छ । सोधपुछ गर्ने व्यक्तिलाई समस्या भएको व्यक्तिले विश्वास गर्ने हुनुपर्छ । विश्वासिलो व्यक्तिलाई मात्र मनको कुरा पोख्न सक्छन् । त्यसैले उसका समस्याका बारेमा राम्ररी धैर्यताका साथ सोधपुछ गर्नुपर्छ । जस्तै—आत्महत्याको विचार कहिलेदेखि आउन थाल्यो ? दिनमा यस्तो विचार कतिपटक आउँछ वा कहिले कहिले आउँछ ?

समस्याग्रस्त व्यक्ति जब कुनै व्यक्तिप्रति विश्वस्त हुन्छ, त्यसपछि उसले आफ्ना समस्या व्यक्त गर्न सक्छ । उसले भनेका सबै कुरा बिना पूर्वाग्रह (ननजजमेन्टल भएर) सुनिदिनुपर्छ । ऊप्रति सहानुभूति प्रकट गर्नुपर्छ । उसका हरेक कुराप्रति सहमति जनाउनुपर्छ । सुन्ने व्यक्तिलाई उसको कुरा सामान्य लाग्न सक्छ तर त्यही कुरा उसको लागि भयङ्कर पीडादायी भएको हुन सक्छ । यस्तो अवस्थामा उसलाई सल्लाह, सुझाव दिने, तर्क वितर्क गर्ने, नैतिकताको शिक्षा दिने, धर्म संस्कारका कुरा सिकाउने, जीवनदर्शनका कुरा सुनाउने, पारिवारिक माया मोहका कुरा गरेर मोड्न खोज्नु मूर्खतापूर्ण कार्य हो । यसले झन उत्साही बनाउँछ आत्महत्या गर्न । त्यसैले उसका प्रत्येक कुरा ध्यानपूर्वक सुनिदिने र उसको पीडा आफूले पनि महसुस गरेको विश्वास दिलाउन सक्नुपर्छ । 
 
वास्तवमा मान्छे यसै मर्न चाहँदैन । उसले महसुस गरेको असह्य पीडा र समस्याबाट मुक्त हुने अन्तिम विकल्पको रुपमा रोजेको एउटा बाटो हो आत्महत्या । यो अवस्थामा पुगेको व्यक्तिलाई उसको पीडा सुनिदिएर केही मानसिक राहत दिँदै छिटोभन्दा छिटो मानसिक स्वास्थ्य विशेषज्ञको सहयोग दिलाउनु आवश्यक हुन्छ । उनीहरुको सल्लाह बमोजिम उपचार गराउनुपर्छ । फलोअपमा लैजानुपर्छ । यसबाहेक पनि उसलाई खानपानमा हेरचाह गर्ने, शारीरिक क्रियाकलापतिर विस्तार विस्तार अग्रसर गराउने, एक्लै हुन नदिने जस्ता कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । 
 
आत्महत्याको सबभन्दा ठूलो कारक तत्व भनेको डिप्रेशन हो । हालसम्मको रिसर्च अनुसार आत्महत्या गर्ने व्यक्तिमध्ये ८० प्रतिशत डिप्रेशनको सिकार भएको पाइएको छ । डिप्रेशनको औषधी खाइरहेको बेलामा आत्महत्याको विचार घट्नुको सट्टा झन बढ्न सक्छ । त्यसैले पहिलो पटक डिप्रेशनको औषधी खाइरहेका छन् वा मात्रा परिवर्तन गरिएको छ भने उक्त व्यक्तिलाई विशेष ध्यान पुर्‍याउनु पर्ने हुन्छ । किनकि औषधीले पनि आत्महत्याको विचार आउन सक्छ । सुरुका २ महिना आत्महत्याको खतरा बढी हुने संभावना हुन्छ । औषधी खाइरहेको छ अब केही हुन्न भनेर ढुक्क हुनु हुँदैन । 

 यस्ता समस्या देखिएका मानिसहरुलाई परामर्श वा उपचारको आवश्यकता पर्न सक्छ । त्यस्तो समयमा नेपालमा महाराजगन्ज टिचिङ अस्पतालको साइकोलोजी डिपार्टमेन्ट र मानसिक स्वास्थ्य अस्पताल, पाटनमा अथवा आफ्नो पहिचानमा भएका मेन्टल हेल्थ प्रोफेशनलहरुसँग सम्पर्क गर्नु पर्छ ।

आत्महत्या आफैँमा एउटा जटिल समस्या भए पनि यसलाई न्युनीकरण गर्न सकिन्छ । त्यसको लागि एक व्यक्ति वा संस्था पर्याप्त हुँदैन । देशका सम्पूर्ण अंगहरु जस्तै सरकारको माथिल्लो तहमा रहेर नीति निर्माण गर्नेदेखि लिएर त्यसलाई कार्यन्वयन गर्ने स्थानीय सरकार लगायत स्वास्थ्य, शिक्षा, संचार, कानुन सबै क्षेत्रबाट उचित समन्वय र सहकार्य हुनु आवश्यक छ । तब मात्र हामीले आशातित सफलता हासिल गर्न सक्छौँ । 

लेखक मनोसामाजिक परामर्शदाता हुन्।

साभार: अन्नपूर्णपोष्ट अनलाइन