काठमाडौं : हास्य कलाकार मनोज गजुरेल समय सान्दर्भिक व्यंग्य गर्न खप्पिस छन्। अहिले देश कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न लकडाउनको अवस्थामा छ। लकडाउनको समयमा घरमै बसिरहेका उनै हास्यव्यंग्यकार मनोज गजुरेलले आफ्नो फेसबुकमा एउटा कविता प्रस्तुत गरेका छन्।
सरकार, अहिलेको अवस्था, महामारीबाट बच्न अपनाउनुपर्ने सचेतनालगायत पछिल्लो समय औषधि खरिदमा भएको अनियमितता विषय समेटेर उनले लगडाउनको समय सदुपयोग गरेका छन्।उनले कविता भन्छ।
मेरो एउटा सपना छ। मेरो सरकार सरकार जस्तै होस्, कसैको प्राइभेट लिमिटेड जस्तो नहोस्।
मेरो कर्मचारी कर्मचारी जस्तै होस्। लिमिटेडको हेड जस्तो नहोस्। मेरो मन्त्री मन्त्रीजस्तै होस् कम्पनीको मालिक जस्तो नहोस्।
मेरो प्रधानमन्त्री प्रधानमन्त्री जस्तै होस् तर दोबाटोको सालिक जस्तो नहोस्। मेरो सरकार सरकार जस्तै होस् भारदार जस्तो नहोस् विपद्को साथी जस्तो होस्, युद्धको सरदार जस्तो नहोस्।
कोरोनाको कहरमा पनि कमिसनको रहर गर्नेको जिब्रो थुतोस्, भाइरसको भयमा पनि आफ्नै मात्रको जय गाउनेको जगल्टा लुछोस्।
दसौं गुणा मूल्यमा सामान भित्र्याउन खोज्नेको असल्ली अनुहार उदांगो पारोस्। अत्यावश्यक वस्तुमा पनि कमिसन खोज्नेको अनुहार जनसामुन्ने नांगो पारोस्।
मेरो सरकार जस्तो होस् पन्चर भएको कार जस्तो नहोस्। मन्दिर, मस्जिद, गुरुद्वार र चर्च जस्तो होस् रेस्टुरेन्ट र बार जस्तो नहोस्।
मन्त्रीको बोली शिष्ट होस् साँढे टुक्रे झैं नढुक्रोस्, सल्लाहाकारको वचन सभ्य होस् हनुमान उफ्रे झैं नउफ्रोस् दलालसँग सम्बन्ध तोडोस् इमानदारसँग नाता जोडोस्।
चन्दा दाताको साथ छोडोस् मतदातासित मन मोडोस् मेरो सरकार सरकार जस्तै होस्। देशका लागि भारजस्तो नहोस्। चौतारीको वरपीपल जस्तै होस् वनमारा झारजस्तो नहोस्।
छोरालाई ठेक्का नदेओस् सालालाई किचन क्याबिनेटमा नहुलोस्। पत्नीलाई पीए नराखोस्, साली च्यापेर उद्धार भन्दै नडुलोस्। सरकारमा कार्यकर्ता मात्रै नभरोस्, विषय विज्ञको टोली बनोस्, महामारीलाई कमाउ उत्सव होइन कर्मोत्सवको बोली बनोस्।
मेरो सरकार, सरकारजस्तो होस्, कबवल सलामी खाने खञ्चुवाको गिँढजस्तो नबनोस्, आपत्को साथीजस्तो बनोस् सरकार केवल मलामी जाने भतुवाको भीडजस्तो नबोनोस्।
साभार : अन्नपूर्ण पोष्ट अनलाइन