१९ मंसिर २०८०, मंगलवार
(नेपाली समय)
१९ मंसिर २०८०, मंगलवार
नेपाली समय

मेसीको जर्सीमा स्टर्लिङको आँखा

लन्डन : इङ्ल्यान्डको राष्ट्रिय फुटबल टोलीका प्रभावशाली खेलाडी हुन्, रहिम स्टर्लिङ। उनी इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट व्यावसायिक फुटबल खेल्छन्। २५ वर्षीय आक्रामक मिडफिल्डर स्टर्लिङले म्यानचेस्टर सिटीमा आबद्ध हुनुअघि करिब तीन वर्ष लिभरपुलमा पनि बिताएका थिए।

स्टर्लिङले विभिन्न क्लबबाट महत्वपूर्ण उपाधि पनि जितेका छन्। आफ्नो सक्रिय खेल जीवनमा उनले एक सयको हाराहारीमा गोल पनि गरेका छन्। कतिपय अवस्थामा उनकै गोल टोलीमो सफलतामा निर्णायक पनि बनेको छ। इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट ५६ खेल खेलिसकेका यी प्रभावशाली खेलाडीको सपना भने गजबको छ।

स्टलिङ भन्छन्, ‘मलाई अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीको जर्सीसँग मोह छ। जबसम्म मेसीको जर्सी मेरो हातमा पर्दैन तबसम्म म सन्तुष्ट रहन सक्दिनँ।’ खासमा उनी विश्व फुटबलसँग सम्बन्धित वस्तुहरू संकलन गर्न रुचाउँछन्। चर्चित खेलाडीहरूको जर्सी संकलन पनि उनको सोख हो।

‘यतिबेला मैले हृदयदेखि चाहेको एकमात्र कुरा भनेको मेसीको जर्सी नै हो’, स्टर्लिङ भन्छन्, ‘मैले आफ्नो जीवनमा सबैभन्दा पहिले मागेको जर्सी नेमारको हो। बार्सिलोनासँगको खेलपछि मैले नेमारसँग उनको जर्सी मागेको थिएँ। अब मेरो चाहना मेसीको जर्सी हात पार्नु हो।’

सक्रिय खेल जीवनबाट सन्न्यास लिनुअघि चर्चित खेलाडीहरूको जर्सी संकलन गर्नु आफ्नो सोख भएको स्टर्लिङ बताउँछन्। ‘खेल जीवनबाट सन्न्यास लिएपछि म घरमा आराम गरेर बस्नेछु। त्यतिबेला आफूले जितेका मेडल र ट्रफीसँगै चर्चित खेलाडीहरूको जर्सी मेरो दिन बताउने गतिलो आधार बन्नेछन्’, स्टर्लिङ भन्छन्।

स्टर्लिङका अनुसार, मेसीको जर्सी उनको सूचीमा पहिलो नम्बरमा रहेको छ। ‘म युवा अवस्थामा हुँदा मलाई प्रभाव पार्ने र प्रोत्साहन दिने बार्सिलोनाका दोस्रो खेलाडी मेसी नै हुन्’, उनले भनेका छन्। त्यसो भए पहिलो खेलाडी को हो त ? स्टर्लिङ भन्छन्, ‘पहिलो खेलाडी हुन्, आफ्नो समयका चर्चित ब्राजिलियन स्टार रोनाल्डिन्हो।’

स्टर्लिङले आफ्नो खेल जीवनमा पहिले रोनाल्डिन्हो र त्यसपछि मेसीको महत्वपूर्ण योगदान रहेको बताए। ‘जब युवा अवस्थामा म घण्टौं फुटबलको अभ्यास गर्थें त्यतिबेला रोनाल्डिन्हो र मेसीको शैलीले नै मलाई पछ्याइरहेको हुन्थ्यो’, सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनेका छन्।

उनले मेसीको भलादमीपनबाट पनि आफू निकै प्रभावित भएको बताएका छन्। ‘उनी (मेसी) नयाँ र पुरानो पुस्तालाई जोड्ने पुल पनि हुन्। खासगरी उनको भद्रताले सबैलाई प्रभावित पार्छ र म पनि त्यसबाट अछुतो रहन सक्दिनँ’, उनले भनेका छन्, ‘मलाई विश्वास छ कुनै दिन उनको जर्सी मेरो हातमा हुनेछ।’

साभार : अन्नपूर्ण पोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds