९ चैत २०८०, शुक्रवार
(नेपाली समय)
९ चैत २०८०, शुक्रवार
नेपाली समय

मौरीको रानी वितरण प्रभावकारी भएन

–नारायण ढुंगाना 
रत्ननगर, चितवन, ४ असार (रासस) ः यसपाली चितवनमा किसानका लागि मौरीको रानी वितरण कार्य प्रभावकारी हुन नसक्दा किसान चिन्तित भएका छन् । 

सरकारी कार्यक्रम अनुसार ९४ जना किसानका लागि चार हजार ५०० मौरीको रानी वितरण गर्ने योजना थियो । 

मौरीपालन विकास केन्द्र भण्डारा तोकिएको म्यादभित्र करीव ६० प्रतिशत मात्रै मौरीको रानी वितरण गर्न सफल भएको छ । समयमै वितरण नभएपछि अहिले रानी वितरणका लागि म्याद थप भएको मौरीपालन तथा अनुसन्धान केन्द्र भण्डाराका प्रमुख शिव रिजाल बताउनुहुन्छ । 

निर्धारित मिति चैत मसान्तसम्ममा ४ हजार ५०० घार वितरण गरिसक्नुपर्ने थियो । तर आधा पनि रानो वितरण गर्न नसकेपछि पुनः कार्यालयले असार १५ गतेसम्मका लागि म्याद थप गरेको रिजालले बताउनुभयो । 

यसपाली मौसममा आएको उतारचढावका कारण समस्या परेको उहाँको दावी छ । रानी बन्नलाई कुमारी रानी बाहिर समागम गरेर आउनुपर्नेमा मौसम समस्याले त्यतै हराउने गरेकाले समस्या भएको रिजालको भनाई छ । 

अघिल्लो वर्ष बाढीका कारण मौरीका घार बगाउँदा सरकारी तवरबाट मात्रै उत्पादन हुन नसक्ने देखेपछि यसपाली निजी क्षेत्रलाई रानी उत्पादनको जिम्मा दिइएको थियो । निजी कम्पनीले जिम्मेवारी अनुसार रानी उत्पादन गरेर दिन सकेको छैन । 

उत्पादनको जिम्मा पाएको संचस मौरीपालन केन्द्र चितवनका सञ्चालक शंकर भट्टले आफूले जिम्मेवारी पाए अनुसारको रानी वितरण गर्न नसकेको स्वीकार गर्नुभयो । 

उहाँले एक हजार रानी उत्पादन गर्ने जिम्मा लिएपनि अहिलेसम्म १०० रानी उत्पादन गरेको र अब करीव १०० रानी उत्पादन गर्ने योजना रहेको जानकारी दिनुभयो । आफू विरामी परेको र साथीले समेत धोका दिएकाले समस्या परेको उहाँको भनाइ छ । तर गुणस्तरमा भने ध्यान दिएको दावी भट्टको छ । 

उहाँका अनुसार जिल्लामा रानी उत्पादनका लागि नेपाल बी कन्सर्न भरतपुर, रावल बी फार्म नवलपरासी र संचस मौरीपालन फार्म चितवनले जिम्मा लिएको थियो । 

नेपाल बी कन्सर्नले २ हजार र अन्य २ फार्मले एक÷एक हजार रानी उत्पादन गर्ने जिम्मा लिएका थिए । केन्द्रको ५०० रानी उत्पादन गर्ने लक्ष्य थियो । उनीहरुलाई प्रति रानी उत्पादन गरेबापत ४२५ रुपैयाँ दिने सम्झौतामा उल्लेख छ । एक हजार रानी उत्पादन गरेबापत अनुगमन खर्चसहित रु ५ लाखको बजेट निकासा भइआएको थियो । 

किसानको व्यावसायिकता र घार हेरेर उनीहरुलाई रानी वितरण गर्ने गरिन्छ । एउटा रानी वितरण हुनु भनेको एउटा घार वितरण गरे सरह हुन्छ । एउटा रानी तयार हुन ३०÷३५ दिन लाग्छ । बाहिर उडानमा गएको रानी फर्केनन् भने रानी त्यसै हराएर जाने हुन्छ । 

अहिले यही समस्या भएको मौरीविज्ञ समेत रहनुभएका केन्द्रका रिजाल दावी गर्नुहुन्छ । उहाँका अनुसार जिम्मा लिएका कम्पनीहरुले रानी उपलब्ध नगराउँदा लक्ष्य भेट्न नसकिएको हो । थपिएको म्यादसम्ममा पनि शतप्रतिशत वितरण हुने सम्भावना नरहेको उहाँको भनाइ छ । 

कार्यालयले उचित व्यवस्थापन गर्न नसक्दा रानी वितरण प्रभावकारी हुन नसकेको नेपाल मौरीपालक महासंघ चितवनका अध्यक्ष रोशन पण्डित बताउनुहुन्छ । किसानहरुका लागि महत्वपूर्ण हुने रानी समयमै दिन नसक्नु दुर्भाग्यको कुरा भएको पण्डितको भनाइ छ । 

नेपालमा पाँच हजार बढी मौरीपालक किसान छन् र करीव दुई हजार ४०० मेट्रिक टन मह उत्पादन हुन्छ । चितवनमा करीव ८०० मेट्रिक टन मह उत्पादन हुने नेपाल मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष शिव पौडेलको भनाइ छ । 

चितवनमा २०५१ सालदेखि मौरीपालन शुरु भएको हो । अहिले ३५० भन्दा बढी किसान मौरीपालनमा रहेको बताइन्छ । 

विशेष गरी मेलिफेरा मौरी व्यावसायिक रुपमा पालिन्छ । सेरेना मौरीले कम मह दिने भएकाले कमैले पाल्ने गरेको जिल्ला कृषि विकास कार्यालय चितवनको भनाइ छ । नेपालमा मेलिफेरा ५० हजार र सेरेना मौरी एक लाख भन्दा बढी गोला रहेको अनुमान छ । 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds