१९ मंसिर २०८०, मंगलवार
(नेपाली समय)
१९ मंसिर २०८०, मंगलवार
नेपाली समय

मौसम अपडेट : अझै ३ दिन देशभर वर्षाको संभावना

काठमाडौं : पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले  शुक्रबार देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । काठमाडौं उपत्यकामा आज बिहानदेखि सिमसिम पानी परिरहेको छ । 

मौसम पूर्वानुमान महाशाखाले निकालेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा विगत केही दिनयतादेखि नेपालमा कायम पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अझै सक्रिय अवस्थामै रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ । देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
 
हाल देशको अधिकांश भूभागमा बदली रहनुका साथै केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा भएको छ । दिउँसो पश्चिमी भूभागमा पूर्ण बदली तथा पूर्वी भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । रातको समयमा पश्चिमी पहाडी भूभाग तथा मध्य र पुर्वी भूभागमा सामान्य बदली भई मध्य र पूर्वी भूभागको धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
 
भोलि देशको पश्चिमी भूभाग तथा मध्य र पूर्वी भूभागमा सामान्य बदली रही देशको पहाडी भूभागका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको औँल्याएको छ । आइतबार देशको धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २६ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम आठ दशमलव पाँच डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३३ दशमलव छ डिग्री सेल्सियस रहेको छ ।

रासस

साभार : अन्नपूर्ण पोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds