काठमाडौं : ‘पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानहरुमै टोली खटाएर मतदाता शिक्षा दिने गर्थ्यो? यसपटक त्यस्तो टोली आउँदैन?’ आयोगको कान्तिपथस्थित कार्यालयमा सञ्चालित पैसा नलाग्ने कल सेन्टर-११०२ मा अहिले दैनिक यस प्रकारका धेरै जिज्ञाशा आउने गरेका छन्।
यसपटक आयोगले कम खर्च र स्मार्टरुपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेका कारण स्थानीय तहमा यसका लागि घरदैलोमा टोली पठाएको छैन। त्यसरी टोली नजाँदा बदर मत बढ्ने त होइन? भन्ने प्रश्न पनि उत्पन्न भएका बेला निर्वाचन आयोगले श्रव्यदृष्य सामग्री र विभिन्न सन्देश तयार गरेर आयोगको आफ्नै फेसबुक, युट्युब, ट्वीटर, भाइबरमा नियमित प्रसारण गरिरहेको छ। आयोगले विशिष्ट व्यक्ति, लोकप्रिय कलाकार र व्यक्तित्वहरुलाई समेटेर निर्वाचनको महत्व, आचारसंहिताका व्यवस्थाका विषयका आधारमा सन्देश तयार गरेको छ।
जोगीले फेरि लगाउने शैलीमा मनोज गजुरेल, पुराणवाचक दिनबन्धु पोखरेलको पुराण वाचनको क्यारिकेचरमा कलाकार सुवोध गौतमले मतदातालाई स्थानीय तह निर्वाचनबारे सरलरुपमा बुझाउने सन्देश पस्केका छन्। त्यस्तै वरिष्ठ कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कलाकारहरु सीताराम कट्टेल र कुञ्जना घिमिरे, (धुर्मुस-सुन्तली), केदार घिमिरे (माग्ने बुढा), दीपकराज गिरी, दिपाश्री निरौलालगायत, दमन रुपाखेतीका प्रस्तुतिका साथै गायकहरु पशुपति शर्मा र मनमाया वाइवाको लोकदोहोरी पनि मततदाता शिक्षा सन्देशका रुपमा प्रयोग गरिएको छ।
निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले ती सन्देशलाई १६ राष्ट्रिय दैनिक र २८ टेलिभिजन (रेडियो नेपाल, नेपाल टेलिभिजनसहित)बाट पनि प्रसारण भइरहेको छ। निर्वाचन तथा मतदाता शिक्षा नीति, २०७८ र निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ स्वीकृत गरी कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिइन्।
उनले आयोगले ब्रोसर, लिफ्टलेट, पर्चा, पम्प्लेट, नमूना मतपत्र, पोष्टरलगायतका सामग्री छपाई गरेर वितरण पनि गरिसकेको र कसरी मतदात गर्न सकिन्छ भन्ने सही तरिकाबारे बुँदागत सर्कुलर पनि गरिसकेको बताइन्। ‘हामी कागजी प्रकारको शिक्षाभन्दा यसपटक भर्चुअल माध्यमको शिक्षामा केन्द्रीत भएका छौं। यसमा दल, उम्मेदवार र नागरिक समाजको पनि सक्रिय भूमिका हुन आवश्यक छ।’
आयोगमा मतदाता शिक्षासमेत हेर्ने आयुक्त डा. तुलाधरले भनिन्, ‘कुनै पनि मतदाता सचेतनतापूर्वक मतदान गर्न पाउने अधिकारबाट वञ्चित नहोस् भन्ने आयोगको मनसाय रहेको छ। हरेक रुचिका मतदातालाई सम्बोधन गर्नेगरी विविध सामग्री तयार गरेर प्रवाह गरेका छौं।’
‘आयोगले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६७६ निर्वाचन अधिकृतको कार्यालय, सात प्रदेशका प्रदेश निर्वाचन कार्यालय, ७० जिल्ला जिल्ला निर्वाचन कार्यालयलाई पत्राचार गरी सो निर्देशन दिएको छ। निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रमअन्तर्गत निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका तथा स्थानीय तह निर्वाचन निर्देशिकामा मतदानस्थलमा मतदाता सूचना कक्षको माध्यमबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने व्यवस्था भएकोमा मतदानको दिन (वैशाख ३० गते) उक्त कार्यक्रम नगरी मतदानको अघिल्ला दुई दिन (वैशाख २८ र २९ गते) मतदान स्थलहरुमा सम्बन्धित मतदान अधिकृतहरुको नेतृत्वमा खटिने मतदान टोलीबाट आयोगले उपलब्ध गराएका मतदाता परिचयपत्रको वितरण गर्ने र आयोगले उपलब्ध गराएका नमूना मतपत्र लगायतका पोष्टर, ब्रोसर आदि छपाई सामग्रीको माध्यम मतदान गर्ने सही तरिका बुझाउन आग्रह गरिएको छ।
साभार : अन्नपुर्णपोष्ट अनलाइन