१९ मंसिर २०७८, आइतवार
(नेपाली समय)
१९ मंसिर २०७८, आइतवार
नेपाली समय

यिनीहरू कम्युनिस्ट नै होइनन् : कवि विमल निभा

२२ बैशाख, काठमाडौं । पाँच दशकदेखि कविता लेखनमा सक्रिय विमल निभा नेपाली साहित्यमा प्रसिद्ध नाम हो । राजनीति र बडप्पनमाथि कविताले तीक्ष्ण व्यंग्य गर्ने उनका तीन कवितासंग्रह र दुई व्यंग्य संग्रह प्रकाशित छन् ।

पाठक र साहित्यकारमाझ ‘थोरै लेख्ने, धेरै चर्चामा रहने’ कविको परिचय बनाएका छन् विमल अनौपचारिक कुराकानीमा पनि व्यंग्यको सटिक प्रयोग गर्छन् । उनी राजनीतिक मुद्दामा कविता लेख्ने आजका अग्रणी नेपाली कवि मानिन्छन् ।

कवि निभासँग लकडाउन, समसामयिक सवाल र राज्यको चरित्रमाथि केन्द्रित रहेर अनलाइनखबरका लागि निर्भीकजंग रायमाझीले गरेको कुराकानी ।

आफ्नो जीवनकालमा भोगेका महामारी, आन्दोलन र कफ्र्युमा हुने राज्यको उपस्थिति र लकडाउनमा सरकारको उपस्थितिबीच कस्तो सम्बन्ध पाउनुभएको छ ?

लकडाउनमा राज्यले जनतालाई घरभित्र रोगको डर देखाएर थुनेको छ र आफू मनलाग्दी राजनीति गरिरहेको छ । कडीकडाउका साथ लकडाउन अनि त्यसमाथि आइपरेको स्वास्थ्य संकटले जनतामा सन्त्रास बढिरहेको छ । लकडाउन हाम्रै लागि हो । तर, यो त वैज्ञानिक तवरले गरिनुपर्छ नि !

जहाँ अभाव र भोक छ त्यहाँ राज्यसंयन्त्र केन्द्रित हुनुपर्ने । तर, सडकमा रहेका मजदुर र श्रमजीवि नागरिकको दुर्दशामा सरकारको नजर परेन । जसरी पञ्चायत कालमा राज्य भन्नेबित्तिकै नागरिक त्रसित हुन्थे, आज लोकतन्त्रमा पनि उस्तै अवस्था आउन लागिसक्यो । साँच्चै भन्ने हो भने अहिले राज्यको उपस्थिति नै छैन । टेलिभिजन ‘सम्बोधन’ गर्दैमा राज्यको दायित्व पूरा हुँदैन ।

योभन्दा पहिलाको बन्दाबन्दीको अनुभव केही छ ?

अहिलेको लकडाउन निकै लामो समय भयो । पहिला एकसाता वा आधा महिनासम्मसम्म कफ्र्यु हुन्थ्यो । बजार खुलेपनि सार्वजनिक भेला, जमघट गर्न निषेध हुन्थ्यो । पञ्चायतकालमै भारतले गरेको नाकाबन्दीको समय पनि भोगें । दुईवटा जनआन्दोलन र विद्यार्थी आन्दोलनमा सहभागी हुँदा बन्दको अनुभव भयो । त्यतिबेला पनि सामाजिक संवाद गर्न निकै गाह्रो हुन्थ्यो । यद्यपि, अहिलेको लकडाउन आफ्नो स्वास्थ्य र अरुको स्वास्थ्यको लागि गरिएको सकारात्मक बन्द हो ।

आजको परिस्थिति देख्दा एउटा कवि मनले के सोच्छ ?

मनपरी देख्दा मलाई आक्रोश बढ्छ । यति ठूलो संकटमा कसैले मजाक गर्छ भने ऊबाट अरु अपेक्षा नै के गर्न सकिन्छ ! मलाई के लाग्छ भने, दायित्वसहितको लकडाउन हुनुपर्ने तर दायित्वहीन लकडाउन भयो । जनतासँग सन्तृप्त भएर राज्यले बन्दाबन्दी सुरु गरेको भए हुने तर एकमहिना बित्दा पनि राज्य नागरिकसँग असन्तृप्त छ । लकडाउनलाई त उल्टै ‘राजनीतिक सुरक्षाकवच’ बनाएर मानिसको जीवनलाई बेवास्ता गरिँदैछ ।

यस्तोबेला ‘यो ठीक भएन, जीउधनको रक्षा गर’ भनेर सम्झायो भने राज्यले उल्टै विद्रोही ठान्छ ।

तपाईंले विगतमा कम्युनिष्ट पार्टीलाई समर्थन गर्नुभयो, आज त्यही पार्टीको स्याथी सरकार हुँदा तपाईंको समर्थन र समय खेर गएजस्तो लाग्दैन ?

मैले भन्दै आएको छु, यिनीहरू कम्युनिस्ट नै होइनन् । आजको नेकपा र सत्तामा भएका कसैले पनि कम्युनिस्ट हुने पहिलो शर्त पनि पालन गरेका छैनन् । जनतासँग हुनुपर्ने मानिस जनताबाट भागेका छन् । अधिकांश कम्युनिस्ट गुटगत झगडा र सत्ताको लुछाचुँडीमै रमल्लिएका छन् । पूँजीवादलाई प्रश्रय गर्ने प्रणाली कसरी कम्युनिस्ट हुन सक्छ ?

जटिल समयलाई आफ्नो अनुकूल बनाएरआजको गणतान्त्रिक कम्युनिस्ट सरकारले आफ्नो असली चरित्र उदाङ्गो पारेको छ ।

लोकतन्त्रको युगमा पनि विभेदको अवस्था किन उस्तै छ ?

जो नेतृत्व तहमा पुगे तिनमा प्रगतिशील चेत र लोकतान्त्रिक व्यवहार छैन । उनीहरू दायित्व लिन भनेपछि दश हात पर भाग्ने गर्छन् । सरकारको विभिन्न अंगमा पुगेका नेता नै ठेकेदार, दलाल र पूँजीपति वर्गसँग मिलेर आर्जन गर्नतर्फ लागेका छन् । ओली सरकार यसको सटिक उदाहरण हो ।

पाँच दशकभन्दा बढी समय राजनीति र समाजमाथि कविता लेख्नुभयो । यो यात्राको उपलब्धी केलाई मान्न्नुहुन्छ ?

लेखेर समाजसँग संवाद स्थापित गर्न सकेँ । सार्थकता यही हो । यो संवादमा मेरा कविताको पनि आफ्नै योगदान होला जसबाट मैले समाजमा आफूलाई प्रस्तुत गर्न सकेँ । उपलब्धी त केबाट मापन गर्ने ? उपलब्धी नापजोख गर्न मिल्दैन । कविता लेखेकै कारण समाज र परिवर्तन सँगैसँगै रहन पाएँ । विभेद, दमन र निरङ्कुशताप्रति प्रतिरोधी रहन सिकेँ । पाठकहरूबाट पाएको रेस्पोन्स तथा सद्भाव पनि त उपलब्धी नै हो ।

जब राज्यको मूल प्रवाह नै विभेदको मुख्य कारक बन्छ भने अरु अवस्थामा झनै बढी विभेद हुन्छ । देशको सबै तहतप्कामा लोकतान्त्रिक पद्धतिको अनिवार्य पालना नभएसम्म यो विभेद कम हुँदैन ।

तपाईं कविता र साहित्यबारे सार्वजनिक मञ्चमा कम बोल्ने स्रष्टामा पर्नुहुन्छ । यस अर्थमा विमल निभालाई कविताको ‘साइलेन्ट किलर’ भन्न मिल्छ ?

म त्यति मुखर छैन, किनभने सबैको आ–आफ्नै स्वभाव हुन्छ । हाम्रोमा साहित्यबारे छलफल गर्ने अलोचक, समालोचक नभएरै कविहरू आफैं यो कर्म लागेका देखिन्छन् । मैले आफ्ना रचनामार्फत् भन्नुपर्ने कुरा भनेकै छु । त्यसलाई व्याख्या गर्ने, विस्तार गर्ने काममा मेरो संलग्नता छैन । आफ्नोबारे आफैँ बोल्दा म अतिवादको शिकार हुन्छु वा बढी नै भलादमीपनले थिचिएर ‘मैले त केही लेखेकै छैन, यसो प्रयास गर्दैछु’ भन्छु होला । यसैले साहित्यबारे बोल्ने काम समालोचक, आलोचक र अध्येताहरूको कर्म हो भन्ने ठान्छु ।

अहिले विश्व नै संकटको सामना गरिरहेको यो अवस्थामा सिर्जना हुने साहित्य कस्तो हुनुपर्ला ?

जीवनप्रति आशावादी हुने साहित्य लेखिनुपर्छ । सबै मानवको जीवन सुन्दर बनाउनेतर्फ नै हाम्रो लेखन केन्द्रित हुनुपर्छ । मानव जीवनको अवहेलना गर्ने, मानिसलाई विभेदतर्फउन्मूख गर्ने साहित्यमात्र होइन, त्यस्तो राजनीतिक व्यवस्था पनि अभिसाप हो ।

आपत–विपद मानवजीवन रहुञ्जेल आइपर्छ । इतिहासमा पनि विपदको लामो श्रृङ्खलासँग मानव समुदायले जुधेको साक्षी छ । मानवकै ज्ञान र चेतनाले जस्तोसुकै संकट समाधान गरिनुपर्छ ।

तपाईंको ‘पुलिस र कविता’ भन्ने कविता फेरि एकपटक सामाजिक सञ्जालमा सेयर हुन थालेको छ । प्रहरीप्रति व्यंग्य भएको उक्त कविता कसरी लेख्नुभयो ?

मैले यो कविता पञ्चायत कालका प्रहरीको रवैयालाई व्यंग्य गरेर लेखेको थिएँ । त्यतिबेला प्रहरी देशको होइन, सत्ताको मात्र हुन्थ्यो । उनीहरूको व्यवहार र व्यक्तिगत चेतनासमेत निकै असभ्य थियो । ती कोही पनि सृजनशील व्यक्ति र सृजनालाई महत्त्व दिँदैनथे । म स्वयं त्यो व्यवहारको शिकार हुनुपरेपछि उक्त कविता लेखेको हुँ ।

तपाईंको विचारमा पुलिस कस्तो हुनुपर्छ ?

प्रहरी जनतासँग सहयोगी भूमिकामा रहनुपर्छ । प्रहरीले एक्लै काम गर्ने होइन, समुदायसँगै काम गर्ने हो । आजको लोकतान्त्रिक युगमा प्रहरीले पनि लोकतान्त्रिक आचरणमा काम गर्नुपर्छ ।

पुलिस स्वयं पनि यो देशको आम नागरिक हो भने उसले अन्य नागरिकको भावनालाई कदर गर्नुपर्छ । तावेदारी गर्नुमात्र आफ्नो कर्तव्य होइन भन्ने उसले बुझ्नुपर्छ ।

अन्त्यमा, विमल निभाको सिर्जना– ‘पुलिस र कविता’

पुलिसले कविता पढ्यो

र भन्यो

राम्रो छ !

पुलिसले कवितालाई राम्रो भन्यो

कवितामा लेखिएको थियो

के लेखिएको थियो कवितामा?

पुलिसलाई थाहा छ

पुलिसलाई राम्ररी थाहा छ

किनभने

पुलिसले कविता पढ्यो

र भन्यो

राम्रो छ

पुलिसहरू पनि

कविता पढ्छन् ।

साभार : अनलाइनखबर अनलाइन