९ चैत २०८०, शुक्रवार
(नेपाली समय)
९ चैत २०८०, शुक्रवार
नेपाली समय

यो वर्ष बेरुजु मनाहीः प्रधानमन्त्री

काठमाडौं । बेरुजु तथा अनियमितता नहुने गरी कामकारबाही गर्न प्रधानमन्त्री केपी ओलीले सचिवहरुलाई निर्देशन दिनुभएको छ । मंगलबार प्रधानमन्त्री कार्यालयमा सचिवहरुलाई आफू मातहतका कर्मचारीहरुलाई समेत यसबारे सचेत गराउन प्रधानमन्त्री ओलीले निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीले मुलुकमा बढ्दो बेरुजुप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आउँदो आर्थिक वर्षमा बेरुजु नआउने गरी कार्य गर्न सबै मन्त्रालयका सचिवहरुलाई सचेत गराउनु भयो ।

आर्थिक वर्ष २०७४/७५ को लेखा परीक्षण शुरु गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा लेखा परीक्षणक्रममा देखिएका समग्र विषय र कार्ययोजनामा छलफल भएको थियो । महालेखा परीक्षकको कार्यालयको आगामी योजनाबारे छलफल गर्न आयोजित बैठकमा ओलीले मुलुकमा आर्थिक अनियमितता हुन नदिन सरकारले आर्थिक सुशासनमा जोड दिएको उल्लेख गर्दै चालू आर्थिक वर्षदेखि बेरुजु नआउने गरी काम गर्न सबै मन्त्रालयका सचिवहरुको गम्भीर ध्यानाकर्षण गराउनुभएको हो ।

मंगलबारबाट सुरु भएको आर्थिक वर्ष २०७४/७५ को लेखा परीक्षण माघ मसान्तसम्ममा सम्पन्न गरी चैत मसान्तसम्ममा राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गर्ने महालेखा परीक्षण कार्यालयको योजना छ ।

मंगलबारको छलफलले मुख्यसचिव, संसदका महासचिव, सर्वोच्च अदालतका मुख्य रजिष्टार, सचिव, लेखा उत्तरदायी अधिकृतलगायत सरकारका सबै निकायहरुलाई लेखा चुस्त राख्न सुझाव दिएको छ । विगतका वर्षहरुमा आर्थिक वर्षको लेखा परीक्षण शुरु गर्न आयोजना गरिने छलफल कार्यक्रममा प्रधानमन्त्री अनुपस्थित हुने गरेकामा यसपटक भने सहभागी मात्र भएनन् । निर्धारित समयमै काम सक्न निर्देशन पनि दिए ।

प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षको शुरुमै बेरुजु हुन नदिन सचिवहरुलाई सचेत गराउनु भएको छ । महालेखा परीक्षकको कार्यालयले पनि बेरुजु घटाउन अभियान नै सञ्चालन गर्ने योजना अघि सारेको छ ।

आगामी आर्थिक वर्षहरुमा आर्थिक अनियमितता कम हुने आर्थिक अनुशासन कायम हुने, वित्तीय प्रशासनमा सुधार हुने अपेक्षा छ । यस्तै, विकास निर्माण, सेवा प्रवाह, राजस्व आम्दानी खर्चलगायत कहीँ कतै अनियमितता भएको थाहा पाए महालेखा परीक्षकको कार्यालयमा जानकारी दिन आग्रह गरेको छ ।

महालेखा परीक्षक टंकमणि शर्माले वित्तीय प्रशासनलाई सुधार गर्न पनि प्रधानमन्त्री ओलीले सचिवहरुलाई निर्देशन दिनु भएको बताउनुभयो ।

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds