१२ मंसिर २०८०, मंगलवार
(नेपाली समय)
१२ मंसिर २०८०, मंगलवार
नेपाली समय

रंगभेदी व्यवहारविरुद्घ खेलाडीको ऐक्यबद्धता

लन्डन : गत मे २५ तारिखमा अमेरिकाको मिनियापोलिस राज्यमा प्रहरीद्वारा ४६ वर्षीय अश्वेत नागरिक जर्ज फ्लोयडको हत्या भएपछि विगत केही दिनदेखि अमेरिकामा त्यसको व्यापक विरोध हुँदै आएको छ। हत्याको विरोधमा प्रदर्शनकारीहरू सडकमा ओर्लिएका छन्। विरोध प्रदर्शनले अमेरिकाको थुप्रै राज्यमा उग्ररूप लिएको छ।

अमेरिका मात्र होइन, विश्वका अन्य राष्ट्रमा पनि उक्त घटनाको चर्को विरोध हुँदै आएको छ। यसैक्रममा विश्वभरका विभिन्न खेलका खेलाडीहरूले पनि उक्त घटनाको चर्को विरोध गर्दै आएका छन्। चर्चित फुटबलर रहिम स्टर्लिङले पनि उक्त घटनाको निन्दा गरेका छन्।

इङ्ल्यान्डको राष्ट्रिय फुटबल टोलीका महŒवपूर्ण सदस्य स्टर्लिङले जातीय भेदभाव र रंगभेदी व्यवहार वर्तमान विश्वको सबैभन्दा ठुलो रोग भएको बताएका छन्। २५ वर्षीय स्टर्लिङ इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट व्यावसायिक फुटबल खेल्छन्।

‘जातीय भेदभाव र रंगभेदी व्यवहार वर्तमान विश्वको सबैभन्दा ठुलो महामारी हो। यो रोगसँग लड्न सबैको ऐक्यबद्धता आवश्यक पर्छ’, सञ्चारकर्मीसँगको कुराकानीमा स्टर्लिङले भनेका छन्। अमेरिकामा भएको उक्त घटनाको अहिले बेलायतमा पनि तीव्र विरोध हुँदै आएको छ।

कोरोना भाइरसको संक्रमणलाई समेत बेवास्ता गर्दै हजारौं व्यक्ति सडकमा ओर्लिएर उक्त घटनाको विरोध गरिरहेका छन्। दिनहुँजसो धर्ना, जुलुस र विरोधसभा हुने गरेका छन्। विरोध कार्यक्रममा विभिन्न खेलका चर्चित खेलाडीहरूको समेत सहभागिता रहने गरेको छ।

‘यस्ता घटनाहरू निन्दनीय छन्। कुनै रोगको महामारी निश्चित समयपछि साम्य भएर जान्छन् तर, जातीय भेदभाव र रंगभेदी व्यवहार यस्तो रोग हो जसले वर्षौं वर्षसम्म समाजलाई पिरोलिरहन्छ’, स्टर्लिङ भन्छन्, ‘त्यसैले समाजका रहेक पेसा र वर्गका व्यक्तिले यस्ता घटनाको विरोध गर्नै पर्छ।’

स्टर्लिङले विरोध जुलुस र सभाहरूमा सहभागी हुने व्यक्तिलाई कोरोना भाइरसको सम्भावित जोखिमबाट जोगिन पनि सुझाव दिएका छन्। स्टर्लिङले खेल मैदानमा खेलाडीहरूले समेत बेलाबखत रंगभेदी व्यवहारको सामना गर्नु परेको पनि बताएका छन्। उनले आफू पनि एक पटक रंगभेदी व्यवहारको सिकार भएको बताए।

कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि स्थगित इङ्लिस प्रिमियर लिग सुरु हुने भएपछि यतिबेला स्टर्लिङ पनि अन्य खेलाडीसँगै नियमित अभ्यासमा व्यस्त छन्। इङ्लिस प्रिमियर लिग सुचारु भएपछि उनको क्लब म्यानचेस्टर सिटीले जुन १७ तारिखमा आफ्नो पहिलो खेल खेल्ने कार्यक्रम छ।

इङ्ल्यान्डका चर्चित क्रिकेटर जोफ्रा आर्चर र प्रभावशाली अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले पनि अमेरिकामा भएको उक्त घटनाको विरोध गरेका छन्। सन् २०१९ मा न्युजिल्यान्डमा सम्पन्न टेस्ट क्रिकेट शृंखलाका क्रममा आर्चर पनि रंगभेदी व्यवहारको सिकार भएका थिए।

यसैगरी इङ्ल्यान्डका अर्का फुटबलर जाडोन सान्चोले पनि उक्त घटनाको निन्दा गरेका छन्। उनले रंगभेदी व्यवहारविरुद्घको आन्दोलनमा आफ्नो सधंै साथ र समर्थन रहने पनि बताएका छन्। इङ्ल्यान्डका राष्ट्रिय टोलीका सदस्य सान्चो हाल जर्मन बुन्डेस लिगा क्लबबाट व्यावसायिक फुटबल खेल्छन्।

यसअघि चर्चित ब्रिटिस मुक्केबाज एन्थोनी जोसुआले पनि रंगभेदी व्यवहारप्रति कडा टिप्पणी गरेका थिए। ३० वर्षीय बक्सर जोसुआले रंगभेदी व्यवहारलाई कोरोना भाइरसभन्दा पनि खतरनाक महामारीको संज्ञा दिएका थिए। जोसुआ विश्व हेभिवेट च्याम्पियन मुक्केबाज हुन्।

ब्रिटेनको वाट्फोर्डमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै जोसुआले विश्वको कुनै पनि कुनामा हुने रंगभेदी व्यवहार गम्भीर प्रकृतिको रोगको महामारीभन्दा पनि खतरनाक भएको धारणा व्यक्त गरेका थिए। ‘यो भाइरस झनै खतरनाक हुन्छ। यो अनियन्त्रित स्वभावको पनि हुन्छ’, विरोधसभालाई सम्बोधन गर्ने क्रममा जोसुआले भनेका थिए, ‘तपाईंहरूले बुझ्नुभयो होला। अहिले म कोरोना भाइरसको विषयमा कुरा गरिरहेको छैन। यहाँ म जातीय विभेद र रंगभेदी व्यवहारको कुरा गर्दैछु।’

जोसुआ इन्टरनेसनल बक्सिङ फेडरेसन (आईबीएफ), वल्र्ड बक्सिङ एसोसिएसन (डब्लूबीए) र वल्र्ड बक्सिङ अर्गनाइजेसन (डब्लूबीओ) च्याम्पियन खेलाडी पनि हुन्। ‘जातीय र रंगभेदी व्यवहारको कुनै भौगोलिक ुसीमा हुँदैन। यस्ता दुर्भाग्यपूर्ण घटनाको विरोधमा ओर्लनु हामी सबैको नैतिक दायित्व हो’, उनले भनेका थिए, ‘यो भाइरसले धनी गरिब र युवा वृद्ध केही चिन्दैन।’

यसैगरी इङ्लिस प्रिमियर लिग क्लब न्युक्यासल युनाइटेडका विंगर एलन सेन्ट म्याक्सिमिनले पनि अमेरिकामा भएको दुःखद् घटनाको विरोध गरेका छन्। २३ वर्षीय म्याक्सिमिनले रंगभेदी व्यवहारविरुद्घको हरेक अभियानमा आफ्नो ऐक्यबद्धता रहने पनि बताएका छन्।

साभार: अन्नपूर्णपोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds