शिवखोला (बाँके) : पूर्व–पश्चिम राजमार्गमा पर्ने बाँकेको शिवखोलामा दुई सय ७० जना मजदुर अलपत्र परेका छन्। नेपालगन्जबाट ९० किलोमिटर पूर्वमा दाङको सीमामा पर्ने बाँकेको राप्ती सोनारी गाउँपालिका १ को शिव खालामा बाँके राष्ट्रिय निकुञ्जको सुरक्षार्थ स्थापना गरिएको नेपाली सेनाको चेकपोस्ट नजिक अलपत्र परेका हुन्।
सेनाको चेक पोस्टका अनुसार शुक्रबार दिउँसो ३:१५ बजेसम्म चार सय १९ जनाले राजमार्गमा यात्रा गरेका थिए। दाङतिर केही व्यक्ति अलपत्र परेकाले रातिसम्म यो संख्या अझै बढ्ने बताइएको छ। अलपत्र पर्नेमा अधिकांश बाँके, बर्दिया, कैलाली, जाजरकोट र भारतका छन्।
उनीहरु अधिकांश काठमाडौं, गोरखा, नुवाकोट, स्याङ्जा, धादिङ, दोलखालगायतका जिल्लामा ज्याला मजदुरी गर्न गएका र छाक टार्न समस्या भएपछि फर्केका मजदुरहरु हुन्। उनीहरुमा आलो सुत्केरी, बालबालिका, वृद्धहरु पनि छन्। नुवाकोटबाट
जाजरकोटको छेडागार्ड नगरपालिका १ घर जान हिँडेका तेजबहादुर बुढा ५औं दिनमा बाँकेमा पुगेका थिए। उनी अबको ५ दिनमा हिँडेर भएपनि घर पुग्ने बताउँछन्। उनीसँगै चार साथी छन्। उनले दैनिक १५ किलोमिटर पैदल यात्रा गरिरहेको बताए। कतिपय स्थानमा स्थानीय तहहरुले खाना र खाजा दिएर सीमा कटाएका बताए। गोरखाबाटै फर्केका बर्दियाको बाँसगढी नगरपालिका ५ बठुवातालका शिव चौधरीले पाँच दिनसम्म भात खान नपाएको बताए। ‘कसैले गाडीमा चढाउँछ। फेरि सुरक्षाकर्मीले हिँडाउँछन्। गाडीमा आउन नपाउने हिड्न दिने यो कस्तो नियम हो’, उनले सरकारसँग प्रतिप्रश्न गरे। उनको टोलीमा एकै टोलका १२ जना छन्।
शिवखोलामा कैलालीका ५२ जना भेटिए। जोशीपुर गाउँपालिका बन्दरिया गाउँका लड्डु चौधरी बुटवलबाट दुई दिनमा बाँकेको सीमामा पुगे। उनको साथमा ३२ जना छन्। २० जना काठमाडौंबाट आएका पनि छन्।
बाँकेको राप्ती सोनारी गाउँपालिकाले राजमार्गमा अलपत्र नागरिकलाई गाउँपालिकाको सीमा पार गर्न बस, ट्रक र ट्याक्टरको व्यवस्था गरेको छ। राजमार्गमै कोहलपुर नगरपालिकाले भने ठाउँ ठाउँमा प्रवेश निषेध लेखेको छ। राप्ती सोनारीका अध्यक्ष लाहुराम थारुले राज्यको जेसुकै नीति भएपनि आफूले मानवीय हिसाबले सहयोग गरेको बताए। शम्शेरगन्जमा राप्ती सोनारी उद्योग वाणिज्य संघ, भगवती सामुदायिक वन र स्थानीय युवाहरुले खानाको व्यवस्था गरेको संघका अध्यक्ष टीकाराम ढुंगानाले जानकारी दिए।
राप्ती सोनारी गाउँपालिकामा मात्र राजमार्ग ७७ किलोमिटर छ। जुन बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको छ। निकुञ्जमा पैदल यात्रा बाघको आक्रमणम पर्ने खतरा छ। २८ चैत्रमा नुवाकोटबाट घर जाँदै गरेका बर्दियाको ठाकुरबाबा नगरपालिका ३ मिर्चैयाका ३० वर्षका चक्रप्रसाद थारु निकुञ्जबाट बेपत्ता भएका छन्। बेपत्ता थारुका काका पेंगानुले हरेक दिन गाउँका युवा ल्याएर निकुञ्जमा खोजी गरे पनि अहिलेसम्म भेटाउन नसकेको बताए।
साभार : अन्नपूर्ण पोष्ट अनलाइन