१२ मंसिर २०८०, मंगलवार
(नेपाली समय)
१२ मंसिर २०८०, मंगलवार
नेपाली समय

राष्ट्रवादको आयाम

गुरुराज घिमिरे

कुनै पनि राष्ट्रको जीवनमा यस्तो पनि घडी आउँदो रहेछ कि त्यहाँका जनताले बलियो एकताको प्रदर्शन गर्नुपर्ने आवश्यकता पर्दो रहेछ। अप्रत्यासित रूपमा आइपरेझैं देखिने तर कतिपय आफ्नै कमीकमजोरीको वैशाखी टेकेर उपस्थित संकटपूर्ण घडीमा सुविचारित र परिपक्व व्यवहारको मद्दतले आफूलाई सकुशल अघि बढाउनुपर्ने चुनौती खडा हुँदोरहेछ। अहिले हामी इतिहासको त्यही कुइनेटोमा उभिएर भविष्यको यात्रा र त्यसको तगारोलाई नियालिरहेका छौं। अर्थात् राष्ट्रवादमाथि आइपरेको संकटका विषयमा विमर्श गरिरहेका छौं। फेरि एकपटक हाम्रो समाज एकमुष्ट रूपमा राष्ट्रको अस्मिता र अस्तित्वको प्रश्नमा घोत्लिन बाध्य भएको छ। आफ्नो सुनिश्चित भविष्यको पुनर्रेखांकन गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

राष्ट्रको परिकल्पनालाई सार्थकता प्रदान गर्ने मूलभूत तत्तव हो भूगोल। राष्ट्रवादका धेरै आयाम अर्थात् आधारभूतमध्ये भूगोल प्रमुख र प्रारम्भिक तत्तव हो। यसको अभावमा राष्ट्रवादको यात्रा प्रारम्भै हुँदैन। एउटा निश्चित चौहद्दीमा बाँधिएका नागरिक, जाति, धर्म, भाषा, संस्कृति र जीविकाको समष्टिगत प्रारुप नै राष्ट्रवाद भए पनि भूगोलको सर्वाधिक महत्तव छ। हुन त कतिपय मानिस राष्ट्रको सिमानालाई मात्र राष्ट्रवादको रूपमा बुझ्ने गर्छन्। यो बुझाइ नितान्त अधुरो हो, तथापि भूगोलको अनुपस्थितिमा यस अवधारणाले मूर्तरूप लिन सक्तैन। त्यसैले संसारभरि नै जहाँजहाँ यस विषयमा बहसहरु चले, त्यहाँत्यहाँ भूगोल राष्ट्रवादको अपरिहार्य तत्तवको स्थापित छ।

राष्ट्रवादलाई भूगोलमा नागरिक उपस्थितिले सार्थक तुल्याउँछ। नागरिक भूगोलका जिवन्त तत्तव हुन्। वास्तविक अर्थमा भूगोलको औचित्य नागरिक उपस्थितिले मात्र सिद्ध गर्छ। अन्यथा जमिन, जंगल, पहाड, नदी आदिको अस्तित्वको उपयोगिता नै रहने थिएन। ब्रह्माण्डको उत्पत्तिको लामो अन्तरालमा अस्तित्वमा आएको पृथ्वीमा समेत समयको लामो अन्तरालमा मानिसको अविर्भाव भएको हो। मानिसले पनि धेरै समयको अन्तरालमा बल्ल राज्य वा राष्ट्रको रचना गरेको हो। यही राष्ट्रको अस्तित्वको सुरक्षाका निम्ति राष्ट्रवादको अवधारणा विकसित भएको हो। हुन त यो चीरस्थायी अवधारणा होइन, तथापि समकालीन मानव समाजको पछिल्लो बलशाली मान्यता हो। जसलाई मानव जातिको संरक्षण प्राप्त छ। मानव सभ्यताको विकास क्रममा अर्को उन्नत अवधारणाले विस्थापित नगरेसम्म यस मान्यताले विश्वमा राज गरिरहनेछ। नागरिक तत्तवले यसलाई जिवन्तता प्रदान गरिरहनेछ।

अग्रज र पुर्खाहरूको बलिदानबाट निर्मित राष्ट्र जोगाउने दायित्व हाम्रो हो। इतिहासमा फेरि एकपटक नेपालीको एकता, बहादुरी र बुद्धिमत्ता प्रदर्शन गरी हाम्रो गौरवको रक्षा गर्ने जिम्मेवारी नयाँ पुस्ताको काँधमा आएको छ। 

पृथ्वीमा मानव अस्तित्व भन्दा धेरै कान्छो छ धर्मको अस्तित्व। राज्यको उत्पत्तिपछि नै धर्मको उदय भएको हो। सनातन धर्मको उदयको ठ्याक्कै तिथिमिति नभए पनि यो धर्म मानिस र इतिहासको आवश्यकताले पैदा भएको हो। अरू धर्मको इतिहास त धेरै लामो छैन। अहिलेको बहस धर्मको होइन। यसको छुट्टै चर्चा आवश्यक छ। तर यो राष्ट्रवादको अभिन्न अंग हो। संसारमा कतिपय राष्ट्र त धार्मिक राष्ट्रवादका पुजारीसमेत छन्। धर्मलाई व्यापक अर्थमा हेर्नु, आवश्यक संरक्षण गर्नु र हरेक धर्मावलम्बीको हितमा काम गर्नु राष्ट्रको अनिवार्य दायित्व हो। यसले राष्ट्रवादको आधारलाई बलियो बनाउँछ। हरेक राष्ट्रको अभिन्न अंग भइसकेको धर्मलाई कम्तिमा वर्तमान युगमा राज्य सञ्चालनबाट टाढा राखेर हामी हेर्न सक्दैनौं। त्यसैले धर्म राष्ट्रवादको महत्तवपूर्ण आधारको रूपमा रहेको छ।

मानव जातिको उत्पत्ति र विकासक्रममा पैदा भएका विभिन्न धारामा जाति र नश्ल एउटा प्रमुख धारा हो। वेदमा आधारित पूर्वीय दर्शन र आफूलाई प्रामाणिक र वैज्ञानिक ठान्ने पश्चिमा दर्शनको सारभूत तत्तव पनि जाति र नश्लको अस्तित्व हो। दुनियाँका धेरै राष्ट्र र त्यहाँको समाजमा फैलिएका विभिन्न जातजाति सोही समाज र राष्ट्रका अकाट्य यथार्थ हुन्। यिनीहरूको स्वार्थ रक्षाबिना राष्ट्रको अस्तित्व सम्भव छैन। राज्य सञ्चालनको अभिन्न अंग समाजमा फैलिएका विभिन्न जातजाति हुन्। त्यसैले सफल राष्ट्रवाद र असल राष्ट्रवादले आफ्नो वैधानिक बर्कोले ढाकेर जातजातिलाई संरक्षण प्रदान गर्छ र गर्नु पनि पर्छ। उनीहरूको स्वतन्त्र पहिचान र विधायक महत्तवाकांक्षालाई मलजलसमेत गर्नुपर्छ। अर्को कुरा, राष्ट्रले जातजातिको विविधताका बीच समन्वय, सद्भाव र सहिष्णुताको प्रवर्धन गर्नुपर्छ। तसर्थ समकालीन विश्वमा जाति तत्तव राष्ट्रवादको अनिवार्य आधार हो।

हामीलाई थाहा छ, मानव जातिको उत्पत्ति भन्दा धेरै पछि भाषाको विकास भएको हो। तर यही एउटा शक्तिशाली माध्यम हो,जसले एकअर्कालाई नजिकै ल्याइदियो। त्यति मात्र होइन आआफ्ना समवेदना साट्ने र जीवनका आवश्यकता अवगत गराउने माध्यम बन्यो। मान्छेको सिर्जनशीलता, अनुसन्धान र आविष्कारलाई अरू मान्छेसम्म पुर्‍याउने र अरूबाट ग्रहण गर्ने माध्यम बन्यो। भाषाको अभावमा यति द्रुत गतिमा मानव जातिको विकास र प्रगतिको सम्भावना थिएन। त्यसैले हरेक राष्ट्रले यसको अनिवार्य संरक्षण गर्नुपर्छ। समाजमा रहेका विभिन्न जातजातिले बोल्ने र लेख्ने विभिन्न भाषा मानव सभ्यताका अमूल्य सम्पदा हुन्। पुर्खाको अनुभव र सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने एउटैमात्र माध्यम भाषा भएकाले यो राष्ट्रको अभिन्न अंग हो र राष्ट्रवादको महत्तवपूर्ण आधार हो।

संस्कृति राष्ट्रसापेक्ष हुन्छ, जाति र धर्मसापेक्ष हुन्छ। यो सर्वदेशिक हुँदैन कला र साहित्य जस्तो। जुन समाज, जाति या धर्मले जुन संस्कृति अंगालेको हुन्छ,त्यो उनीहरूका निम्ति प्राणप्रिय हुन्छ। उनीहरू यसको जगेर्ना चाहन्छन्। त्यति मात्र होइन, पुस्ता दर पुस्ता संरक्षण खोज्छन्। यो अभिभारा राष्ट्रको हो। यस्तै गाह्रो कामका लागि नागरिकले राज्य नामक प्राचीन संस्थाको निर्माण गरेका हुन्। आफैंमा कुनै पनि संस्कृति राष्ट्रको पहिचान र गहना पनि हो। यसले राष्ट्रको व्यक्तित्वलाई झल्काउँछ र प्रतिष्ठित बनाउँछ। संस्कृतिमा धनी राष्ट्रको विश्व मर्यादासमेत उच्च हुन्छ। तसर्थ कुनै पनि राष्ट्रले आफूलाई चीरकालसम्म जिवन्त रूपमा बचाइराख्ने हो भने आफ्नो संस्कृतिको जगेर्ना गर्नैपर्छ। त्यसैले संस्कृति राष्ट्रवादको अर्को अपरिहार्य तत्तव हो। यसको अभावमा सच्चा राष्ट्रवादको कल्पना गर्न सकिँदैन।

मानिसको पहिलो घर नै राष्ट्र हो। हरेक राष्ट्रले आफ्ना नागरिकलाई उसको जीविकाको बाटो देखाइदिनुपर्छ। यसका लागि आवश्यक शिक्षा,सीप र अन्य दक्षताले परिपूर्ण बनाउनुपर्छ। यति भएपछि राष्ट्रको आफ्ना नागरिकका प्रतिको प्राथमिक दायित्व पूरा हुन्छ। उसले ठूलो आपतविपत्मा मात्र राष्ट्र वा आफ्नोे देश सम्झन्छ या गुहार्छ। दैनन्दिन जीवनका आफ्ना आवश्यकता र त्यसको परिपूर्तिसँग लडिरहेका मान्छेलाई सामान्य अवस्थामा अरूको खाँचो पर्दैन। तर जब उनीहरुको जीवनमा आँधिबेहरी आउँछ तब के गर्ने ? त्यति बेला फेरि राष्ट्रको दायित्व अगाडि आउँछ। अरू सबै तत्तवले परिपूर्ण भएर पनि नागरिकको जीविकाप्रति राष्ट्र उदासीन रहने हो भने राष्ट्रवादको आधार कमजोर हुन्छ। र, त्यस्तो राष्ट्रवाद खोक्रो हुन्छ। नागरिकको महत्तव नभएको राष्ट्रवाद नारामा मात्र सीमित हुन्छ।

कुनै पनि राष्ट्रलाई सुनियोजित र व्यवस्थित रूपमा अघि बढाउन र आफ्ना नागरिकलाई सन्तुष्ट राख्न समुन्नत र लोकप्रिय शासन प्रणालीको आवश्यकता पर्छ। विश्वमा धेरै किसिमका शासन प्रणालीको प्रयोग र अभ्यास हँुदै आएको पाइन्छ। सबैका आआफ्नै विशेषताहरू छन्। सबै प्रणालीका थोरबहुत अनुयायी पनि छन्। तर सच्चा राष्ट्रवादको आधारको नागरिक इच्छामा चल्ने लोकतान्त्रिक शासन प्रणाली नै हो। नेपालमा यस्तो प्रणाली आजभन्दा ठ्याक्कै सत्तरी वर्षअघि नै स्थापना भएको हो तर त्यसलाई स्थायित्व दिन सकिएन। तसर्थ निर्विवाद रूपमा भन्न सकिन्छ कि कुनै पनि राष्ट्रलाई समुन्नत तुल्याई राष्ट्रवादलाई प्रवर्धन गर्ने र जगैबाट मजबुत तुल्याउने हो भने नागरिकको अधिनमा रहने लोकतान्त्रिक शासन प्रणालीको कुनै विकल्प देखिँदैन।

हाम्रो सन्दर्भमा पनि राष्ट्रवादले परिपूर्णता हासिल गर्न बाँकी नै छ। नेपाल धेरैअघि अस्तित्वमा आएको हो। हामीले एउटा निश्चित भूगोललाई संगठित गर्यौं र विश्व मानचित्रमा स्थापित भयौं पनि। हामीकहाँ विभिन्न जातजाति, भाषाभाषी, संस्कृति र धर्मको विविधता विद्यमान छ। तर आजसम्म देशले राष्ट्रिय धर्म निर्वाह गर्न सकेन। नागरिकका विविध आकांक्षालाई सम्बोधन गर्न सकेन। त्यसैले समयसमयमा साना ठूला विद्रोह, संघर्ष, क्रान्ति र आन्दोलनको माध्यमबाट जनताले आफ्ना असन्तुष्टि सार्वजनिक गर्दै आए। परिणामतः हामी आज संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको अभ्यासमा छौं। यसलाई समृद्ध तुल्याउनु आजको आवश्यकता र हामी सबैको मुख्य दायित्व एवं कर्तव्य हो। हामी इतिहासको संकटपूर्ण कालखण्डमा छौं। हामीसँग पुर्खाले छाडेर गएको विरासत नेपाल राष्ट्र छ। यसमाथि परायाले गिद्देदृष्टि लगाएको धेरै भयो, भारतीयको सिलसिला त जारी नै छ।

मूलतः अहिलेको हाम्रो चुनौती राष्ट्रको भूगोललाई संरक्षण गर्ने हो। कतिपय हाम्रा कमजोरी पनि राष्ट्रवाद कमजोर हुनमा सहायक छन्। हामीले त्यसको हेक्का राख्नैपर्छ। हाम्रा अग्रज र पुर्खाहरूको बलिदानबाट निर्मित राष्ट्र जोगाउने दायित्व हाम्रो हो। इतिहासमा फेरि एकपटक नेपालीको एकता, बहादुरी र बुद्धिमत्ताा प्रदर्शन गरी हाम्रो गौरवको रक्षा गर्ने जिम्मेवारी नयाँ पुस्ताको काँधमा आएको छ।     

साभार: अन्नपूर्णपोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds