१ वैशाख २०८१, शनिवार
(नेपाली समय)
१ वैशाख २०८१, शनिवार
नेपाली समय

राष्ट्रिय च्याम्पियन महर्जनको अन्त्येष्टि

काठमाडौँ, ७ असार (रासस) : साइक्लिङका राष्ट्रिय च्याम्पियन स्व नारायणगोपाल महर्जनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । 

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठ र महासचिव लामा टेण्डी शेर्पा, युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनप्रसाद सापकोटा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल साइक्लिङ संघ का र विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, आफन्त, कर्मचारीलगायतले महर्जनप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो । 

उहाँप्रति श्रद्धाञ्जलि दिन उहाँको पार्थिव शरीर त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को हातामा राखिएको थियो । स्थानीय डल्लुमा डेरामा बस्दै आउनुभएका ३३ वर्षीय अविवाहित महर्जनको श्रीलंकाको कोदामामा रम्बल इन जंगल–२०१८ मा प्रतिष्पर्धा गर्ने क्रममा दुर्घटनामा परी गत जेठ ३० गते निधन भएको थियो । महर्जनको पार्थिव शरीर श्रीलंकाबाट ड्रागन एयरमा यही असार ६ गते नेपाल ल्याइएको थियो । महर्जनसहित उक्त प्रतियोगितामा सहभागी हुन अजय पण्डित क्षेत्री र बुद्धिबहादुर तामाङ श्रीलंका जानुभएको थियो । अजय र बुद्धि पनि स्वदेश फर्किसक्नुभएको छ । उक्त घटनापछि आयोजकले प्रतियोगिता स्थगन गरेको नेपाल साइक्लिङ संघले जनाएको छ । 

इण्डोनेसियामा आगामी भदौमा हुने एशियाली खेलकुदको तयारी प्रशिक्षणमा रहनुभएका महर्जनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई १४ स्वर्ण, १३ रजत र १२ कांस्य पदक जितेको साइक्लिङ संघले जनाएको छ । महर्जन २०६२ सालदेखि साइक्लिङको क्रस कन्ट्री विधामा संलग्न हुनुभएको थियो । राखेपका सदस्य–सचिव विष्टले राम्रो सम्भावना बोकेको खेलाडी गुमाउँदा आफूलगायत सिंगो खेल क्षेत्र निकै मर्माहत भएको बताउनुभयो । स्व महर्जनका बुवा, आमा र दुई दिदी छन् । 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds