२० मंसिर २०८०, बुधवार
(नेपाली समय)
२० मंसिर २०८०, बुधवार
नेपाली समय

रियल म्याड्रिड लयमा

पुस्कासलाई पछि पारे बेन्जेमाले

म्याड्रिड : अनुभवी स्ट्राइकर करिम बेन्जेमाले उत्कृष्ट प्रदर्शन गरेपछि स्पेनिस ला लिगा फुटबलको आफ्नो पछिल्लो खेलमा रियल म्याड्रिडले सजिलो जित हात पारेको छ। घरेलु मैदानमा बिहीबार राति खेलिएको खेलमा स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडले भ्यालेन्सियालाई ३–० गोलले हरायो।

जितसँगै अंक तालिकाको दोस्रो स्थानमा आसीन रियल म्याड्रिडले ‘लिग लिडर’ बार्सिलोनामाथि चुनौती थप्ने काम पनि जारी राखेको छ। उक्त खेल ३२ वर्षीय फ्रान्सेली खेलाडी बेन्जेमाका लागि पनि महत्वपूर्ण रह्यो। उनी रियल म्याड्रिडका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा थप एक खुड्किलो माथि उक्लिएका छन्।

बेन्जेमा रियल म्याड्रिडको इतिहासमै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पाँचौं स्थानमा उक्लिएका हुन्। उनले क्लबका लागि गरेको गोल संख्या दुई सय ४३ पुगेको छ। उनी हंगेरीका महान् फुटबलर पुस्कासलाई उछिन्दै पाँचौं स्थानमा उक्लिएका हुन्। आफ्नो खेल जीवनको उत्तराद्र्धमा पुस्कासले स्पेनको राष्ट्रिय टोलीबाट पनि केही खेल खेलेका थिए।

बेन्जेमा सन् २००९ देखि रियल म्याड्रिडमा आबद्ध छन्। त्यसअघि उनी फ्रान्सेली क्लब लियोनबाट व्यावसायिक फुटबल खेल्थे। रियल म्याड्रिडका लागि सर्वाधिक गोल गर्ने खेलाडी क्रिस्टियानो रोनाल्डो हुन्। इटालियन सिरिए क्लब युभेन्ट्समा आबद्ध हुनुअघि पोर्चुगिज स्टार रोनाल्डोले रियल म्याड्रिडका लागि चार सय ५० गोल गरेका थिए।

यसैगरी सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका राउलले तीन सय २३, तेस्रो स्थानमा रहेका अल्फ्रेडो डी स्टेफानोले तीन सय आठ र चौथो स्थानमा आसीन सान्टिलानाले दुई सय ९० गोल गरेका छन्। पुस्कासले भने रियल म्याड्रिडका लागि दुई सय ४२ गोल गरेका थिए।

बेन्जेमाले भ्यालेन्सिया विरुद्घको खेलमा दुई गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ६१औं मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए। ७४औं मिनेटमा मार्को एसेस्यिोले रियल म्याड्रिडको अग्रता दोब्बर बनाएका थिए। निर्धारित समयको खेल सकिनुभन्दा दुई मिनेटअघि बेन्जेमाले व्यक्तिगत रूपमा दोस्रो गोल गरेका थिए।

स्पेनिस ला लिगामा हालसम्म २९ खेल खेलेको बार्सिलोना ६४ अंकसहित पहिलो र समान खेलबाट ६२ अंक बटुलेको रियल म्याड्रिड दोस्रो स्थानमा छन्। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका करिब तीन महिना स्थगित भएर पुन: सुचारु भएयता खेलिएका दुवै खेलमा बार्सिलोना र रियल म्याड्रिडले जित हात पारेका छन्।

साभार: अन्नपूर्णपोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds