१७ असार २०७९, शुक्रवार
(नेपाली समय)
१७ असार २०७९, शुक्रवार
नेपाली समय

लकडाउनका अथक यात्री !

४ वैशाख, काठमाडौं । सुखको खोजीमा दुःखको भारी बोक्न राजधानी छिर्नेहरुको संख्या ठूलो छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले गरेको बन्दाबन्दीका वीच सयौँ किलोमिटर परको घर सम्झेर पैदलै काठमाडौं खाल्डोबाट बाहिरिनेहरुको लस्करले यही बताउँछ ।

सरकारले गत १० चैतदेखि लकडाउन अर्थात बन्दाबन्दी लागु गर्‍यो । शहरमा घर हुनेहरु ग्यास, दाल–चामल, फ्रोजन मिट र नुडलदेखि ड्राई फ्रुटसम्मका आवश्यक सामग्री जम्मा गरेर सरकारको कदममा दृढ समर्थन जनाउँदै बसे ।

भाडाको कोठा/फ्ल्याटवालाहरु पनि आ–आफ्नो बन्दोबस्त बाँधेर बसे । यी सब नभएकाहरु पनि जसरी तसरी बसे । जब सरकारले बन्दाबन्दीको अवधि एक हप्ता बढायो, खास गरी मजदुर वर्गलाई भारी पर्‍यो । काठमाडौं बसौँ, बाँच्नलाई केही छैन । गाउँ फर्कौँ, देशभर सार्वजनिक सवारी थप्प छ । गरौँ के ?

उनीहरुले विपदमा निर्विकल्प आँट गरे । काठमाडौंमा थुनिएका हजारौं मजदुर एकाध माना चिउराको भरमा मन बाँधेर सयौँ किलोमिटर टाढाको पैदल यात्रामा निस्किए । दिउँसो सडकमा निस्कँदा प्रहरीको डण्डा बर्सने अनि आ–आफ्नो जोहो गरेर घरभित्र सुरक्षित बसेकाहरुले ‘लकडाउन नटेर्नेहरुलाई ठोक्नैपर्छ’ भन्दै सामाजिक सञ्जालमा सरकारलाई उक्साउने अवस्थामा निरीहहरु रात पर्खेर लम्कन थाले ।

घण्टैपिच्छे साबुन पानीले हात धुनुपर्ने सरकारको उर्दीको देशभर खुशीसाथ पालना भइरहेको समयमा रातका ती हजारौं यात्रीसँग सुक्दो घाँटी भिजाउने पानीसम्म थिएन । सुन्निएर थोत्रो चप्पलको फिताले थेग्न छाडेका हजारौं जोर खुट्टाहरु काठमाडौंबाट सिराहा, सप्तरी, सुनसरी मात्र नभई सोलुदेखि पश्चिमको कैलालीतिर सोझिए । कोही धुलिखेल हुँदै त कोही थानकोट नाकाबाट ।

बन्दाबन्दीको तेस्रो हप्ता चलिरहँदा ३० चैतमा वीपी कोइराला राजमार्गमा फाट्टफुट्ट मोटरसाइकल र निजी गाडी चलिरहेका थिए । बीचबीचमा भेटिन्थे, पिठ्युँमा झोला वा काँधमा बोरा बोकेर हिँडिरहेका मैलाधैला मानव झुण्ड ।

राजमार्गको सुरुवाती विन्दु धुलीखेल चोकबाट ओरालो लागेपछि एकाध ठाउँमा स्थानीय क्लवहरुले पुराना जुत्ता–चप्पल, पानी, विस्कुट, चाउचाउ आदि राखिदिएको देखियो । ती चिजबिजसँगैका सूचनामा लेखिएका थिए– यात्रुका लागि निःशुल्क । सहरमा चलेको सरकारी सुरक्षा प्रबन्धले हुत्याएकाहरुका लागि गाउँमा जोगिएको मानवताको बिउजस्ता लाग्थे, यी सूचना ।

हामी दम्साइलो ओरालोमा अगाडि बढ्दै गयौं । भकुण्डेबेंसीमा राजमार्ग छेउका सटरहरु बन्द थिए । रोसी तरेपछि फाट्टफुट्ट पसल खुला रहेको देखिए । चेकपोस्टमा प्रहरीहरु कडिकडाउ गरिरहेका थिए ।

मुलकोटमा एउटा होटेल खुल्ला देखियो । गाडी रोकेर हामी त्यहाँ पस्यौं । होटल सञ्चालक माइली श्रेष्ठले हिजोको तुलनामा आज यात्रुको लस्कर कम देखिएको बताइन् ।

उनले भनिन्, ‘हिजो विहान त पाँचै बजे हुलका हुल मानिस खुट्टा खोच्याउँदै यहाँ आइपुगेका थिए । कोही त रुँदै हिँडिरहेका थिए ।’

लाग्यो, हिजै आएको भए बन्दाबन्दीमा धेरैले पाएको ढुंगे युगको दुःख रेकर्ड गरेर पाठकलाई देखाउन सक्थ्यौं, तर ढिलो भएर चुक्यौं । हामीले त्यहीबाट फर्कने निर्णय गर्‍यौं ।

मूलकोटबाट फर्केर १५ मिनेट के गुडेका थियौं, नयाँ–नयाँ साइकलको पाइडल पेलिरहेका असीन–पसीन तीन युवक भेटिए । काभ्रेबाट बिहान १० बजे हिँडेका उनीहरुको गन्तव्य घुर्मी रहेछ ।

हामीले सोधखोजको मेसो निकालेपछि तीमध्ये २४ वर्षका अर्जुन मगरले हतारिँदै भने, ‘घर बनाउने काम गर्थ्यौं । ११ गते सब कुरा बन्द भयो । खुल्छ कि भनेर पर्खंदा झन् अप्ठ्यारो पर्न थालेपछि साइकल किनेर घर हिँडेका… ।’

उही उमेरका अरु दुईजना केशव बुढाथोकी र दीपक पोखरेल रहेछन् । साइकलको क्यारियरमा बाँधिएका झोलामा कपडा, चाउचाउ, बिस्कुट कोचिएका थिए । उनीहरु हामीभन्दा हतारमा थिए । ‘नयाँ साइकल भए पनि बाटो उकालो पनि छ’, केशवले भने, ‘जहाँ थाकिन्छ, एक झप्को त्यही सुतिन्छ । भोलि त घरै पुगिन्छ ।’

हामीले दिएको मास्क लगाएर उनीहरु हुँकिई पनि हाले । हामीलाई लाग्यो, बन्दीबन्दीको मारमा परेको यो खास टोली हो, जसको खल्तीमा नयाँ साइकल किन्ने नगद थियो, घर पनि अरुको तुलनामा नजिकै थियो ।

साझको पाँच बजिसकेको छ । सडक छेउका टोलहरुमा मान्छेहरुको चहलपहल शुरु हुँदैछ । नेपालथोक छेउको चेक पोस्टमा रोकिएको एउटा मालबाहक ट्रकको इञ्जिन चालु नै थियो । बन्दाबन्दीमा खाद्यान्न ढुवानी छुट छ । तर, काठमाडौंमा खाद्यान्न पुर्‍याएर फर्केको यो ट्रकमा २५ जना मानिस कोचिएका रहेछन् । प्रहरीहरु केरकार गर्दै थिए ।

ट्रकभित्र फलामे पातामा बसेका मानिसहरु धुलोले छोपिएका थिए । एकाधको मुखमा मास्क देखिन्थ्यो । केहीले कपडाले मुख ढाकेका थिए । तीमध्येका एक दिनेश चौधरी तीन वर्षकी छोरी र पत्नीलाई समातेर डालामा अडेस लागेका थिए ।

‘हाम्रो काम र सडकमा गाडी एकैपटक बन्द भयो, खाने चिजबिज किन्न पैसा भएन’, उनले भने, ‘अनि जसोतसो घर पुलिएला भनेर हिँडेको चार घण्टामा यो ट्रक भेटेर चढ्यौं ।’

ट्रकमा अधिकांश मजदुर थिए । कोही फर्निचरमा काम गर्ने, कोही गाह्रो लगाउने त कोही ईंटा बोक्ने । ‘म घरमा पेन्टिङ गर्ने काम गर्छु । ठेकेदारले बैंक बन्द छ भनेर पैसा दिएनन्’, एक वर्षकी छोरी र पत्नीसहित रहेका सुबोध सिंहले भने, ‘खानै नपाउने अवस्था भएपछि सर्लाही घर हिँडेको, धन्न यो ट्रक भेटियो ।’

कुनामा कुक्रुक्क परिरहेका थिए, ५० वर्षीय रामलखन चौधरी । काठमाडौंमा वेल्डिङ पेशा गर्ने उनी बन्दाबन्दीले सबथोक बन्द गरेपछि जहानछोराछोरी सम्झेर सर्लाही हिँडेका रहेछन् ।

ड्युटीमा रहेका प्रहरी जवान निरजन साहलाई हामीले सोध्यौँ, ‘यसरी आउनेहरुलाई प्रहरीले के गर्छ ?’

उनका आँखा टिलपिल हुन थाले । सकसका साथ सम्हालिँदै उनले भने, ‘बिजोग छ, फोका उठेर थिलथिलो भएको खुट्टा टेक्न नसकी नसकी आउँछन् । खानेकुरा नभएर काठमाडौंबाट हिँडेर आएको भन्छन् । साथमा न पैसा छ, न खानेकुरा । हामी पनि मान्छे हौं, सकेसम्म विभिन्न निकायसँग समन्वय गरेर, सहज बनाएर पठाउँछौं । अरु के गर्न सक्छौँ र !’

त्यहाँबाट हिँड्दा झमक्क साँझ परिसकेको थियो । मंगलटारमा एक पुरुष चप्पल लगाएको खुट्टा खोच्याउँदै हिँडिरहेका थिए । उनी काठमाडौंमा ज्यामी काम गर्ने चन्द्रबहादुर तामाङ रहेछन् । बिहान सात बजे काठमाडौंबाट बाटो लागेका उनको गन्तव्य रामपुर रहेछ । ‘यहाँसम्म आइपुग्दा खुट्टा सुन्निएर, दुखेर हिँड्नै नसक्ने भइसकेँ, कसरी घर पुग्न सकुँला…’, पसिनाले भिजेका चन्द्रबहादुरले आत्तिएको लवजमा भने, ‘बाटैमा मरिन्छ कि क्या हो !’

हामीले पानीको बोतल दियौं । उनले एकै सासमा आधा पानी घुट्क्याए अनि स्वासप्रश्वास नियन्त्रणमा आएपछि हामीतिर हेर्दै भने, ‘यो पानी सबै मलाई दिने कि… ।’

त्यसपछि हामीले अर्को बोतल पानी र दुई प्याकेट चाउचाउ पनि उनलाई दियौं अनि भन्यौं, ‘रात परिसक्यो, आज यतै, कतै बास बसेर भोली बिहान बाटो लाग्नुस् ।’

उनले टाउको हल्लाए । हामी एउटा विवश मजदुरलाई उनकै हालतमा छाडेर आफ्नो बाटो लाग्यौं ।’

साभार : अनलाइनखबर अनलाइन