१२ मंसिर २०८०, मंगलवार
(नेपाली समय)
१२ मंसिर २०८०, मंगलवार
नेपाली समय

लकडाउनमा फिल्मको चस्का

इन्द्र चौधरी/कृष्णराज सर्वहारी । काठमाडौं : कोरोनाको असर कम हुँदै गएपछि चीनले फिल्म हल खोल्दै गए पनि नेपालमा अहिले हलमा फिल्म हेर्नु कल्पना बाहिरको कुरा हो। लकडाउनका बेला अहिले घरकै टीभीमा धेरैले फिल्म हेरेर समय बिताइरहेका छन्।

जहिले पनि कुनै न कुनै फिल्ममा आबद्ध रहने व्यस्त कलाकार दयाहाङ राई लकडाउनको अवस्थामा घरपरिवारसँगै दिन बिताइरहेका छन्। यस्तो बेला फिल्म नहेर्ने कुरै भएन। उनले अहिले नेपाली फिल्म हेर्न सुझाएका भन्छन् ‘अहिले धेरै फिल्म हेर्न भ्याउने समय छ। दर्शकले नेपाली फिल्म मेकिङ कस्तो भइरहेको छ ? , कता जाँदैछ ? भन्ने कुरा बुझ्ने मौका पाउँछन्।’ यो सँगै हलिउड बलिउडका फिल्म पनि हेर्न सकिने बताउँछन् उनी। उनीले आफूलाई मन पर्ने ‘आर्टिकल’, ‘द टर्मिनल’, ‘प्यारासाइट’, ‘टेस्ट अफ चेरी’ लगायतका फिल्म हेर्न सुझाव दिए।

त्यसैगरी हास्यकलाकार दीपकराज गिरी परिवारसँगै चलचित्र हेर्दै, नयाँ चलचित्रका लागि स्क्रिप्ट लेख्दै लकडाउनको समय सदुपयोग गरिहेका छन्। उनी विशेषगरी बलिउड र नेपाली फिल्म हेर्न रुचाउँछन्। यो समयमा उनले हेर्न छुटेका फिल्म हेरिरहेका छन्। उनलाई सबैभन्दा बढी मन परेको फिल्म ‘थ्री इडियट्स’ हो। यसमा शिक्षा, ज्ञानगुनका कुरालगायत मनोरञ्जन पनि उत्तिकै भएका कारण यो फिल्म निकै मन परेका बताउँछन् उनी। हिन्दी ‘मुन्नाभाइ’, ‘मुन्नाभाइ एमबीबीएस’, ‘सञ्जु’, ‘ट्याक्सी नं. ९२११’ र नेपालीमा ‘टलकजंग भर्सेज टुल्के’, ‘पशुपतिप्रसाद’, ‘लुट’, ‘छक्कापञ्जा ३’, ‘वडा नं. ६’ आदि फिल्म हेर्न उनको सुझाव छ।

कलाकार तथा सञ्चारकर्मी डिनेश डीसी भन्छन्, ‘मनोरञ्जनका लागि त जहिले पनि हेर्न सकिन्छ। तर, यो बेलामा केही शिक्षा र ज्ञान दिने फिल्म हेर्दा राम्रो होला।’ नेपाली परिवेश समेटिएको महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’, ‘गोपी’, ‘सीमारेखा’, ‘दक्षिणा’ अंग्रेजीमा ‘फोरेस्ट गम्प’, ‘रेन म्यान’ त्यस्तै, हिन्दीमा ‘पार’, ‘मिर्च मसला’, ‘निशब्द’ लगायत फिल्म हेर्न सुझाउँछन् उनी।

लकडाउनका बेलामा लेखक तथा साहित्यकार अमर न्यौपाने छरपस्ट रहेको पुस्तक तथा सरसामान मिलाउनमा व्यस्त छन्। उनलाई अहिले फिल्म हेर्ने मौका त मिलेको छैन तर सबै सामानको व्यवस्थापन गरिसकेपछि भने आफूलाई मनपर्ने फिल्म हेर्ने विचारमा छन्। किताबकै बारेमा बनेका र इरानी फिल्म बढी मनपर्ने बताउँछन्। उनी। भन्छन्, ‘मलाई इरानी मूलका फिल्म र कुनै पुस्तकका बारेमा बनेका फिल्म बढी मन पर्छन्। फुर्सद हुनेबित्तिकै ती फिल्म हेर्ने विचारमा छु।’ आफूले नहेरे पनि लकडाउनको बेलामा फुर्सदमा हुनेहरूलाई ‘ब्ल्याक बोर्ड’, ‘दी रिडर’, ‘दी बुक थिफ’, ‘दी सङ अफ स्प्यारो’, ‘बरन’, ‘ह्वाइट बेलुन’, ‘कलर अफ प्याराडाइज’, ‘पुष्पक’ आदि फिल्म हेर्न उनको सुझाव छ।

गायिका तथा समाजसेवी आनीछोइङ डोल्माको भने छुट्टै जीवनशैली छ। उनी अहिले फिल्मभन्दा पनि ध्यान, जप, पाठमा व्यस्त छिन्। ‘अहिले विश्व नै त्रासमा भएको बेला हामीले सकारात्मक सोच राख्नुपर्छ र आफूलाई बलियो बनाउनुपर्छ, आनी भन्छिन् ‘यसका लागि हामीले जप, ध्यान, पाठ, योग गर्नु आवश्यक छ।’

यी काम गर्दा गर्दै मनोरञ्जन र शिक्षा दिने खालका फिल्म हेर्दा फरक नपर्ने बताउँछिन् आनी। नेपाली फिल्म ‘जात्रा’, ‘कालोपोथी’, ‘सेतो सूर्य’, ‘कुसुमे रुमाल’, लगायत र हिन्दीमा ‘सुपर ३०’, अंग्रेजीमा ‘फ्रिडम राइटर’, ‘इन्सेक्सन’ जस्ता फिल्म हेर्न उनको आग्रह छ।

गीतकार प्राडा कृष्णहरि बराल लकडाउनमा गीत गजल कोर्दै घरमा परिवारसँग दिन बिताइरहेका छन्। उनले पनि यस्तो सुनसान अवस्थामा घरपरिवारसँग बसेर आफूलाई मनपर्ने नेपाली फिल्म ‘रिदम’, ‘प्रेमगीत’ अनि हिन्दीमा ‘नायक’ हेर्न सुझाव दिए।

लेखक तथा सञ्चारकर्मी नवीन विभास छोरा १ कक्षामा पढ्ने भएकाले उसँग बालकेन्द्रित फिल्म खोजी खोजी हेरिरहेको बताए। उनी भन्छन्, ‘ म्याक्सिम गोर्कीको भान्का शीर्षकको प्रसिद्ध कथाबारे बनेको फिल्म हेर्दा छोरा निकै जिज्ञासु भयो। फिल्मबाट पनि बच्चाहरूले धेरै शिक्षा लिन सक्छन्। तर हामीले छनोट गर्न जान्नु पर्‍यो।’ उनले छनोटका लागि फिल्मकर्मीहरूसँग सल्लाह लिइरहेको जनाए।

दिनमा चारवटासम्म फिल्म हेर्छिन् नायिका दीपिका प्रसाईं र उनका श्रीमान् दिवाकर भट्टराई। दीपिका भन्छिन्, ‘सेड्युल बनाएर नै हामी फिल्म हेरिरहेका छौं। दिनमा चारवटासम्म फिल्म हेर्ने गरिएको छ।’

सबै फिल्म युट्युबमा उपलब्ध छैनन्। युट्युबमा उपलब्ध जात्रा, सेतो सूर्य, नुमाफुङ, साँघुरो, सुनगाभा, उमा, गोपी, पशुपतिप्रसाद, वासुदेव, कबड्डी, टलकजंग भर्सेज टुल्के र लुट हेर्न सञ्चारकर्मी प्रभाकर गौतम सिफारिस गर्छन्।

साभार : अन्नपूर्ण पोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds