७ कार्तिक २०७८, आइतवार
(नेपाली समय)
७ कार्तिक २०७८, आइतवार
नेपाली समय

लकडाउनमै आकाशियो उपभोग्य वस्तुको मूल्य

धनगढी : लकडाउनको फाइदा उठाउँदै दैनिक उपभोग्य वस्तुको मुल्यमा वृद्धि भएको गुनासो आउन थालेको छ । सम्बन्धित निकायले यसलाई गम्भीरताका साथ नलाग्दा उपभोक्ता मारमा परेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको कालोबजारी तथा महंगी नियन्त्रणका साथै आपूर्ति व्यवस्थापन लगायतको जिम्मेवारी रहेपनि वेवास्ता गरेको देखिएको छ । प्रदेश सरकारले बजार अनुगमनका लागि निर्देशिका र संरचना तयार गरेको छ, तर बजार अनुगमन भने प्रभावकारी हुनसकेको छैन ।

कतिपय व्यापारीले टेलिफोन रिचार्जमा समेत बढी मुल्य लिने गरेको जनगुनासो छ । प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तीन महिनाअघि तयार गरेको प्रदेशस्तरिय संयुक्त बजार अनुगमन निर्देशिका अनुसार उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशकको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ । 

जिल्लामा घरेलु तथा साना उद्योग कार्यालय प्रमुखको संयोजकत्वमा समिति गठन हुने व्यवस्था गरिएको छ ।
निर्देशनालयका निर्देशिक विनोद मालीले लकडाउनका कारण बजार अनुगमन गर्न नसकिएको बताए । ‘निर्देशिका र संरचना तयार गरी मन्त्रालयमा दुई पटक बैठक बसेको छ भने निर्देशनालयमा समेत एक पटक बैठक भइसकेको छ । तर, बजार अनुगमन भने गर्न सकिएको छैन ।

उनले कतैबाट उजुरी आए तत्काल बजार अनुगमन गरिने बताए । निर्देशकमा प्रदेश सरकारले बजार अनुगमन गर्ने अधिकार पाए पनि दण्ड जरिवाना गर्ने अधिकार भने नभएको उनले जानकारी दिए ।

उपभोक्ता हकहित संरक्षण समितिका कैलाली अध्यक्ष हरि रेग्मीले बजारमा हुने कालोबजारी तथा महंगी नियन्त्रणमा प्रदेश सरकारको खासै भूमिका नदेखिएको बताए । ‘प्रदेश सरकारसँग बजार अनुगमन गर्ने, कालोबजारी तथा महँगी नियन्त्रण गर्ने र अत्यावश्यक वस्तुको अभाव हुन नदिने लगायतको जिम्मेवारी छ,’ अध्यक्ष रेग्मीले भने । तर, प्रदेश सरकारले जिम्मेवारी अनुसारको काम गर्न सकेको छैन ।

संघीय सरकार मातहतको बाणिज्य, आपूर्ति तथा उपभोक्ता कार्यालय पनि धनगढी उपमहानगरपालिका बाहेक अन्य स्थानीय तहमा बजार अनुगमन गर्न सकेको छैन ।  कैलालीमा तरकारी र फलफूलका साथै चामल, तेल, चिनी, नुनलगायतका दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भएको व्यापारी सह रनिङले बताए । 

पहिलेको भन्दा ढुवानीमा बढी मुल्य तिर्नु परेपछि सामानको मुल्य बढेको उनले बताए।कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेयता संयुक्त बजार अनुगमन समितिले कैलालीका ५ जना व्यवसायीलाई जरिवाना सहित कारबाही गरेको हो ।

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कमल बहादुर पुनमगरले लकडाउनका बेला कालोबजारी गर्ने पाँच जना व्यवसायीलाई पाच लाख ६० हजार रुपैयाँ जरिवाना गरिएको बताए । धनगढीको द ग्लोबल सर्जिकल हाउसलाई पीपीई र मास्कमा कालोबजारीको गरेको पाइएकोले दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।

त्यस्तै, शुभारम्भ फार्मेसी, शैलैश्वरी आयुर्वेदिक हल र आरबी पूजा स्टोरलाई मास्कमा कालोबजारी गरेकोले जनही २० हजार रुपैया जरिवाना गरिएको कार्यालयले जनाएको छ । बजार अनुगमन टोलीले अनुगमनका क्रममा पीपीईमा ४४ प्रतिशत र मास्कमा ६० प्रतिशत बढि मूल्य वृद्धी गरेको भेटिएकाले तत्काल जरिवाना गरिएको जनाएको छ ।

त्यस्तै, धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मटियारीस्थित शुभ समैजी ग्यास सप्लायर्सले लकडाउनका बेला बढी मुल्यमा ग्यास बिक्री गरेको पाइएकोले तीन लाख रुपैयाँ जरिवाना गरिएको हो ।

साभार : अन्नपूर्ण पोष्ट अनलाइन