२२ श्रावन २०७९, आइतवार
(नेपाली समय)
२२ श्रावन २०७९, आइतवार
नेपाली समय

लकडाउन : कुखुरा र अण्डा बिक्नै मुस्किल

नवीनराज कुइँकेल

बेंसीसहर : कोराना भाइरस संक्रमण जोखिमका कारण देशभर लकडाउन भएसँगै ब्रोइलर कुखुराको मासु र अण्डाले बजार नपाउँदा लमजुङका किसान विचल्लीमा परेका छन् । किराना पसल तथा फ्रेस हाउस बन्द हुँदा किसानले उत्पादन गरेका कुखुरा र अण्डा खोरमै थन्किएका छन् ।

लमजुङमा दैनिक ३० हजारको संख्यामा कुखुराको अण्डा उत्पादन हुँदै आएको छ । तर बजारमा बिक्री नभएपछि सोहि अनुपातमा नोक्सानी व्यहोर्नुपरेको अण्डा उत्पादक संघ लमजुङका अध्यक्ष ज्ञानेन्द्र बोहोराले बताए । ‘अण्डा तीन हप्ताभन्दा बढी समय मौजात राख्न सकिन्न,’ बोहोराले भने, ‘अहिले बजार नै छैन, सबै गोदाममै थन्किएको छ।’
 
लकडाउनका कारण कुखुराको अण्डा खपत हुने पसल तथा होटल बन्द छन् भने उपभोक्ता घटेका छन् । कुखुरा र अण्डा बिक्री नहुँदा आम्दानी नहुने र उधारोमा दाना पाउन पनि मुस्किल हुँदा किसान समस्यामा परेका छन् । मस्र्याङ्दी कृषि फार्मका प्रोपाइटर सुदीप अधिकारीलले जिउँदो ब्रोइलर प्रतिकेजी १ सय ५० मा पनि बिक्री हुन नसकेको बताए । ‘लकडाउनले ४/५ लाख रुपैयाँ घाटा लाग्यो,’ उनले भने, ‘पीडित किसानका लागि सरकारले राहत प्याकेज ल्याउनुपर्छ ।’

जिल्लामा दैनिक डेढसय पेटी अण्डा बिक्री हुँदै आएकोमा अहिले १० प्रतिशत पनि विक्री हुन नसकेको व्यवसायी बताउँछन् । प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले कुखुरा, अण्डा र दाना ओसारपसारमा छुट दिएपनि उपभोक्ता घटका कारण समस्या भएको बताए ।’कुखुरा, अण्डा, दाना, तरकारी, दुधजस्ता कृषि उत्पादन ओसारपसारलाई छुट दिएका छौं, प्रजिअ खड्काले भने, ‘उपभोक्ता नै कम भएका छन, बिक्रीमा समस्या हुने नै भयो।’

साभार : अन्नपूर्ण पोष्ट अनलाइन