२२ श्रावन २०७९, आइतवार
(नेपाली समय)
२२ श्रावन २०७९, आइतवार
नेपाली समय

वचतमा शून्य थप्ने चाहना मै बितेका जीवनहरू

वचतमा शून्य थप्ने चाहना मै बितेका जीवनहरू
– वसन्तराज कुँवर
बेलायतमा नेपाली समाजलाई ड्रग्सविरुद्घको सचेतना कार्यक्रम दिन जाँदा त्यस हलको सोफामा चार जना वृद्घ बेलायती सैनिकहरू आपसमा छलफल गर्दै थिए । म झर्रो नेपाली पोशाकमा थिएँ । त्यसमध्ये एक नेपालको बिट्रिस क्याम्पमा बसिसकेका पूर्वसैनिक रहेछन् । हाम्रो कुराकानी भयो । उनीहरूले थाहा पाए म नेपालबाट ड्रग्स एजुकेसन दिन त्यहाँ आएको छु । मेरो कुरा थाहा पाएपछि उनीहरूले भने– के हामीहरू तपाईको देशमा ड्रग्स रोक्न केही कुरामा मद्दत गर्न सक्छौँ ? म वृद्घ सैनिक, भेट्रानहरूका कुरा सुनेर दङ्ग परेँ । त्यो उमेरमा पनि उनीहरू आफू र आफ्ना परिवारका कुरा गर्दै थिएनन् वल्की नेपालका बारेमा सोचिरहेका थिए । तिनले मलाई ड्रग्स एजुकेसनका लागि तल्कालै नेपाली दश लाखबराबर चन्दा दिने प्रस्ताव राखे । मैले आफ्नो देशबाट स्वीकृत नलिई यो रकम लिन नसक्ने बताएँ । उनीहरू मैले दिएको प्रशिक्षणमा पनि बसे । यो घटना मैले धेरै पटक धेरै ठाउँमा सुनाएको र लेखेको छु । यसबाट हामी र विकसित देशका मान्छेहरूबीच केही भिन्नता देख्न सक्छौँ । हामीहरू जति धनी भए पनि, जति सम्पन्न भए पनि, जति आर्थिकरूपले सुरक्षित भए पनि केबल आफू र आफ्ना परिवारका बाहेक अरूका हितका बारेमा विरलै सोच्दा रहेछौँ । धन सम्पतिकै कुरा गर्ने हो भने विकसित देशमा हरेकको बस्ने घरमा बैंकको पैसा परेको छ, बैंक ब्यालेन्स हेरे पनि खासै छैन, जमिन बेच्ने भन्ने पनि छैन तर पनि उनीहरूले पाउने थोरै रकम बचत गरी आफ्नो देशका लागि मात्र होइन चिन्दै नचिनेको विदेशीका लागि पनि मद्दत गर्न तम्सिन्छन् । त्यही बुढा सैनिकहरूकै कुरा गरौँ । उनीहरू लण्डनमा बस्दछन्, फेरि नेपालका कुनै कुनामा बस्ने नेपालीको बच्चाले ड्रग्स खाएको कुरामा तिनलाई चिन्ता र चासो लिनुपर्ने के नै कारण थियो र ? के हाम्रो देशमा बस्ने कुनै नागरिकले बेलायतमा बस्ने कुनै बालक ड्रग्समा पर्लाकी भन्ने चिन्ता जाहेर गर्छन् त ? साधारणतया गर्दैन ? यही फरक रहेछ विकसित र अविकसित देशका नागरिकबीच । 
कतिपए नबुझ्ने मानिसहरूले भन्ने गर्छन् की बेलायत र अमेरिकाको कुरै नगरौँ उनीहरू धनी छन् । तर मैले त्यहाँ खुब नियालेर हेरेँ उनीहरू हामीभन्दा कष्टकर जीवन बिताइरहेका छन् । त्यहाँ काम नगरी बस्ने कोठासमेत पाइँदैन । कमाएको मध्ये तेंत्तिस प्रतिशत कर लाग्दछ । गाडीदेखि घरसम्म किनेको बैंकमा किस्ता तिर्दातिर्दै जीवन जान्छ । बेलायतमा त एक जनाले मात्र काम गरेर घर नै चलाउन नसकिने रहेछ । आफै नपकाए भोकै परिन्छ ।
सहयोगी राख्ने कसैको ताकत छैन । अभावमा अधिकांशको जीवन बित्छ । तर नेपालमा पैतृक सम्पति छ । आफूले बेच्न सक्ने, खरिद गर्न सकिने जमिन छ । बैंकलाई महिनावारी बुझाउनु नपर्ने आफ्नै घर छ । फेरि त्यहाँ आर्थिकरूपले कठिनाइमा जीवन बिताइरहेका नागरिक अरूलाई मद्दत गर्न तम्सने तर हाम्रो देशमा सक्नेले पनि यसतर्फ बिलकुलै रुची र इच्छा नराख्ने कारण के होला त रु यो कुरालाई विश्लेषण गर्दा म के पाउँछु भने हाम्रो र उनीहरूको जीवन बाँच्ने दृष्टिकोणमा फरक रहेछ । कुनै देशका नागरिकहरू आफूसँगै संसारका अरू मान्छेहरू पनि बाँच्ने कुरामा सरोकार राख्दा रहेछन् भने कुनै केबल सानो परिधीबीच आफू–आफू र आफ्नो परिवारलाई मात्र बचाउने लक्ष्य राख्दा रहेछन् । नेपालमा अधिकांश हामीजस्ता मानिसले गरीब भएर अरूका लागि नसोचेका होइनौँ रहेछ । यसको कारण रहेछ आफु बाँचे पुग्छ र मेरो जन्म त म तथा मेरा परिवारको सुख समृद्घि र सुरक्षाकै लागि मात्र हो भन्ने हाम्रो बुझाइरहेछ । लगभग हामी जनावरकै तहमा रहेछौँ कि क्या हो भन्ने पनि आजकल मलाई लाग्न थालेको छ । जसरी बच्चा पाउन र आफ्ना बच्चाको लालनपालनसम्म त तिनले पनि गरेका छन् । त्यसभन्दा माथि हामीले कति ग¥यौँ त ? वास्तवमा भन्ने हो भने मानिस र जनावरको जीवनमा भिन्नता यसैबाट देखिँदो रहेछ ।
म बेलायतबाट नेपाल फर्किएँ तर ती वृद्घ सैनिकहरूले मेरो दृष्टिकोणमा निक्कै परिवर्तन ल्याइदिए । ती वृद्घ यस्तो उमेरमा थिए कि कुनै पनि बेला प्राकृतिक नियम मुताविक उनीहरूले देहत्याग गर्न सक्तथे । अहिलेसम्म ती चारमध्ये कुनैले संसार छाडिसकेको पनि हुन सक्छ । त्यस्तो उमेरमा पनि उनीहरूले आफ्नो स्वास्थ्यको कुरा गरेनन्, आफ्नो खेत र नाति–नातिनाको कुरा गरेनन् वल्की कुरा गरे अर्को मुलुकको बच्चाहरूलाई ड्रग्सबाट जोगाउने । 
नेपाल आएर पूर्वप्रहरी संगठनमा मैले यो घटना सुनाएँ । मैले भनेँ हामीले जागिर खायौँ, बच्चा जन्मायौँ, तिनलाई हुर्कायौँ, बडायौँ, विवाह आदि ग¥यौँ, अब हाम्रो जीवनको धेरै समय परिवारका लागि बितिसक्यो, थोरै समय यसबाट मुक्त बनौँ । केबल दुईवटा गाई, भैँसी, बाख्रा, कुन्यू वा लालपूर्जाको बिच रुमल्लिएर जीवन खत्तम नगरौँ । हामीहरू पनि बालबच्चालाई भनौँ अब मलाई केही समय आफ्नै लागि बाच्न देऊ । म बन्धनमुक्त भएर केही पल बिताउन चाहन्छु, केही पल देश हेर्न चाहन्छु, केही पल परिवारबाहेक अरूको पनि भलाई गर्न चाहन्छु । म स्वतन्त्र भएर बाँकी जीवन उड्न चाहन्छु । भनौँ न साथी हो । जब–जब जिल्ला–जिल्लामा म यो कुरा भन्दथेँ तब–तब प्रत्येक पूर्वप्रहरी साथीहरूको अनुहारमा उज्यालो छाउँदथ्यो । एकछिन उनीहरू नयाँ दुनियाँमा पुगेको महसुस गर्दथे । तर जब उनीहरू त्यो हलबाट बाहिरिन्थे तब फेरि सुरु हुन्थ्यो उही सनातन सोचाई, म कहाँ स्वतन्त्र छु र ? मेरो जमिन कसैले मिची दिन सक्छन्, मेरो नाति बिरामी छ, रातमा फलफूल चोरी हुन सक्छ, घर सानो भयो एउटा कोठा थप्नुछ, नातिको स्कूलको बिल आएको छ । कान्छी छोरी सुत्केरी बस्न माइत आउँदैछिन्, उनलाई चाहिने सामान जोड्नु छ । बाख्रालाई पानी दिए कि दिएनन् होला ? बिहानै उठेर खेतमा कुलो लगाउनुछ, मल किन्न बजार जानु छ, जाडो बढेको छ, सिरकमा कपास थपेर अलि बाक्लो बनाउनु छ । दुई वटा कोठाका बत्ती जलेका छन् तिनको चिम फेर्नु छ । यी र यस्ता बोझहरू सोचका रूपमा आउने बित्तिकै ती अघि भरखरै उज्याला भएका साथीभाइका चेहेरा क्रमशः मलिन र अँध्यारो हुँदै गएको देखिन्थ्यो । प्रत्येक पाइलासँगै उनीहरू नयाँ–नयाँ समस्यामा अल्झेका देखिन्थे । गन्तव्यमा पुग्न बस छुट्ला भन्ने पनि चिन्ता छ । उनीहरू हतार हतार लम्कन्छन् र प्रत्येक लम्काइसँगै बिर्सिन्छन् कि म मेरा लागि भन्दा बाहिरका जीवनका बारेमा पनि सोच्न सक्छु भनेर ।
माथि मैले वर्णन गरेँ गाउँका नेपाली दाजुभाइका धारणा । अब जाउँ सहर र समुन्नत परिवारतिर । हामी जस्ता सहरमा बस्ने सबैको होड बैंकको खातामा अरू (०) शून्यहरू थप्नुछ । पदमा माथि पुग्नुछ । शक्तिमा माथि पुग्नुछ । आफ्ना सन्तानहरूलाई विदेश पठाउने मात्र होइन विदेशमा पनि सम्पन्न बनाउनु छ । हामीहरू केबल आफू आफ्ना गुट, आफ्ना पार्टी र आफ्ना समूहबीच स्वार्थको सम्बन्ध बाँचिरहेका छौँ । सहरमा मानिसहरू मनग्यै धनी पनि छौँ तर हामीहरू अरूसँग कुरा गर्दा बेलायतमा बुढाले झै अरूको भलाइका बारेमा कुरा गर्दैनौँ । बरु भन्छौँ अलि अलि पैसा आउने काम खोजन । पैसा, शक्ति र पद आउने काम खोज्दाखोज्दै हामीहरूको पनि जीवन सकिँदोरहेछ । बैंक खातामा (०) शून्य थप्ने चाहना र प्रयासमै जीवन समाप्त हुँदोरहेछ सहरका मानिसहरूको पनि । ती बेलायती बुढाको र हामी नेपालीबीच धनी–गरीब, सम्पन्नता र विपन्नताका कारणले भन्दा पनि जीवन बाँच्ने दृष्टिकोणमा फरक रहेछ । हामीलाई यही सिकाइएको, यही पढाइएको रहेछ कि ‘आफू र आफ्ना परिवारका लागि बाँच’ । उनीहरूले अलि फरक सिकेछन् ।

साभारः नव जनप्रहार