२१ असार २०७९, मंगलवार
(नेपाली समय)
२१ असार २०७९, मंगलवार
नेपाली समय

‘वार्षिक परीक्षाको नतिजा निकालौं, एसईई सधैंका लागि हटाऔं’

‘लकडाउन झेलिरहेका विद्यार्थीमा भयको वातावरण सिर्जना नगरौं’

कोभिड-१९ (कोरोना भाइरस) महामारी रोकथाम तथा नियन्त्रणका लागि लकडाउनमा बसेको तीन हप्ता पूरा भइसकेको छ । यो लकडाउन कति लम्बिन्छ, अझै थाहा छैन ।

लकडाउनले विभिन्न समस्या ल्याएका छन् । यो सँगै केही अवसर पनि छ । शिक्षाको सन्दर्भमा भन्नु पर्दा यो बिदा मनाएर बस्ने बेला होइन ।

जस्तो- कक्षा १ देखि ९ सम्म परीक्षा भइसकेको छ, अब नतिजा निकाल्दा हुन्छ । विद्यालयमा एक-एक जना शिक्षक आएर पनि नतिजा सार्वजनिक गर्न सकिन्छ । विद्यालयमा भिड जम्मा गरेरै नतिजा निकाल्नुपर्छ भन्ने होइन । अहिलेको परिस्थितिले पनि दिँदैन ।

नतिजा नआउँदा विद्यार्थीहरू उकुस-मुकुसमा छन् । नतिजाले उनीहरूलाई खुशी दिन्छ । यस्तो अवस्थामा एसईई र कक्षा ११ को परीक्षा नलिए पनि हुन्छ । म त भन्छु- अहिले मात्रै होइन, एसईई सधैंका लागि हटाए पनि हुन्छ ।

‘बी’ प्लस आएपछि विद्यार्थीले अर्को कक्षामा पढ्न पाउँछन् । त्यही ‘बी’ प्लसका लागि यति मरिहत्ते गरेर परीक्षा किन लिनुपर्‍यो ।

कक्षा ११ को परीक्षाको कुनै कानुनी आधार छैन । लिए पनि त्यो विद्यालयले आन्तरिक परीक्षाका रुपमा लिनुपर्ने हो । तर, त्यो परीक्षामा पनि राष्ट्रिय परीक्षा बोर्डले नै लिइरहेको छ ।

ए लेभल (बेलायत), आइभी (सिंगापुर) लेभल भनेको १२ कक्षा सरह हो । कोरोनाका कारणले आगामी  मे-जूनमा हुने त्यो परीक्षा पनि उनीहरूले नलिने घोषणा गरिसकेका छन् ।

फस्टदेखि थर्ड टर्मसम्मको अंकको आधारमा ग्रेडिङ गरेर अर्को कक्षामा पढ्न पाउने व्यवस्था गरौं । ए बाबा, तीन घण्टाको परीक्षाले विद्यार्थीको भाग्य निर्धाण गर्ने हो र ?

तीन घण्टामा के लेख्यो भन्ने कुरा भन्दा त उसले वर्षभरिका के-के सिक्यो भन्ने कुरा महत्वपूर्ण होइन र ?

त्यसकारण परीक्षालाई अनावश्यक हौवा नबनाऔं । लकडाउन झेलिरहेका विद्यार्थीमा भयको वातावरण सिर्जना नगरौं ।

अहिलेको कानून अनुसार कक्षा १२ सम्म विद्यालय तह नै हो । विद्यालय तहको शैक्षिक सत्र हुने समय दुईवटा छन् । कक्षा ९ सम्म बैशाख र ११ र १२ को साउनमा सुरु हुन्छ । यो त वैज्ञानिक भएन नि ।

लकडाउनले दिएको शैक्षिक सुधारको अवसर

लकडाउनले यो गल्ती सच्याउने अवसर दिएको छ । अबदेखि कक्षा १-१० लाई पनि साउनमै सुरु गरौं ।

साउनसम्म के गर्ने त भन्ने प्रश्न आउन सक्छ । सामुदायिक विद्यालयका धेरै विद्यार्थी अंग्रेजी र गणितमा कमजोर छन् । साउनसम्मको अवधिमा उनीहरूलाई भाषा र गणितको सीप विकास गराऔं ।

केहीले भर्चुअल कक्षा सुरु गरेका छन् । साउनसम्म त्यसैमा केन्दि्रत गरौं । त्यसका लागि अनलाइन, रेडियो, टेलिभिजन, टेलिफोनको प्रयोग गरेर विद्यार्थीलाई व्यस्त बनाउने काम गरौं ।

यस्तो दुरशिक्षा सुरु गर्नुभन्दा पहिला वडा मार्फत टेक्नोलोजी अडिट गरौं । क-कसको घरमा इन्टरनेट वा रेडियो छ, तथ्यांक संकलन गरौं । र, त्यही अनुसार योजना बनाएर पढाऔं । यो छुट्टी मनाएर बस्ने बेला होइन । लकडाउनलाई अवसरका रुपमा लिँदै नयाँ-नयाँ सिर्जना गर्ने बेला हो ।

१५ बैशाखसम्म लकडाउन भनिएको छ । १६ बैशाखदेखि लकडाउन खुले पनि कसैले आफ्ना छोराछोरी विद्यालय पठाउने हिम्मत गर्न सक्दैनन् । कोरोना त्रास नसकी विद्यार्थी विद्यालयमा फर्केलान् जस्तो लाग्दैन । त्यसकारण हामी प्रविधिमा नगई सुखै छैन ।

जे-जे सुविधा सम्भव छ, त्यसैअनुसार पढाऔं । किनभने, कोरोना प्रभाव कहिलेसम्म रहन्छ, कसैलाई थाहा छैन ।

लकडाउनले हामीलाई अर्को पनि अवसर दिएको छ, त्यो हो- होम स्कुलिङ । समूहमा आफ्ना बच्चा पठाउने आँट गर्न नसकेका बेलामा अमेरिका, अष्टेलियामा जस्तै घरमै पढाऔं ।

उदाहरणका लागि म रिटार्यड छु । आफ्ना नातिहरूलाई आफंै पढाउँछु । सबैका घरमा यो सम्भव छैन । तर, सम्भव हुने जतिका घरमा गरांै ।

पाठ्यक्रम र परीक्षाको व्यवस्था स्थानीय सरकारले गरुन् । कक्षा १२ मा  पुगेर मात्रै परीक्षा लिँदा पनि हुन्छ ।

परिस्थिति अनुसार पढाइ हुने पाठ्यक्रम तयार पारौं । ‘फेनोमेनोलजिकल लर्निङ’ मा जाने हो भने विद्यार्थीले छिटो पनि सिक्छन् । त्यही विधि अपनाएको फिनल्याण्डको एजुकेसन संसारमै उत्कृष्टभित्र परेको छ ।

(कुराकानीमा आधारित)

साभार : अनलाइनखबर अनलाइन