२२ श्रावन २०७९, आइतवार
(नेपाली समय)
२२ श्रावन २०७९, आइतवार
नेपाली समय

वितरणमै विभेद : राहत लिन गएकाहरु प्रहरीबाट कुटिए

कालिकोट : जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका ६ लुवारवाडाका जले लुवारले गाउँपालिकाले लकडाउनको बेला विपन्न परिवारलाई चामल बाँड्दैछन भन्ने सूचना पाए । दैनिक रुपमा छाक टार्नकै लागि अर्कोको भारी बोक्नु पर्ने परिवारका लुवारलाई गाउँपालिकाले चामल दिने भनेपछि एक महिना त आनन्दले बसिएला भनेर उत्साहित भए ।

हतार हतार गाउँपालिका पुगे। बाँड्ने सुरसार हुँदै थियो । पालिकामा रहेको प्रहरी चौकीका प्रहरीको साथमा वडा अध्यक्ष रंगराज सार्की चामल बाँड्दै थिए । गाउँका केही मान्छेले चामल पाए । उनले पाएनन् । उनले मलाई पनि चामल दिनुहोस् भने।जवाफमा वडाध्यक्षले  तपाई पाउनु हुन्न भनि दिए। उनले हामीले किन नपाउने भनेर सोधे। अरु चामल नपाएका साथीहरुले पनि भेला भए । वडा अध्यक्षले भेला भएका सबैलाई हटाउन भनेपछि प्रहरीले लाठ्ठी हान्यो । मैले प्रहरीका तीन चोट खाएँ, उनले भने, ‘हामीले चामल माग्दा किन लठ्ठी हानियो । आफ्ना मान्छेको लिस्ट बनाएर चामल बाँडियो । आफूलाई मत दिनेलाई मात्र चामल बाँडियो । सरकारले नै अन्याय गर्‍यो ।’ 

लुवार भने, ‘चामल लिन गएको मान्छे लठ्ठी खाएर घर फर्किए । सातजनाको परिवार कसरी पाल्नु। अर्कोको भारी बोकेर योजनाका भारी बोकेर र योजनामा ज्यालादारी काम गरेर परिवार पाल्दै आएको छु ।’

लकडाउनले सबै कामहरु ठप्प छन् । मैले कहाँ गएर कमाएर ल्याएर परिवारको छार्न टार्ने हो । अब बालबच्चा भोकै रहने भए । यस्तै सान्नीत्रिवेणी गाँउपालिका वडा नं. ६ कै जयमल सुनार र धर्म लुवारको पनी पीडा उस्तै थियो । 

गाउँपालिकाले चामल दिने भनेपछि हामी लकडाउनका बेला पालिकामा आएका थियौँ । गरिबलाई राहत दिने भनेपछि हामी पनि पाउला भनी आएको हौँ । एक महिना पनि खान पुग्ने उत्पादन हुने जग्गा जमीन छैन् । काम गरेर छाक टार्दै आएका छौँ । लकडाउनको बेला काम बन्द भएपछि पालिकाको शरणमा आएका थियौँ तर चामलको साटो पुलिसको लठ्ठी पाएर फर्कियौँ । 

यस्तै सान्नीत्रिवेणी गाउँपालिका ६ बाहुनबाडाका कमलराज संज्यालले अनुहार हेरेर राहत दिएको आरोप लगाए । उनले भने,’ जनप्रतिनिधिले सरकारको राहतलाई विभेद गरी बाँडे । आफूहरुलाई भोट दिने मान्छेको लिष्ट बनाएर चामल बाँडियो । हामीलाई चामल माग्दा लठ्ठी हानियो । हामीले चामल मागेका हौँ । लठ्ठी खान गाउँपालिकामा आएका होइनौँ ।’

यस्तै स्थानीय १८ जनाको परिवार रहेको नीलि संज्यालको पीडा पनि उस्तै छ । पालिकाको राहत पाउनेको लिष्टमा उनको परिवार परेन् । तर तीन महिना खान नपुग्ने दैनिक मजदुरी गरेर खाने उनको परिवार पनि अहिले संकटमा छ । उनले भनिन्, ‘हामीलाई रोक भन्दा बढी भोकको चिन्ता छ । भगवानको भरोसामा परिवार छन् । स्थानीय पार्वती सिंहले भनिन्, ,’ वडा अध्यक्ष रंगराज सार्कीले आफ्नो आफ्ना मान्छेलाई चामल बाँडेर भागे । गाउँका विपन्न परिवारभन्दा अनुहार हेरेर राहत बाँडियो।’
 
सान्नीत्रिवेणी गाउँपालिकास्थित प्रहरी चौकी इन्चार्ज असई नरबहादुर केसीले चामल वितरण गर्ने ठाउँमा होहल्ला गर्नेलाई सामान्य धकेलपकेल गरेको बताए । उनले भने, ‘वडा अध्यक्षसहितको टोलीले चामल बाँडिरहेका थिए । केही मान्छेहरु हल्ला गर्न थाले । उनीहरुलाई भगाएको हो । वडा अध्यक्षले चामल तानातान गरेर स्थानीयले चामलको बोरा नै हरायो भन्दै हुनुहुन्थ्यो । उहाँलाई चौकीमा आउनुस भनेको सम्पर्कमा आउनुभएको छैन् ।’

यता गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाही र वडा अध्यक्ष रंगराज सार्कीलाई सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहनु भएन् । स्थानीय नागरिकले सरकारले नै राहत बाँड्दा विभेद गरेको भन्दे विरोध जनाएका छन्। 

साभार : अन्नपूर्ण पोष्ट अनलाइन