जेष्ठ २९,
अकाश राजभण्डारी
भोलेन्टियर समूह वीरगञ्जद्वारा आयोजित आकस्मिक रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रमा रगतको आभाव सृजना भएपछि भोलेन्टियर समूहले सोमबार आयोजना गरेको आकस्मिक रक्दान कार्यक्रममा ६ महिलासहित ३० जनाले रक्तदान गरेको समूहका संयोजक राजन श्रीवास्तवले जानकारी दिए ।
मधूशाला फेमिली रेस्टुराँमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले रक्तदान महादान भएको जिकिर गर्दै उमेर र योग्य सबैले रक्तदान गर्नुपर्ने बताए । रक्तसञ्चार केन्द्र वीरगञ्जले पर्सा मात्र नभइ छिमेकी जिल्लासहित भारतसमेतका विरामीलाई रगत उपलब्ध गराइरहेको उल्लेख गर्दै मेयर सिंहले केन्द्रको भण्डारण क्षमता बढाउनु पर्ने बताए । उनले यसका लागि महानगर समन्वय गर्न तयार गरेको बताए ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि ब्लड डोनर्स एसोसीएसन पर्साका अध्यक्ष एवम् वरिष्ठ सञ्चारकर्मी सत्रुधन नेपालले जेष्ठ ३१ गते विश्व रक्तदाता दिवसको अवसरमा संस्थाले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागिता जनाउन आग्रह गरे ।
उनले दिवसको अवसरमा् २०७९ वैशाखदेखि चैतसम्म सय पिन्टभन्दा बढी रक्तदान गर्ने सङ्घसंस्था, वर्षमा दुई वा सोभन्दा बढी पटक रक्तदान कार्यक्रम गर्ने सङ्घसंस्था, वर्षमा चारपटक रक्तदान गर्ने व्यक्ति, आकस्मिक रक्तदाता, आकस्मिक दुर्लभ रक्तदाता, रक्तदान कार्यक्रमका सहयोगीहरूलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
समूहका संयोजक श्रीवास्तवको सभापतित्वमा भएको कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष प्रदीप चौरसिया, मेयर सिंहका प्रेस सल्लाहकार महेश दास, ब्लड डोनर्स एसोसीएसनका सचिव अरविन्द सिंह, अभिभावक सङ्घ पर्साका अध्यक्ष सन्दीप साह, वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, युवा अभियन्ता रवी यादव, भोलेन्टियर समूहका श्याम सर्राफ, किसु सर्राफ, बिक्की सर्राफ, सौर्या सर्राफ, राधेश्याम गुप्ता, कमलेश कुशवा उपस्थिति रहेको थियो ।
।