२१ असार २०७९, मंगलवार
(नेपाली समय)
२१ असार २०७९, मंगलवार
नेपाली समय

वैदेशिक रोजगारमा रहेका, शिक्षक, कर्मचारी र व्यापारी पनि राहतको सूचीमा

टीकापुर : टीकापुर नगरपालिका १ मा राहत वितरणका लागि संकलन गरिएको विपन्न परिवारको सूचीमा वैदेशिक रोजगारीमा रहेका परिवारसमेत समावेश भएको पाइएको छ । लकडाउनका कारण अति विपन्न र दैनिक ज्यालादारी गरी खाने परिवारलाई राहत दिनका लागि विपन्न परिवारको सूची संकलन गरिएको थियो । वडा नं. १ ले संकलन गरेको सूचीमा वैदेशिक रोजगारीमा रहेकाको परिवार, शिक्षक, कर्मचारी र व्यापारीसमेत समावेश गरिएको पाइएको हो । 
    
वडा नं. १ मा गठन गरिएको स्थानीय आपूर्ती व्यवस्थापन समितिले उक्त सूची संकलन गरेको थियो । वडा कार्यालयले नगरपालिकालाई उपलब्ध गराएको सूचीमा वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरिया, युएई, जापान, युएई, भारत लगायतका देशमा रहेका व्यक्तिका परिवारसमेत समेटिएका छन् । 

सूचीमा टीकापुर बजार क्षेत्रमा विभिन्न व्यापार व्यवशाय गर्दै आएका छन् । सूचीमा विभिन्न संघ संस्थामा कार्यरत कर्मचारी तथा नगरपालिकामा करारमा कार्यरत कर्मचारीको समेत नाम समावेश गरिएको छ । 

वडाध्यक्ष गंगाराम आचार्यको संयोजकत्वमा २६ सदस्यीय स्थानीय आपूर्ति व्यवस्थापन समिति गठन गरेको थियो । सो समितिका सदस्यले विभिन्न टोलमा गएर घरपरिवारको नाम संकलन गरेका हुन् । समितिले सुरुमा ९ हजार ३ शय घरपरिवारको नाम संकलन गरेको थियो । राहत पाउने सूचीमा सम्पन्न परिवारको नामसमेत रहेको भन्दै चर्को विरोध भएपछि सो संख्या ४ हजार १ शय २३ मा झारिएको छ । 

विवादित बनेको सूची सच्याउन नगरपालिकाले दबाव दिएपछि समितिले सच्चाएर नगरपालिकामा बुझाएको थियो । नगरपालिकामा बुझाएको सूचीमै वैदिशिक रोजगारीमा रहेका, शिक्षक, कर्मचारी र व्यापारी समावेश छन् । राहत वितरणका लागि संकलन गरिएको सूचीमा सम्पन्न व्यक्तिको नाम समावेश भएको स्वीकार्दै वडाध्यक्ष आचार्यले सूचीमाथि अध्ययन भइरहेको बताए ।  

‘समितिका सदस्यहरुले संकलन गरेको नाममा केही तलमाथि भएको छ’, वडाध्यक्ष आचार्यले भने, ‘छानविन गरी वास्तविक विपन्न परिवारलाई मात्रै राहत वितरण गरिनेछ ।’

नगरपालिकाले वडाबाट प्राप्त सूचीमा विमती जनाउँदै राहत वितरण कार्य रोकेको छ । नगरपालिकका अनुसार वडा नं. २ र ५ मा समेत विपन्न परिवारको नामावलीमा सम्पन्न परिवारसमेत समावेश पाइएपछि राहत वितरण हुन सकेको छैन । वडा नं. २ ले ५ सय २९ र वडा नं. ५ ले ३ सय ५० घरपरिवारको सूची संकलन गरेको छ ।  
    
टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलले वडाले पठाएको सूचीमाथि अध्ययन भइरहेको बताए । ‘हामीले त्यो सूची अध्ययन गरिरहेका छौं, विपन्न परिवारको नाम संकलनमा कमजोरी देखिन्छ’, मेयर तपेन्द्रबहादुर रावलले भने, ‘वडाले दिएको सूचीमा वास्तविक छुट्याएर मात्रै राहत वितरण गर्न भनेका छौं ।’
    
रावलले सम्पन्न परिवारले राहत पाउने तर विपन्नले नपाउने कुरामा आफू सचेत रहेको बताए । नगरपालिकाले भने लकडाउनका कारण निकै समस्या भोगिरहेका विपन्न परिवारलाई नगर प्रहरीमार्फत घरमै राहत पुर्‍याउने गरेको छ । विपद व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले वडा नं. १ भित्रका अति विपन्न केही परिवारलाई नगर प्रहरीमार्फत् राहत प्रदान गरिएको बताइन् । चौधरीका अनुसार नगरपालिका केन्द्रले नगर प्रहरीमार्फत १ सय ६ घरपरिवारलाई राहत प्रदान गरेको छ ।

नगरपालिकाका वडा नं. ३, ४, ५, ६, ७, ८ र ९ मा भने राहत वितरण भइरहेको छ । चौधरीका अनुसार हालसम्म ७ सय ७३ घरपरिवारलाई राहत वितरण गरिएको छ । वडा समितिले विपन्न परिवारको सूची बनाएर कुपनमार्फत् वितरण गर्दै आइरहेका छन् । नगरपालिकाले कार्यविधि बनाएर पहिलो चरणमा दैनिक ज्यालादारी र चुल्हो नबल्ने स्थिति भएका परिवारलाई राहत दिने निर्णय गरेको थियो ।

साभार : अन्नपूर्ण पोष्ट अनलाइन