१९ मंसिर २०७८, आइतवार
(नेपाली समय)
१९ मंसिर २०७८, आइतवार
नेपाली समय

श्रद्धाको भित्ता प्रेम

काठमाडौं : पैसा मात्रै सबै थोक होइन, श्रद्धा श्रेष्ठको भित्ता चित्र प्रेमले यही दर्शाउँछ। पाटनको मंगलबजारबाट बंगलामुखी जाने बाटोमा पर्छ कुलिम टोल। यही टोलमा जन्मिएर हुर्किएकी श्रद्धालाई अभिभावकले चिकित्सक बनाउन चाहन्थे। उनको मन नभए पनि एसएलसीपछि उनी बूढानीलकण्ठ स्कुलमा विज्ञान विषय पढ्न प्रवेश परीक्षामा सामेल हुन बाध्य भइन् तर नाम निस्किएन।

अनि बाटो मोडियो। उनले रुचिअनुसारको बाटो रोजिन् आर्ट। र, अन्ततः बेलायतको स्कटल्यान्डस्थित ग्लासगो आर्टस विश्वविद्यालयबाट चित्रकलामा सन् २०१८ मा स्नातकोत्तर सकाइन्। काठमाडौं युनिभर्सिटीबाट चित्रकलामा स्नातक सकाएकी उनी बेलायतबाट पढेर आएपछि काठमाडौं युनिभर्सिटीका स्नातककै विद्यार्थीलाई ग्राफिक डिजाउन पढाउँछिन्। लकडाउनमा पनि उनको भर्चुअल कक्षा जारी छ।

पढ्ने, पढाउने, क्यानभासमा चित्र बनाउनुबाहेक उनको अर्को रुचिको विषय हो, भित्तामा चित्र बनाउनु। केशरमहल पुस्तकालयको भित्तादेखि त्रिचन्द्र कलेजको भित्तासम्म, कुपण्डोलको हिमालयन होटलको भित्तादेखि कुपण्डोल कानदेउथान चोकबाट जाने भित्री गल्लीसम्मका भित्तामा श्रद्धाका चित्र मुस्कुराइरहेका देखिन्छन्। कार्टुन मिक्स सिरिजमा उनका चित्र भित्तामा सजिएका छन्।

कुनै समय आर्ट लभ लाइफ तथा काजी स्टुडियोसँग आबद्ध श्रद्धाले भित्तामा केही चित्र समूहमा बनाइन् भने केही एकल। बन्दना तुलाचन र प्रोमिना श्रेष्ठ लगायतसँग केयूमा चित्रकला पढ्दा उनको दोस्ती जम्यो, जो आजसम्म कायमै छ। भन्छिन्, ‘एउटै रुचि भएका दोस्तीको संगतले अघि बढ्न प्रेरणा दिन्छ।’

बेलायतमा स्नातकोत्तर पढ्न जाँदा पनि उनले सार्वजनिक स्थलका भित्तामा चित्र बनाएको नियालिन्। धनीले घरको भित्तामा महँगा चित्र झन्ड्याउँछन्। तर आँखालाई शीतलता दिने आम सर्वसाधारणका लागि सार्वजनिक स्थलका भित्तामा बनाइएको चित्रको आफ्नै महत्व हुने श्रद्धाको बुझाइ छ। सार्वजनिक स्थलका भित्तामा चित्र बनाउँदै गर्दा धेरैले वर्कीफर्की हेर्छन्, चित्रबारे जिज्ञासा राख्छन्। यसले उनलाई आफ्नो कामप्रति सन्तुष्टि दिन्छ।

श्रद्धा पाटनका मन्दिरहरूमा कोरिएका पौराणिक शृंखलाका चित्र हेर्दै हुर्किएकी हुन्। सपरिवार बानेश्वर सरे पनि पाटनको मोहले उनलाई छाडेको छैन।

श्रद्धा हाल वीरंगना कमिक्समा आबद्ध छिन्। भर्खरै उनको नेपालका महिला आर्टिस्टको कमिक आनथोलोजीको पहिलो शृंखला फाइन प्रिन्ट बुकबाट प्रकाशित भएको छ। ‘यसको दोस्रो शृंखला पनि तयार छ, लकडाउनपछि यसको प्रकाशन हुन्छ होला’, उनले भनिन्।

श्रद्धा पाटनका मन्दिरहरूमा कोरिएका पौराणिक शृंखलाका चित्र हेर्दै हुर्किएकी हुन्। सपरिवार बानेश्वर सरे पनि पाटनको मोहले उनलाई छाडेको छैन। उनले चित्रकलामा आफ्नो अभ्यास जारी राख्ने व्यक्तिगत स्टुडियो पाटनमै खोलेकी छन्। त्यसैले, उनी हरेक दिन पाटनका गल्ली नाप्छिन्। उनको परिवारमा चित्र बनाउने कोही छैन। भन्छिन्, ‘खासमा मलाई हाना बार्बराका कार्टुनले कलाकार बन्न प्रेरित ग¥यो।’

श्रद्धाले पछिल्लो पटक गरेको काम भनेको एक बालचित्रकथा पुस्तकको चित्र हो। सिर्जनालयको सहकार्यमा द एसिया फाउन्डेसनबाट प्रकाशित भएको भुख्ली कथामा उनले चित्र बनाएकी छन्। थारू समुदायको कथामा जीवन्तता दिन सिर्जनालयले दाङका थारू गाउँ पाँच दिन घुमायो, थारूका घरमा बसालेर थारू परिकार ख्वायो। उनले थारूहरूकै रहनसहन, भेषभूषा, खानपिनको जीवन्त चित्र पुस्तकमा समेटिन्। भन्छिन्, ‘चित्र बनाउन पनि स्थलगत अनुसन्धान चाहिन्छ। यो कामले मलाई धेरै सन्तुष्टि दियो।’

पढाइको सिलसिलामा बेलायत बस्दा उनले बल्ल जिन्दगीलाई नजिकबाट नियाल्न पाएको अनुभव गरिन्। त्यहाँका विभिन्न संग्रहालय, ग्यालरी अवलोकनदेखि चर्चित चित्रकारसँग कला कार्यशालामा भाग लिने अवसर पाइन्। ‘सात समुद्र पारिको एक्लो बसाइ, युरोपका विभिन्न सहरको एक्लो यात्राले धेरै कुरा सिकायो’, श्रद्धा भन्छिन्, ‘धेरैले छोरीलाई विश्वास गर्दैनन्। एक्लै दुक्लै घर छेउको बजार जान पनि साथी चाहिन्छ भन्छन्। यसरी छोरीहरूलाई कुँजो बनाएर राख्न हुन्न।’ उनी आफू उपर विश्वास गर्ने अभिभावक उपर नतमस्तक छिन्।

चित्र बनाउने रुचिले लकडाउनमा बोर भएर बस्ने अरू झैं छटपटी श्रद्धालाई भोग्नु परेको छैन। भन्छिन्, ‘लकडाउन खुले पनि बाहिर निस्किने जाँगर छैन। अब त यही दिनचर्या नै रमाइलो लाग्न थालेको छ।’

साभार: अन्नपूर्णपोष्ट अनलाइन