लकडाउनमा बाबुरामको भिडियो सन्देश
काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले लकडाउनको समयमा उच्च मनोबल र सकारात्मक सोचका साथ घरमा बस्न सबैलाई आग्रह गरेका छन् बिहीबार दिउँसो एक भिडियो सन्देश सार्वजनिक गर्दै बाबुरामले लकडाउनको समयमा उच्च मनोबल र सकाराकात्मक सोचका साथ घरमै बसेर कोरोनाविरूद्धको लडाईंलाई सफल पार्न सबैलाई आग्रह गरेका हुन्।
उनले सन्देशमा कोरोना महाव्याधीको समयमा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, आपूर्ति, सफाइ र सञ्चारकर्ममा खटेका सबैको सम्मान गर्दै यस्तो सन्देश दिएका हुन्।
‘लकडाउनको बेला उच्च मनोवल र सकाराकात्मक सोचका साथ घरमै बसेर कोरोनाविरूद्धको लडाईंलाई सफल पार्न सबैसँग आग्रह गर्दछु’, बाबुरामले भनेका छन्, ‘अहिले हामी सबै घरमा थुनिएर बसेको अवस्था छ। यो समयमा तनाव हुन्छन्। यस्तो बेलामा हामी जति तनावमुक्त हुन सक्यो त्यत्ति हाम्रो प्रतिरक्षा क्षमता बढ्छ। हामीले यत्तिबेला तनावमा पर्ने र चिन्ता गर्ने होइन। यो महाव्याधीपछि पनि जीवन रहन्छ र संसार रहन्छ भन्ने सकारात्मक सोच राख्नुपर्छ।’
बाबुरामले सरकारलाई विपन्न नागरिक, मजदुर, अशक्तलगायतलाई राहतको व्यवस्था गर्न मागसमेत गरेका छन्। भट्टराईले सरकार र नागरिकबीच विश्वास र सहकार्य बढाएर कोरोनालाई पराजित गर्न सबैलाई आग्रह गरेका छन्। सँगै उनले विदेशबाट फर्किनेलाई कम्तीमा दुई हप्ता एकान्तबासमा बसेर मात्र परिवारका सदस्यलाई भेट्नसमेत आग्रह गरेका छन्।
उनले राज्यसँग सहकार्य नभए कोरोनालाई परास्त गर्न नसकिने भएकाले सरकारले लागू गरेको लकडाउन पालना गर्नसमेत आग्रह गरेका छन्। उनले जनतालाई जीवन र स्वतन्त्रता दुवै चाहिने कुरामा राज्य सचेत रहनुपर्नेमासमेत जोड दिएका छन्।
साभार : अन्नपूर्ण पोष्ट अनलाइन