आम्सटरडम : व्यावसायिक खेलजीवनबाट सन्यास लिइसकेका जर्मन क्लब बायर्न म्युनिखका पूर्वखेलाडी आर्यन रोबेनले आफू सन्यास फिर्ता लिएर पुनः खेलमा फर्कन सक्ने संकेत दिएका छन्। उनले सन् २०१९ मा व्यावसायिक खेल जीवनबाट सन्यास लिएको घोषणा गरेका थिए।
नेदरल्यान्ड्सको राष्ट्रिय टोलीका पूर्वखेलाडी रोबेनले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा आफू सन्यास फिर्ता लिएर पुनः मैदानमा सक्रिय हुने तयारीमा रहेको बताएका छन्। ३६ वर्षीय विंगर सन् २००९ देखि सन् २०१९ सम्म बायर्न म्युनिखबाट व्यावसायिक फुटबल खेलेका थिए।
बायर्न म्युनिखमा आबद्ध हुनुअघि उनले युरोपका विभिन्न चर्चित क्लबबाट पनि व्यावसायिक फुटबल खेलेका थिए। सन् २००७ मा स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडमा आबद्ध भएका रोबेन दुई वर्ष त्यहाँ रहेका थिए। उनले सन् २००४ देखि सन् २००७ सम्म इङ्लिस प्रिमियर लिग क्लब चेल्सीबाट पनि खेलेका थिए।
चेल्सीमा आबद्ध हुनुअघि उनले डच क्लब पीएसभी आइन्डओभन र ग्रोनिनजेनबाट पनि खेलेका थिए। ‘व्यावसायिक खेल जीवनबाट हतारमा सन्यास लिने मेरो निर्णय गलत थियो जस्तो लागेको छ’, रोबेनले भनेका छन्, ‘अहिले आएर म पुनः सक्रिय खेल जीवनमा फर्कने योजना बनाइरहेको छु।’
आफ्नो समयका प्रभावशाली खेलाडी रोबेनले बायर्न म्युनिखमा जानुअघि आफू सम्बद्ध क्लबलाई डच, इङ्लिस र स्पेनिस लिगको उपाधि पनि चुमाएका थिए। बायर्न म्युनिखमा रहँदा भने उनले आठ पटक बुन्डेस लिगा र एक पटक च्याम्पियन्स लिगको उपाधि हात पारेका थिए।
व्यावसायिक खेल जीवनको १० वर्ष बायर्न म्युनिखमा बिताएका रोबेन पछिल्लो समय भने धेरैजसो घाइते हुँदै आएका थिए। त्यसैले पनि उनले खेल जीवनबाट बिदा लिने निर्णय गरेका थिए। सन्यास लिनुअघि उनी बायर्न म्युनिख छाडेर पुनः डच क्लबमै फर्कने योजनामा थिए। यसका लागि उनले आफ्ना दुई पूर्वक्लब पीएसभी र ग्रोनिनजेनसँग पनि छलफल अगाडि बढाएका थिए।
तर, बायर्न म्युनिखसँगको सम्झौता रद्द भएलगत्तै उनले अप्रत्याशित रूपमा सन्यासको निर्णय लिएका थिए। ‘सन्यास लिएको केही समयसम्म त मलाई राम्रै लागेको थियो। तर, समय बित्दै जाँदा फुटबलप्रतिको मेरो आशक्ति बढ्दै गयो। अहिले आएर थोरै समयका लागि भए पनि म पुनः व्यावसायिक खेल जीवनमा फर्कन चाहन्छु’, उनले भनेका छन्।
साभार : अन्नपूर्ण पोष्ट अनलाइन