५ वैशाख २०८१, बुधवार
(नेपाली समय)
५ वैशाख २०८१, बुधवार
नेपाली समय

सरकारलाई अर्थविद्को सुझाव– रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याऊ

२१ चैत, काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद्हरूले कोरोनाबाट प्रभावित बनेको अर्थतन्त्रलाई जोगाउन रोजगारी सिर्जना गर्ने कार्यक्रम आवश्यक रहेको बताएका छन् ।

शुक्रबार कोरोना संकटबारे अर्थमन्त्री डा. युवराज खतिवडाले आयोजना गरेको छलफलमा सहभागी विज्ञहरूले यस्तो सुझाव दिएका हुन् ।

पूर्वउपाध्यक्ष तथा विज्ञहरूले दैनिक ज्यालादारी काम गर्ने श्रमिकका लागि राहत ल्याउन पनि सुझाएका छन् ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्मा, डा. जगदीशचन्द्र पोखरेल, डा. दिनेशचन्द्र देवकोटा, डा. स्वर्णीम वाग्ले र डा. मीनबहादुर श्रेष्ठ, स्वास्थ्य विज्ञ डा. अर्जुन कार्कीलगायत उपस्थित थिए । उनीहरूले सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि थालेका प्रयास र उचित निर्णयले मुलुकलाई थप जोखिमबाट बचाउन सहज बनेको बताए ।

पूर्वउपाध्यक्षहरूले स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी कार्यक्रम ल्याउनुपर्ने, न्यून आय भएका र दैनिक ज्यालादारी गर्ने मानिसलाई खानपानको लागि समयमै राहत पु¥याउन ध्यानकेन्द्रित गर्नुपर्ने धारणा राखे । सामाजिक सुरक्षामा ध्यान दिँदै सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधिको मनोबल बढाउनुपर्ने उनीहरूको सुझाव छ । आगामी बजेटमा स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा बढी जोड दिनुपर्ने विज्ञको जोड छ ।

उक्त अवसरमा अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले कोरोना रोगको संक्रमण रोकथाम सरकारको मात्र नभई सबैको साझा दायित्व भएको बताएका थिए ।

अर्थमन्त्री डा. खतिवडाले साझा समस्यालाई साझा रूपमै समाधान गर्नुपर्ने समय आएको उल्लेख गर्दै सबै जनाले आ–आफ्नो क्षेत्रमा जिम्मेवार हुनुपर्ने धारणा राखे ।

मन्त्री डा. खतिवडाले राष्ट्रिय सोच र दृष्टिकोणलाई एकताबद्ध गर्दै संघीय सरकारले सबै राजनीतिक दल, सबै तहका सरकार र निजी क्षेत्रसँग छलफल र समन्वय गरी कोरोनाको सक्रमण रोकथाम तथा लक्षित वर्गसम्म राहत पु¥याउने कामलाई प्राथमिकतामा राखेको बताए ।

सरकारले समयमा नै चालेको कदमका कारण हालसम्म संक्रमित व्यक्तिको संख्या सानो रहेको र यसलाई अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि सराहना गरिएको सन्दर्भ उल्लेख गरे । संघीय संरचनाअनुरूप जनप्रतिनिधिको उपस्थितिले अहिले कोरोना जोखिम न्यूनीकरण गर्ने कार्य सहज भएको बताए ।

अन्तर्राष्ट्रिय सीमा नाकाबाट थप जोखिम हुन नदिन सीमा बन्द गरिएको उनको भनाइ छ । नेपालमा भएका विदेशी नागरिकलाई नेपालले सुरक्षा दिने र बिदेशमा रहेका नेपाली नागरिकलाई ती देशले सुरक्षाका साथ बस्ने व्यवस्था मिलाउन कूटनीतिक तहमा पहल भएकोे समेत उनले स्पष्ट पारे । अहिले कोरोना संक्रमण रोक्न जो जहाँ छौं, त्यही बस्ने नै सबैभन्दा उत्तम उपाय भएको समेत बताए ।

मन्त्री डा. खतिवडाले विश्वभर मानव जातिको सुरक्षा पहिलो प्राथमिकता भएकाले सबै पक्षले बिना स्वार्थ कोरोना न्यूनीकरण तथा रोकथाममा लाग्नुपर्ने बताए ।

कोरोना संक्रमण थामिएपछि अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा प्राविधिक विज्ञसमेत संलग्न गरी अध्ययन समिति गठन गरिने जानकारी अर्थमन्त्रीले गराएका छन् ।

साभार : अनलाइनखबर अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds