१५ चैत २०८०, बिहीवार
(नेपाली समय)
१५ चैत २०८०, बिहीवार
नेपाली समय

साल्मेडाँडामा पाँच डिब्बे रेलसहितको गोरखा स्मारक बन्दै

—हरि बास्तोला 

साल्मेडाँडा, स्याङजा, १ असार (रासस) ः कास्की र स्याङ्जा जिल्लाको सिमास्थित मनोरमस्थल साल्मेडाँडामा निर्माणाधीन गोरखा स्मारकको हालसम्म २० प्रतिशत काम सम्पन्न भएको छ । 

स्याङ्जाको फेदीखोला गाउँपालिका–८ स्थित साल्मेडाँडामा प्रथम तथा दोस्रो विश्वयुद्धका क्रममा दिवंगत हुने ६० हजार गोर्खाली सैनिकको सम्झनामा स्मारकसहित संग्रहालय तथा पाँच डिब्बाको रेल, गोर्खा भ्यू टावर र जातीय सांस्कृतिक ग्राम निर्माण गर्न लागिएको हो । 

तीनसय रोपनी जग्गामा निर्माण गरिने स्मारकमा भौतिक संरचना तयार गर्न कूल रु नौ अर्ब खर्च हुने र हालसम्म ब्रिटिश सेनामा कार्यरत नेपालीले रु नौ करोड तथा शहरी विकास मन्त्रालयबाट रु पाँच करोड रकम संकलन भएको स्मारक निर्माण समितिका अध्यक्ष पुरनध्वज गुरुङले जानकारी दिनुभयो । 

रोजगारीको क्रममा जन्मभूमि छोडी ब्रिटिश सेनामा गएका गोर्खाली युवा ब्रिटिश साम्राज्यको स्वार्थ र समृद्धिका लागि लड्दा मारिएको बताउँदै उहाँले तिनै वीर गोर्खालीको समग्र विवरण स्मारकमा समेटिने जानकारी दिनुभयो । 

नेपालमा जातीय सद्भाव कायम गर्ने उद्देश्यका साथ १७ जातिका मानिसलाई लक्षित गरी लगभग ३०० जना क्षमताको जातीय अनुसन्धान केन्द्र भवन, अत्याधुनिक टावर, रेष्टुराँसमेत निर्माण गरिने योजना रहेको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार साल्मेडाँडाबाट मट्टिखान हुँदै कास्कीको दक्षिणभेगस्थित भरतपोखरीसम्म करीब १५ देखि २० किलोमिटर दूरीको पाँच डिब्बाको रेल सञ्चालनमा ल्याउने तयारीमा समिति जुटेको छ । 

पोखराको दक्षिणी भेगमा पर्ने उक्त क्षेत्रबाट रेलमा शयर गर्दै धौलागिरि, माछापुच्छ्रे«, अन्नपूर्णलगायतका हिमशृंखला एवं फेवातालसहित पोखरा बजारको दृष्यावलोकन गर्न सकिने उहाँले बताउनुभयो । 

यसैबीच, प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उक्त क्षेत्रको निरीक्षण गर्दै स्मारक प्रदेशकै महत्वपूर्ण गहना हुने बताउनुभयो । 

उहाँले निर्माणाधीन संरचना पूरा भएसँगै यसको माध्यमबाट आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो । वीर नेपाली गोर्खालीकै कारण नेपालको शिर उच्च रहेको बताउँदै उहाँले स्मारक निर्माणले ती वीर गौर्खालीको योगदानलाई स्मरण गराउनुका साथै गौरवको अनुभूति हुने उल्लेख गर्नुभयो । 

उहाँले प्रदेश सरकारका तर्फबाट स्मारक निर्माणलाई सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । 
––– 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds