१६ असोज २०८०, मंगलवार
(नेपाली समय)
१६ असोज २०८०, मंगलवार
नेपाली समय

सिकौंं जापानका पाकाबाट

टोकियो : जापानी परम्परागत नाटक नोहको अभ्यास गर्दा मिको नगओकाको घुँडामा चोट लाग्यो। त्यतिबेला सय वर्ष लागेकी नगओकाले आफ्नो चोट निको पार्न पौडी खेल्न सुरु गरिन्। सोही वर्ष प्रकाशन गरेको पुस्तकको नाम जुराइन्– म सय वर्षको संसारकै उत्कृष्ट र सक्रिय पौडीवाज।

यसपछिका दिनमा उनले १५ सय मिटर पौडी खेलेर विश्व कीर्तिमान कायम गरेकी थिइन्। अहिले १०५ वर्षको उमेरसम्म आइपुग्दा नगओकाले १८ वटा विश्व कीर्तिमान कायम गरिसकिन्।

सेप्टेम्बरमा जापानको फुकुवकामा भएको ५० मिटर ब्याकस्टोकमा उनले १०५ देखि १०९ वर्ष उमेरसमूहमा सहभागिता जनाएकी थिइन्। यस विधामा पहिलो विश्व कीर्तिमान राख्ने लक्ष्य पूरा नहुँदै उनलाई प्रतियोगिताबाट अवकाश लिन बाध्य पारियो। त्यसैले कैयौं प्रशंसकको तालिको गडगडाहटसँगै उनी पुलसाइडबाट हाँस्दै बाहिरिइन्।

शताब्दी कटाउने धावक हुन् हिडेकिची मियाजाकी। १०८ वर्षको उमेरमा गत वर्ष उनको निधन भयो। १०५ र त्यसभन्दा माथिको उमेर समूहअन्तर्गत सय मिटर दौडमा विश्व कीर्तिमान कायम गरेर १०५ वर्षीया मियाजाकी त्यतिबेला सञ्चार माध्यममा खुब छाएका थिए।

यसरी नगओका र मियाजाकीले जस्तो बुढ्यौलीलाई सहज र सुन्दर बनाउने रहस्य स्वस्थ आहार बिहार र व्यायम हुन सक्छन्। तर, यस्तो बुढ्यौली अवस्थामा पनि उत्तिकै प्रतिस्पर्धात्मक भावना कसरी जाग्छ भन्ने जिज्ञासा धेरैलाई लाग्न सक्छ। आफ्नै उमेर समूहका व्यक्तिसँग होस् वा आफूभन्दा सानासँग हुने स्वस्थ प्रतिस्पर्धामा केही पाउने आसले पक्कै महŒवपूर्ण भूमिका खेलेको हुन सक्छ। युचिरो मिउराको सन्दर्भमा पनि यस्तै भएको छ।

८६ वर्षीय व्यावसायिक स्कियर मिउरा यस्ता ज्येष्ठ नागरिक हुन् जसले जापानमा मात्र नभई विदेशमा पनि ख्याति कमाएका छन्। ४० वर्षको उमेरमा उनी प्यारासुट भिरेर सगरमाथाबाट स्कि गर्दै तल झरेका थिए। उनको उक्त साहसलाई द म्यान हु स्किड डाउन एभरेस्ट नामक वृत्तचित्रमा उतारिएको थियो। वृत्तचित्रले सन् १९७५ मा उत्कृष्ट वृत्तचित्रका लागि एकेडेमी अवार्डसमेत जितेको थियो।

७० वर्षको उमेरमा उनी पुनः सगरमाथा आरोहण गर्ने विश्वकै पाका व्यक्ति बनेका थिए। ७५ र ८० वर्षको उमेरमा पुनः सगरमाथा आरोहण गरेर आफ्नो कीर्तिमान मिउराले आफैं तोडेका थिए। गत वर्ष उनले दक्षिण अमेरिकाको सबैभन्दा अग्लो चुचुरो एकोनकागुवामा सफल आरोहण गरेपछि स्कि गर्दै तल झर्ने विचार गरेका थिए। तर, ६ हजार मिटरमा रहेको प्लाजा कोलेरामा पुगेपछि उनीसँगै गएका निजी चिकित्सकले अगाडि बढ्नबाट रोके। बढी उचाइमा हृदयाघातको जोखिम बढी भएको भन्दै उनलाई अगाडि नबढ्न निर्देशन दिइएको थियो।

आफूले अझै अर्को आरोहणको सोच राखेकाले चिकित्सकको निर्देशन पालना गर्नुपरेको जापान फर्केपछि आयोजित पत्रकार सम्मेलनमा उनले जानकारी गराएका थिए। ९० वर्षको उमेरमा सगरमाथाको सफल आरोहण गर्ने लक्ष्यको तयारीमा हाल मिउरा जुटेका छन्।

जापानको सक्रिय ज्येष्ठ नागरिकको सूचीमा ८३ वर्षीय म्याराथन धावक मिचिहारु सिमोजो र ८० वर्षको उमेरमा पनि समुद्रमा सर्फिङ गर्ने सिची सानो पर्छन्। असीको दसकमा रहेका यस्ता व्यक्तिको सक्रियता खेलप्रतिको गहिरो लगावका कारण हो या अन्य केही, यो रहस्यकै विषय बनेको छ।

सक्रियताले बढ्दै छ उमेर

बुढ्यौली समाज विश्वव्यापी बनेको छ। संयुक्त राष्ट्रसंघको विश्व जनसंख्या सम्भावना २०१९ समीक्षाको तथ्यांकअनुसार सन् २०५० सम्म ८० वर्ष र योभन्दा माथिका मानिसको संख्या अहिलेको भन्दा तेब्बर हुने भएको छ। हाल यो उमेर समूहका मानिसको संख्या १४ करोड ३० लाख रहेकामा ४२ करोड ६० लाख पुग्ने तथ्यांकले जनाएको छ। जापानको सरकारी तथ्यांकले पनि त्यहाँको कुल जनसंख्याको २८ प्रतिशत ६५ र योभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिक रहेका देखाएको छ।

युरोपका धेरै देशमा बुढ्यौली समाज बढ्दो छ। दक्षिण कोरिया, चीन, सिंगापुरलगायत देशमा पनि यस्तै अवस्था छ। तैपनि, विश्वका धेरै मानिसको आँखा जापानतर्फ पर्ने गरेको छ। किनकि जापान उतिबेलाका यी युवा जमातका लागि बनेका पुराना नीति नियमभन्दा अगाडि बढ्न सकेको छैन। योभन्दा बढी महŒवपूर्ण विषय भनेको बुढ्यौलीमा प्रवेश गर्दै गरेका जनताको मानसिक खुसी जोगाउनेबारे पनि जापानले पुनर्विचार गर्नुपर्ने बेला आएको देखिन्छ।

जापानी ज्येष्ठ नागरिकलाई मृत्युको भयभन्दा समाजमा बोझ भइने हो कि भन्ने डरले बढी सताउँछ। भोलि गएर मिवाकु (काम नलाग्ने) भइने हो कि भन्ने चिन्ता उनीहरूलाई कलिलै उमेरदेखि रहन्छ। यही कारणले कुनै साथीले सहयोग गर्न खोजे पनि अस्वीकार गर्छन्। बुढ्यौलीमा झन् आर्थिक र मानसिक रूपमा पूर्ण स्वतन्त्र रहनुपर्छ भन्ने धारणा उनीहरूमा पलाउँछ।

यही डरले उनीहरूलाई समाजरुपी चक्रको एक महŒवपूर्ण हिस्सा बनेर सधँै खटिरहन उत्प्रेरित गर्छ। जापानको मन्त्रिपरिषद् कार्यालयको एनुअल रिपोर्ट अन द एजिङ सोसाइटी प्रतिवेदनका अनुसार ६० देखि ६९ उमेर समूहभित्रका ७० प्रतिशत र ७० वर्ष र योभन्दा माथिका ५० प्रतिशत मानिस विभिन्न स्वयं सेवाको काममा संलग्न हुने गरेका छन्।

जापानी ज्येष्ठ नागरिक परिवारप्रति आ िश्रत हुँदैनन्। त्यसैले उनीहरू विभिन्न खेल गतिविधि, परम्परागत क्यालिग्राफी, फूलको साजसज्जा, सिलाइ, वाद्यवादन, नृत्य आदिमा रमाउन खोज्छन्। सोही प्रतिवेदनले जापानका ज्येष्ठ नागरिकको मानसिक क्षमता विश्वका अन्य देशका नागरिकको भन्दा बढी रहेको पनि जनाएको छ।

कियो स्पोर्ट्स मेडिसिन रिसर्च सेन्टरका एसोसियट प्रोफेसर युको ओगुमाले गरेका एक अध्ययन प्रतिवेदनअनुसार १० वर्षअगाडि भन्दा जापानी ज्येष्ठ नागरिक अहिले धेरै स्वस्थ छन् र उनीहरूको जीवन गुणस्तरीय पनि बन्दै गएको छ। उनको अध्ययनले उमेर बढ्दै जाँदा मांशपेसी बलियो हुँदै जाने देखाएको छ। उनीहरू समाजमा रहेका उही उमेरका साथीहरूलाई साथ दिँदै अगाडि बढ्छन् र समुदायको काममा सक्रिय हुन्छन्। यही सक्रियताले उनीहरूलाई अझै बलियो बनाएको ओगुमाको धारणा छ।

जसले वृद्धावस्थामा यस्तो प्रभाव पारे

९० वर्षीया किमिको निसिमोटोको दुई लाख २० हजारभन्दा बढी इन्स्टाग्राम फलोअर छन्। निसिमोटोले छोराको फोटोग्राफी स्कुलमा फोटो खिच्ने कला सिकेकी हुन्। विस्तारै यसमा उनको लगाव बढ्दै गयो। उनले आफ्ना क्यामेरामा निकै राम्रा तस्बिर कैद गर्न थालिन्। बुढ्यौलीलाई व्यंग्य गर्दै कहिले गाडी दुर्घटनामा परेको, कहिले द्रुत गतीमा स्कुटर चलाएको, कहिले फोहोरको डंगुरमा आफ्नो प्रोटेट राखेकोलगायत तस्बिर इन्स्टाग्राममा सार्वजनिक गरिन्।

अन्य ज्येष्ठ नागरिकझैं उनी पनि एक्लै बस्छिन्। आफ्नी आमालाई साथी होस् भनेर छोराले उनका लागि एउटा रोबोट पिप्पर ल्याइदिएका छन्। चर्कोे स्वरमा बोल्यो भन्दै उनी पिप्परलाई गाली गर्छिन्। अनि फेरि उसैलाई रिबन लगाइदिएर क्यामेरामा पोज दिन लगाउँछिन्। अति वृद्ध अवस्थाका मानिसमाझ पनि यस्ता केही सुपरस्टार छन् जसले ढल्कँदो उमेरको त्रासलाई भगाइरहेका छन्।

त्यसैगरी, जापानका नीति निर्माणकर्ता, कम्पनी र समुदाय पनि ज्येष्ठ नागरिकको जीवनलाई कसरी गुणस्तरीय बनाउने भन्नेमा लागिपरेका छन्।

हुन सक्छ, पहिलेका मानिसमा हामी काम नलाग्ने होइनौं (नो मिवाकु) भन्ने सोचाइले गर्दा उनीहरूको बुढ्यौली राम्रोसँग बित्दै गयो। त्यसैगरी, उनीहरूको स्वस्थ जीवनशैलीमा खानाले खेलेको भूमिकाको पनि यदाकदा प्रशंसा पाउने गरेको सुनिन्छ। तर, बुढ्यौलीसँगै बढ्ने स्वस्थ जीवनशैलीको पछाडि यसभन्दा अझै बढी रहस्य लुकेको हुन सक्छ। निसिमोटोलाई खानपिबारे सोध्दा उनले दैनिक एउटा ठूलो गिलासभरि ह्विस्की पिउने र चुरोट खाने गरेको बताइन्।

त्यसैले स्वस्थकर खाना खानु मात्रै दीर्घायुको रहस्य होइन रहेछ। निसिमोटोले जुन खुसी इन्स्टाग्राममार्फत अरूलाई बाँड्छिन्, उनको सहज र सुखी बुढ्यौलीको सूत्र त्यही हुन सक्छ।

(रामकला खड्काले गरेको आंशिक अनुवाद)

साभार : अन्नपूर्ण पोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds