१२ चैत २०८०, सोमवार
(नेपाली समय)
१२ चैत २०८०, सोमवार
नेपाली समय

सिङ्गो काँग्रेसको नेता हुन सभापतिसँग आग्रह

काठमाडौँ, २९ जेठ (रासस) ः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शैलजा आचार्यले गर्नुभएको निष्ठाको राजनीतिक सबैका लागि अनुकरणीय भएको बताउनुभएको छ ।

शैलजा आचार्य आदर्श समाजले शैलजा आचार्यको नवौँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “ आचार्य विद्रोही स्वभावको व्यक्ति हुनुहुन्थ्यो, विद्रोही स्वभावका कारण विसं २०१७ मा राजा महेन्द्रलाई कालो झण्डा देखाउँदा जेल बस्नुभयो, उहाँको विद्रोही स्वभाव अन्तिम कालखण्डसम्म कायम रह्रयो ।”
अर्को प्रसङ्गमा उहाँले सिद्धान्त र संगठन भएको काँग्रेस सिद्धान्तले जिते पनि संगठनले हार्दा यो अवस्थामा आएको बताउँदै पार्टी सभापतिलाई गुटको नेताभन्दा सिंगो पार्टीको नेता हुन सुझाव दिनुभयो ।

वरिष्ठ नेता पौडेलले सरकारले दुई तिहाइको समर्थन जुटाउनु र सत्ता पक्षबाटै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको कुरा गर्नुले गम्भीर आशंका पैदा गरेको पनि बताउनुभयो ।

काँग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकार अधिनायकवादतर्फ अगाडि बढेको भन्दै उक्त कुरालाई रोक्न काँग्रेस दह्रो रुपमा उभिनुपर्ने बताउनुभयो । “बालकृष्ण ढुंगेललाई आम माफी दिनुले न्यायपालिका र कार्यपालिकाबीचको गठजोड त छैन भन्ने आशंका पैदा भएको छ,”, उहाँले भन्नुभयो ।

समाजका अध्यक्ष दुर्गा घिमिरे, काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी, पत्रकार पुरुषोत्तम दाहाललगायतले नेपालमा महिला अधिकार स्थापनाका लागि आचार्यले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । विसं २००१ मा मोरङमा जन्मनुभएकी आचार्य २०४८÷२०५१ सालमा मोरङबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । विस २०५३ मा उपप्रधानमन्त्रीसमेत बन्नुभएकी उहाँको विसं २०६७ मा काठमाडौँमा निधन भएको थियो ।

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds