४ माघ २०७८, मंगलवार
(नेपाली समय)
४ माघ २०७८, मंगलवार
नेपाली समय

‘सिजन रद्द भए लिभरपुललाई उपाधि’

लन्डन : युरोपियन फुटबल महासंघ (यूईएफए) का अध्यक्ष एलेक्जेन्डर सेफरिनले इङ्लिस प्रिमियर लिगको सिजन रद्द भए लिभरपुलले उपाधि जित्ने बताएका छन्।

कोरोना भाइरसको महामारी कारण स्थगित भएको प्रिमियर लिग पुनः सञ्चालन हुनेमा अहिले शंका उब्जिएको छ। अध्यक्ष सेफरिनले लिग सुचारु हुन नसकेको अवस्थामा लिभरपुल स्वतः उपाधिको दावेदार हुने बताए। ‘प्रिमियर लिग स्थगित हुनु अघि नै लिभरपुल मुख्य दावेदार थियो। लिभरपुल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा २५ अंकले माथि छ। यस्तो अवस्थामा लिभरपुललाई उपाधि दिँदा न्याय हुन्छ। यदि लिग फुटबल सुचारु भएमा लिभरपुलले नै उपाधि जित्ने निश्चित छ। मेरो दृष्टिमा कुनैपनि कोणबाट लिभरपुललाई उपाधिविहीन बनाउन मिल्दैन’ सेफरिनले भनेका छन्।

सन् १९९० पछि पहिलो पटक च्याम्पियन बन्ने अभियानमा रहेको लिभरपुललाई कोरोना भाइरसको महामारी कारण सबैभन्दा बढी चिन्तित बनाएको छ। लिभरपुलले अब तीन खेल मात्र जितेमा च्याम्पियन बन्नेछ। शीर्षस्थानमा रहेको लिभरपुलको २९ खेलबाट ८२ अंक छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २८ खेलबाट ५७ अंक र तेस्रो स्थानमा रहेको लेस्टर सिटीको ५३ अंक छ। युईएफएको हालै बसेको भिडियो कन्फ्रेन्स बैठकले पनि प्रिमियर लिगलगायत युरोपका अन्य लिगको बारेमा कुनै निर्णय गर्न सकेन।

अध्यक्ष सेफरिनले यसअघि पनि कोरोनाका कारण फुटबलको सिजन निष्कर्षमा नपुगी गुम्न सक्ने बताएका थिए। यूईएफएले दर्शकविना बन्द स्टेडियममा गरिने लिगको कुनै अर्थ नहुने धारणा समेत राख्दै आएको छ। युरोपमा महामारीको रुपमा फैलिएको कोरोनाले गर्दा सबै खाले खेलकुद गतिविधि स्थगित भएको छ।

लिग फुटबल सक्नकै लागि युरोकप, महिला युरोकपलगायत प्रतियोगिता एक वर्ष पछि सारिएको छ। कोरोना भाइरसका कारण स्थगित बेल्जियमको शीर्ष डिभिजन लिग फुटबल भने रद्द भइसकेको छ। कोरोनाको संक्रमण रोकिने छनक नदेखिएपछि शीर्ष स्थानमा रहेको क्लब ब्रुगलाई विजेता घोषित गरिएको थियो। कोरोनाका कारण युरोपका अन्य लिगको हालत पनि बेल्जियमकै अवस्थामा पुग्न सक्ने फुटबल विज्ञहरुले बताउन थालेका छन्।

साभार : अन्नपूर्ण पोष्ट अनलाइन