१९ मंसिर २०७८, आइतवार
(नेपाली समय)
१९ मंसिर २०७८, आइतवार
नेपाली समय

सीमानामा चौबिस घण्टा पहरा

धनगढी : कैलालीका चार र कञ्चनपुरका एक गरी पाँचजना कोरोना संक्रमित भेटिएपछि सुदूरपश्चिममा कोरोनाको जोखिम बढेको छ। तेस्रो मुलुकबाट आउने सम्भावना न्यून रहे पनि सुदूरपश्चिमका लागि भारतसँगको खुला सीमाना चुनौती देखिएको छ।

अहिलेसम्म तेस्रो मुलुकबाट आएका एकजना, उनले सारेका उनकै परिवारका एकजना र बाँकी दुईजना भारतबाट आएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ। लकडाउन पछिको केही दिन, भारतबाट लुकीछिपी आउनेलाई रोक्न नसक्नुले पनि सुदूरपश्चिम जोखिममा परेको छ।

दार्चुला र बैतडीबाट सयौं मानिस महाकालीमा पौडी खेलेर नेपाल भित्रिए भने सयौं मानिस ट्युबमा तरेर पनि नेपाल भित्रिएका छन्। खुला सीमानाका कारण जोखिम बढेको छ, त्यसलाई नै नियन्त्रण कसरी गर्ने भन्ने बारेमा दैनिकजसो भिडियो कन्फेरेन्सबाट प्रमुख जिल्ला अधिकारी सहितका सुरक्षा अधिकारीसँग कुराकानी भइरहेको मुख्यमन्त्री त्रिलोचन भट्टले बताए।

‘मंगलबार मात्रै भारतसँग सीमा जोडिएका जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग कुराकानी भएको छ। हरेक जिल्ला सदरमुकाममा व्यवस्थित क्वारेन्टाइन बनाउन र सीमानाका कडाईका साथ शिल गर्न पनि भनिएको छ’, भट्टले भने। उनले ¥यापिड टेस्ट गर्नुपर्ने स्थानको पहिचान गर्न पनि स्थानीय प्रशासनलाई अनुरोध गरिएको बताए। ‘बाहिरबाट आउनेलाई कडाईका साथ क्वारेन्टाइन गर्न र अब भारतबाट फर्किनेलाई पनि अनिवार्य क्वारेन्टाइन गर्नका लागि पनि भनिएको उनले बताए।

चौबिसै घण्टा सीमामा सशस्त्र

सुदूरपश्चिममा कोरोना भाइरसका बिरामीको संख्या बढ्न थालेपछि भारतसँग जोडिएको सीमानामा चौबिसै घण्टा पहरा दिने गरी ३९ वटा सशस्त्र प्रहरीका अस्थायी पोष्टहरु थपिएका छन्। यसअघि १५ वटा मात्रै स्थायी पोष्टहरु थिए। सीमामा अब त्यो संख्या ५४ पुगेको छ।

सशस्त्र प्रहरी वैद्यनाथ बाहिनी अत्तरियाले त्यसले पनि नपुगेपछि एक दुई दिनमा थप ९ वटा पोष्ट राख्ने तयारी भएको जानकारी दिएको छ। ‘सीमानामा कडाई गर्नु भन्ने निर्देशन भएको छ, पहाडको जनशक्ति तराई झिकाएर पनि सीमानामा खटाउन थालिएको छ’, सशस्त्र प्रहरी प्रवक्ता प्रविण श्रेष्ठले भने। उनले अहिले भारतमा पनि कोरोनाका बिरामी बढिरहेकाले सुदूरपश्चिम बढी खतरामा रहेकाले चौबिसै घण्टा पहरा दिने गरी सशस्त्र प्रहरी पोष्ट राखिएको बताए। ‘खतरा सीमा क्षेत्रबाट देखिएकाले कुनै पनि स्थान नछोड्ने गरी पोष्ट थपेका छौं’ प्रवक्ता श्रेष्ठले भने।

सुदूरपश्चिम प्रदेशमा कैलालीको खक्रौलादेखि दार्चुलाको तिंकरसम्म ५३३ किलोमिटरको खुला सीमाना छ। सुदूरपश्चिमका ९ जिल्लामध्ये दार्चुला, डडेल्धुरा, बैतडी, कैलाली र कञ्चनपुर गरी पाँच जिल्ला भारतसँग जोडिएका छन्। अझ कैलाली र कञ्चनपुरमा त झण्डै दुई सय ३० किलोमिटरको खुला सीमाना छ। कञ्चनपुरको केही भाग भएर दार्चुलासम्मका जिल्लामा महाकाली नदीले सीमाना छुट्याएको छ।सशस्त्र प्रहरीले महाकाली नदी सीमाना भएका तर तर्न लायकका घाटहरुमा पनि प्रहरीको पोष्ट राखिएको जनाएको छ। बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बैतडीका सम्भावित घाटहरुमा पनि सशस्त्रको अस्थायी पोष्ट राखिएको बताए। बैतडीका ६ ठाउँ, शिवनाथको कुस्मौद घाट, पञ्चेश्वरको रोलघाट, पञ्चेश्वरको विनायक घाट, पञ्चेश्वर गाउँपालिकाको रोडीदेवल, दशरथचन्द नगरपालिकाको वडा नं १० बाराकोट र दशरथचन्द नगरपालिका वडा नं ६ को सेरामा सशस्त्र प्रहरी खटाइएको छ।

यसअघि भारतको चम्पावतबाट लुकेर कञ्चनपुरको ब्रम्हदेवको बाटो आएका बेदकोटका ४१ वर्षका व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो। सशस्त्र प्रहरीले तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै ३४ वटा अस्थायी पोष्ट थपेको छ। खुला सीमाना भएको स्थानबाट कोही पनि लुकेर प्रवेश नगरोस् भन्न कम्तिमा पनि दुई सय मिटरदेखि एक किलोमिटरसम्मको दूरीमा अस्थायी पोष्टहरु राखिएका छन्। एउटा पोष्टबाट पनि थप दुई तीन जनाको ग्रुप बनाएर चौबिसै घण्टा ड्यूटी लगाइएको सशस्त्र प्रहरीले जनाएको छ।

दार्चुला पारीका २१२ नेपाली पिथौरागढ सरुवा

दिन दिनै नारा जुलुस र प्रहरीसँग रिसाउने गरेको भन्दै दार्चुलाको पारी धार्चुलामा रहेका २१२ जना नेपालीलाई भारतीय प्रहरीले पिथौरागढ लगेको छ। उनीहरुले नेपाल जान पाउनुपर्छ भन्दै भारतीय प्रहरीसँग झगडा गर्न थालेको भन्दै उनीहरुलाई पिथौरागढ लगिएको बताइएको छ।

तर सशस्त्र प्रहरी ५० नम्बर गुल्मका गुल्मपति डम्बरबहादुर बिष्टले भने खान बस्न धार्चुलामा अप्ठेरो भएकाले उनीहरुलाई पिथौरागढ लगिएको भारतीय प्रशासनले जानकारी दिएको बताए। ‘उनीहरुलाई पिथौरागढको लक्ष्मणसिंह महाविद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ’, सशस्त्र प्रहरी नायव उपरीक्षक बिष्टले भने।

लकडाउनपछि नेपाल आउन नपाएका १०५७ जना नेपाली, धार्चुलाका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका थिए। तीमध्ये २१२ जनालाई मंगलबार नै पिथौरागढ लगिएको हो।

साभार : अन्नपूर्ण पोष्ट अनलाइन