१० असोज २०७९, सोमवार
(नेपाली समय)
१० असोज २०७९, सोमवार
नेपाली समय

स्थानीय तह निर्वाचन : उम्मेदवारको मनोनयन दर्ता जारी

काठमाडौं : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आज उम्मेदवारको मनोनयन दर्ता सुरु भएको छ। निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयन दर्ताका लागि समय छुट्याएको छ। यसअघि एक दिनमात्र हुने मनोनयन दर्ता यस पटक आयोगले दुई दिन छुट्याएको हो। भौगोलिक कठिनाइ भएका क्षेत्रहरुलाई मध्यनजर गर्दै आयोगले दुई दिन समय छुट्याएको जनाएको छ। निर्वाचन आयोगका अनुसार आइतबार बिहान १० बजेदेखि मनोनयन दर्ता सुरु भएको हो।

नेपालमा ७५३ स्थानीय तह रहेका छन् जसमध्ये ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन्। सबै स्थानीय तहमाअध्यक्ष/मेयर र उपाध्यक्ष/उपमेयर पद, वडाध्यक्षदेखि सदस्यसम्मका लागि एकै चरणमा मनोनयन दर्ता हुन लागेको हो।

सोमबार पनि बिहान १० बजेदेखि ५ बजेसम्म मनोनयन दर्ता गर्न पाइने आयोगले जनाएको छ।

स्थानीय तह निर्वाचनमा भाग लिने व्यक्तिहरुले निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्नुपर्छ। आयोगका अनुसार तोकिएको मिति र समयभित्र आकांक्षीहरुले मनोनयन दर्ता गरिसक्नुपर्नेछ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न योग्यतासमेत तोकेको छ। जसमा नेपाली नागरिक भएको, २१ वर्ष उमेर उमेर पूरा गरेको, मतदाता नामावलीमा नाम समावेश भएको र कुने कानुनले अयोग्य नबनाएको हुनुपर्नेछ।

स्थानीय निर्वाचनको सबै तयारी निर्वाचन कार्यतालिकाबमोजिम व्यवस्थित र प्रभावकारी ढंगले भइरहेको निर्वाचन आयोगले जनाएको छ। देशका ७५३ वटै स्थानीय तहहरूमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना भई कार्यसञ्चालन र मतदान केन्द्रमा प्रयोग हुने सामग्री पठाउने कार्य निरन्तर भइरहेको आयोगले बताएको छ। 

आयोगले गत चैत ४ मा स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार यही वैशाख ११ र १२ गते दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय गरिएको छ। वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ।

साभार : अन्नपुर्णपोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds