‘हामी भाइरसबाट बच्न सक्छौं तर भोकमरीबाट सक्दैनौं’

६ असार, काठमाडौं । चिकित्सा अध्ययन गर्न चाहने १२ कक्षाका एक विद्यार्थीले आफ्नी आमाको उपचार तथा भाइबहिनीको विद्यालय शुल्कको लागि मानिसहरूको शव व्यवस्थापन गर्ने काम सुरु गरेका छन् । उनले नाम चन्द मोहम्मद हो । उनकी आमा थाइराइडको अनियमितताको समस्या सामना गरिरहेकी छिन् । उनलाई अहिले तत्कालै उपचारको खाँचो छ । तर उनको उपचारका लागि परिवारसँग आवश्यक रकम छैन ।

‘लकडाउनको कारण मेरो दाइको कृष्णनगर बजारको किराना पसलमा गर्दै आएको काम गुमेपछि हामीले मुस्किलले हातमुख जोडिरहेका छौं’, २० वर्षीय मोहम्मदले भने । उनी उत्तरपूर्वी दिल्लीको सिलामपुर भन्ने स्थानमा बस्छन् । उनको परिवार छिमेकीले दिएको रासन र चन्दका दाजुभाइहरूले कमाएर ल्याएको पैसाले पालिएको छ ।

एक सातअघि चन्दले दिल्लीस्थित लोक नायम जयप्रकाश नारायण अस्पतालमा सरसफाइको काम पाए । उनले अस्पतालमा कोरोना भाइरसबाट मृत्यु भएका मानिसहरूको शव व्यवस्थापन गर्नुपर्ने थियो । उनको काम दिउँसो १२ देखि बेलुका ८ बजेसम्म तोकिएको थियो ।

‘मेरो काम पाउने सबै विकल्प सकिएपछि म यो काम गर्न थालेँ । कोरोना भाइरस संक्रमण हुने उच्च जोखिम भएकाले मेरा लागि यो निकै जोखिमपूर्ण काम हो, तर मलाई केवल काम चाहिएको थियो’ उनले भने ।

‘तीन दिदीबहिनी, दुई दाजुभाइ र आमाबाबुसहितको हाम्रो परिवार पैसा नभएको कारण संघर्ष गरिरहेको छ । अहिले हामीलाई खाना र आमालाई औषधिको खाँचो छ’, चन्द भन्छन् ।

‘धेरै दिन घरमा एकदिन मात्र खाना पाक्यो । त्यतिबेला कोरोना भाइरसबाट बचे पनि भोकमरीबाट भाग्न नसक्ने सम्भावना थियो’, उनले भने । चन्दका अनुसार उनका तीन बहिनी विद्यालयमा पढ्दै छन् । उनी आफैँ पनि १२ मा पढ्ने विद्यार्थी हुन्, उनले अहिलेसम्म विद्यालयको शुल्क बुझाउन सकेका छैनन् ।

‘पढाइको लागि पैसा चाहिन्छ’, उनले भने ।

आफ्नो पहिलो तलबले केही समयका लागि सबै कुराको व्यवस्था हुने आशा चन्दको छ । चन्द घरबाहिर निस्किँदा नमाज पढेर निस्किन्छन् । उनी आफूलाई ईश्वरमा विश्वास रहेको बताउँछन् । ईश्वरले नै आफ्नो ख्याल राख्ने र आफूलाई नयाँ बाटो देखाउने उनको भनाइ छ । उनी चिकित्सा अध्ययन गर्ने आफ्नो चाहना रहेको सुनाउँछन् ।

अहिले परिवारका कान्छा भाइ सबैभन्दा जोखिम रहेको काम गरिरहेका छन् । उनीको निजी कम्पनीबाट कुनै बिमा पनि गरिएको छैन ।

‘विश्वमा अहिले सबैभन्दा जोखिमपूर्ण काम कोभिड–१९ बाट मृत्यु भएका मानिसको शव व्यवस्थापन गर्नु हो र यसको लागि हामीलाई मासिक १७ हजार रुपैयाँ दिइन्छ’, चन्दले भने ।

प्रत्येक दिन चन्दले अर्का एक साथीसँग मिलेर  करिब दुईदेखि तीनओटा शव व्यवस्थापन गर्छन् । ‘हामीले शवलाई एम्बुलेन्सभित्र राख्नुपर्छ, शवगृहमा पुर्याउने र त्यहाँ पुगेपछि स्ट्रेचरमा राख्ने काम गर्नुपर्छ’, उनले भने । ‘यो काम गर्दा पीपीई लागाउनुपर्ने हुन्छ, जुन धेरै गह्रौं हुन्छ । यसले यताउता हलचल गर्न गाह्रो हुन्छ र उकुसमुकस हुन्छ । यति धेरै गर्मीमा तपाईं पसिनाले नै नुहाइसकेको हुनुहुनेछ ।’

गत मंगलबार उनी एक्लैले शव व्यवस्थापन गरिरहेका थिए । ‘मलाई सहयोग गर्ने कोही थिएनन् । त्यसैले धेरै समय लाग्यो, अन्तिममा मलाई स्वाँस्वाँ भइरहेको थियो’, उनले सुनाए ।

डाक्टरले उनलाई उक्त शव एक महिनादेखि बेवारिसे रहेको र कोही पनि दाबी गर्न नआएको बताएका थिए । यो शवलाई प्याक गर्ने मानिसले आफ्नो काम राम्रोसँग नगरेको कारण एम्बुलेन्समा राख्ने बेलामा शवलाई ढाकेको कपडा खुस्कियो । जसबाट केही तरल पदार्थ जिउमा परेको चन्दले सुनाए ।

यसरी केही रकम कमाउनुभन्दा पनि कम ब्याजदरमा केही ऋण लिएर काम केही गर्ने सोच चन्दको छ । उनले त्यसका लागि प्रयास पनि गरिरहेका छन् । चन्दको परिवार पनि उनको सुरक्षाको कारण चिन्तित छ । तर, उनीहरूलाई अहिलेको अवस्थामा घर धान्ने बाटो भनेकै चन्दको कमाइ हो भन्ने पनि राम्रोसँग थाहा छ ।

आफ्ना अभिभावकले सबै आफ्नो दैनिक कामको बारेमा सोध्ने गरेको र आफ्नो सुरक्षाको लागि प्रार्थना गर्ने गरेको चन्दले बताए ।

चन्द सधैं घर पुग्नासाथ नुहाउँछन् र आफ्ना परिवारका सदस्यहरूभन्दा केही पर नै बस्ने गरेका छन् ।

‘मैले सबै किसिमको सावधानी अपनाएको छु, तर कसैलाई के हुन्छ भन्ने कुरा थाहा हुँदैन । अहिलेको लागि म केही सहयोग गर्न चाहन्छु, ताकि मेरा परिवार सुरक्षित रहून्’, उनले भने ।

स्रोत : द हिन्दु

साभार :अनलाइनखबर अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *