१९ मंसिर २०८०, मंगलवार
(नेपाली समय)
१९ मंसिर २०८०, मंगलवार
नेपाली समय

२०७६ लाई फर्केर हेर्दा : फिल्मका लागि निराशाजनक वर्ष

काठमाडौं : वर्ष २०७६ मा जम्म ५४ वटा फिल्म रिलिज भए। त्यसमध्ये १० प्रतिशतले मुस्किलले लगानी उठाए भने एकाध फिल्मले मात्रै नाफा कमाए। दीपेन्द्र लामा निर्देशित फिल्म छ माया छपक्कै, प्रदीप भट्टराई निर्देशित जात्रैजात्रा र रामबाबु गुरुङ निर्देशित कबड्डी कबड्डी कबड्डीले उद्योगको नाक जोगाए। हजार जुनीसम्म, दाल भात तरकारी, पोइ पर्‍यो काले, साङ्लो, रातो टीका निधारमा लगायतका केहीले मध्यम व्यापार गरे।

फागुन ९ गते एकै दिन आमा र सेन्टी भाइरस रिलिज भएका थिए। यीमध्ये सेन्टी भाइरसले मध्यम व्यापार गरेको थियो भने आमा पिकअप लिने क्रममा थियो। त्यहीबीच कोरोना विपत्तिले हल बन्द गरिए। आमा पनि त्यसकै मारमा पर्‍यो। नत्र आमा बक्स अफिसमा निकै अगाडि देखिने गतिमा थियो। यिनै दुई फिल्म यो वर्षका अन्तिम फिल्म बने। कोरोना भाइरसको मारमा परेर वर्षको अन्तिम महिना चैतमा कुनै फिल्म रिलिज भएनन्। न त फिल्मसम्बन्धी कुनै गतिविधि नै भए। चैत ११ गतेबाट देश लकडाउनमा गएपछि सबै घरभित्र सेल्फ क्वारेन्टाइनमा बस्न बाध्य भए।

२०७६ को पहिलो महिना वैशाख १३ गते फिल्म ‘कालो वर्ष’ रिलिज भयो। फिल्मको नामजस्तै उद्योगका लागि यो वर्ष कालो नै रह्यो। कोरोनाको कहरमा फिल्म उद्योग पनि नराम्रोसँग पर्‍यो। फिल्मको व्यापार मात्र होइन, कलाकारको करिअर पनि सुखद रहेन। लगानीकर्ताको आधाभन्दा धेरै लगानी डुब्यो यो वर्ष। वैशाख २० गते सुदन केसी निर्देशित दाल भात तरकारी रिलिज भयो। हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्कीलगायतको अभिनय रहेको यो फिल्मबाट उद्योगले निकै ठूलो अपेक्षा गरेको थियो तर व्यावसायिक रूपमा त्यो पूरा भएन। वैशाख २७ गते रिलिज भएको पसिनाले बगाएको पसिना पनि खेर गयो।

जेठ महिनामा आठवटा फिल्म रिलिज भए। यो महिना रिलिज भएका जात्रै जात्रा, वीरविक्रम, कप्स, कुम्भकर्ण, काउसो, रोज, प्रेम दिवस र झट्कामध्ये जात्रैजात्रा अग्रपंक्तिमा देखियो। यसैगरी असारमा तीनवटा आप्पा, कीर्तिपुर र सानो मन रिलिज भए भने साउनमा सर्वाधिक १० वाटा फिल्म रिलिज भए। यो महिना रिलिज भएका घर, बदला, एकलब्य, सुपर गोर्खे, न यता न उता, रातो गलबन्दी, साइनो, रे, काँचुली र हजार जुनीसम्ममध्ये विकासराज आचार्य निर्देशित हजार जुनीसम्म अगाडि देखियो।

भदौमा रिलिज भएका पाँच फिल्महरू जाइरा, मारुनी, सोच, पासवर्ड र हिरो नम्बर १ मध्ये नायिका नम्रता श्रेष्ठले निर्माण गरेको जाइरा र साम्राज्ञी राज्यलक्ष्मी अभिनीत मारुनीबाट निकै अपेक्षा गरिएको थियो तर यी फिल्मले त्यो अपेक्षा पूरा गर्न सकेनन्। त्यसैगरी निकै ठूलो बजेटमा बनेको भनिएको अनि बलिउड अभिनेत्री सन्नी लियोनको समेत नृत्य रहेको फिल्म पासवर्ड पनि बक्स अफिसमा धेरै तल देखियो।

असोजमा पनि पाँच फिल्म रिलिज भए। यो महिना कबड्डी कबड्डी कबड्डी, रातो टीका निधारमा, काले दाइ, शिभम् र छ माया छपक्कै दर्शकमाझ आए। अन्य महिनाभन्दा यो महिना रिलिज भएका फिल्मले केही सान्त्वना दियो। यसैगरी कात्तिकमा सातवटा फिल्म रिलिज भए। रानी लक्ष्मी, पोइ पर्‍यो काले, बादशाह जुट, जीवन काँडा कि फूल, घामड शेरे, मि. नेपाली र सम्झिराख है यो महिना रिलिज भएका फिल्म हुन्।

मंसिरमा रिलिज भएका चि मुसी चि, सरौंतो, लभ यु हमेशा, मखमली मखमली, माछा माछा र माया पिरिममध्ये कुनैले पनि कमाल देखाउन सकेनन्। पुस महिनामा कुनै पनि फिल्म रिलिज भएनन् भने माघमा चारवटा फिल्म रिलिज भए। १२ सत्ताइस, दी कर्मा, सेल्फी किङ र साङ्लो यो महिना रिलिज भएका फिल्म हुन्।

यो वर्ष धेरै कलाकारका लागि पनि सुखद रहेन। केही स्टारका फिल्म नै रिलिज भएनन्। अनमोल केसी, प्रदीप खड्का, सलिनमान बानियाँलगायतका कलाकारका फिल्म नै रिलिज भएनन्।

विपिन कार्कीका लागि भने यो वर्ष सुखद रह्यो। सेल्फी किङ बक्स अफिसमा असफल भए पनि विपिनले राम्रै चर्चा कमाए। उनको जात्रैजात्रा सफल भयो। दयाहाङ राईका लागि पनि यो वर्ष सुखद नै रह्यो। जात्रैजात्रा र कबड्डी कबड्डी कबड्डीको सफलताले दयालाई उचाइमा राख्यो। उनी अभिनीत माछा माछा र सेन्टी भाइरसले भने उनलाई सेन्टी नै बनायो।

छ माया छपक्कैको सफलताले दीपकराज गिरीको उचाइ कायमै राख्यो।

यो वर्ष नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहका लागि सुखद रहेन। उनी अभिनीत दुई फिल्म रिलिज भए। उनका दुवै फिल्म बक्स अफिसमा अगाडि आउन सकेनन्। मारुनीले तारिफ पाए पनि दर्शक पाएन भने रातो टीका निधारमाले पनि उनलाई फाइदा पर्‍याएन। केकी अधिकारी, उपासना सिंह र वर्षा राउतका लागि वर्ष सुखद रह्यो।

साभार : अन्नपूर्ण पोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds