६ चैत २०८०, मंगलवार
(नेपाली समय)
६ चैत २०८०, मंगलवार
नेपाली समय

‘कोरोना प्रतिरोधी’ प्रमाणपत्रले नयाँ वर्ग निम्त्याउने जोखिम

विश्वभरका सरकारले आफ्ना नागरिकमा कोरोना भाइरसको संक्रमण रहे या नरहेको छुट्याउन भाइरसविरुद्ध लड्न शरीरले तयार पार्ने तत्त्व एन्टीबडीको परीक्षण गरिरहेका छन्। कतिपय देशहरूले ‘इम्युनिटि पासपोर्ट’ भनिएका कोभिड-१९ प्रतिरोधी प्रमाणपत्र भएका मानिसहरूको विवरण तयार पारिरहेका छन् र अरूले पनि त्यसै गर्न लागेका छन्।

यो अवधारणा अन्तर्गत त्यस्ता व्यक्तिहरूमा कोरोना भाइरसको संक्रमण पहिला भएको तर उनीहरूले संक्रमण नबोक्ने र फेरि उनीहरूमा कोभिड-१९ नदेखिने भनिएको छ। त्यस्ता व्यक्तिहरूका लागि लकडाउनको प्रतिबन्धहरू सजिलै खुल्ला गरिनेछन् ।

तर के यो सिद्धान्त सही छ? के यसले कोभिड-१९ बाट सुरक्षित तुल्याउने एन्टिबडी भएका वर्ग जसले अरू मान्छेले स्वास्थ्य सावधानी अपनाए पनि आफूचाहिँ निर्धक्क चाहेको बेला प्रेमी-प्रेमिकासँग डुल्न जाने, यात्रा र काम गर्न सक्छन्? भन्ने प्रश्न खडा गरेको छ।

‘मलाई भाइरस छैन, भेटौँ’

स्कटल्याण्डको एबरडीनकी पाम इभान्सलाई नयाँ समयको तीतो वास्तविकता तब थाहा भयो जब उनीप्रति आकर्षित एक पुरुषले इन्टरनेट डेटिङमा निकट हुन नौलो तरिका अपनायो।

‘सप्ताहान्तमा मैले एक जना पुरुषसँग कुरा गरेँ। उनले मलाई आफूले अघिल्लो हप्ता कोभिड परीक्षण गराएको र आफूलाई अब भाइरस नभएको बताए। र, मलाई भेटौँ भने।’ ‘मैले हुँदैन भनेँ। त्यसपछि उनी एकदमै आक्रोशित भए।’

ती पुरुष परीक्षणमा नेगेटिभ देखिएको भन्दै लकडाउनको उल्लङ्घन गरेर भएपनि पामलाई भेट्न आउनसक्ने भनिरहेका थिए। के यो कोरोना भाइरस संक्रमणबाट निको भएको प्रमाण रहेका व्यक्तिहरूले आफूहरूको समाजिक हैसियत माथि रहेको देखाउन थालेको संकेत हो?

न्यूयोर्कमा मानिसहरूले एन्टीबडी परीक्षणमा संक्रमणमुक्त भएको प्रमाणलाई आफूहरू डेटिङ गर्नका लागि सुरक्षित भएको प्रमाणका रूपमा प्रस्तुत गरिरहेका छन्। उनीहरूले परीक्षण नतिजाको फोटो खिचेर त्यसलाई इम्युनिटी पासपोर्टका रूपमा प्रयोग गरिरहेका छन्। यदि तपाईमा एन्टीबडी भेटियो भने के ठानिन्छ भने तपाईँलाई फेरि उक्त रोग लाग्दैन।

प्रतिरोधी प्रमाणपत्र भनेको के हो?

प्रतिरोधी प्रमाणपत्र भनेको तपाईँमा कोभिड-१९ कुनै समयमा देखिएको भन्ने प्रमाण हो। यसलाई देखाएर कुनैपनि व्यक्ति जान नपाउने स्थानमा प्रवेश गर्न सक्छन् । यो पाउन आफूमा भाइरसको संक्रमण भइसकेपछि शरीरमा एन्टीबडी विकसित भएको देखिनुपर्छ।

इस्टोनियाले इम्युनी पासपोर्ट प्रणाली बनाइरहेको छ र चीलेले पनि त्यस्तै सिद्धान्तका आधारमा प्रमाणपत्र जारी गर्न लाग्दैछ। रकम पठाउन प्रयोग गरिने ट्रान्सफरवाइज नामक कम्पनीका संस्थापक टाभेट हिनरिकसले इस्टोनियालाई फोन एपमा आधारित सो प्रणाली बनाउन सघाउन लागिरहेका छन्।

उनले भने, ‘यदि संक्रमणमुक्त हुने अवस्था अस्तित्वमा छ भने त्यस्तो क्षमता भएका मानिसहरूलाई वृद्धवृद्धाहरूसँग काम गर्न दिइनुपर्छ। अग्रमोर्चामा खटिनेको हकमा पनि त्यस्तै गरिनुपर्छ।’

एन्टिबडीको प्रमाण दिने अरू पनि एपहरू विकास गरिँदैछन्। एउटा त्यस्तै उदाहरण अनफिडो हो जसले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरि तस्बिर सहितको परिचयपत्रलाई बायोमेट्रिक सूचनासँग भिडाएर हेर्छ। यस्तो एपले एन्टीबडी रहेका व्यक्तिहरूलाई सबै खालको विशेष सुविधाहरू दिलाउन सक्छ।

उक्त एपका सह-संस्थापक हुस्यान कासाइले भने, ‘पर्यटन उद्योगमा अमेरिकामा थोरै होटल चेनहरू छन् जसले अहिले एपमार्फत इम्युनिटी पासपोर्टहरूलाई मान्यता दिइरहेका छन्।’

खासगरी समाजिक दूरी कायम गर्ने विकल्प नरहेका जीम वा स्पाजस्ता गतिविधि गर्न चाहने पाहुनाका लागि यस्तो व्यवस्था गरिएको उनले बताए।

के यसले नयाँ वर्ग निर्माण गर्दैछ?

तर यस्तो परीक्षणको नकारात्मक पक्ष पनि छ। के यसले कोभिड-१९ संक्रमणबाट मुक्त भएकाको एउटा नयाँ विशिष्ट तप्का विकास त गराउँदैन?

के यसले दुई तहको समाजको विकास गराउँछ जसमा संक्रमणको जोखिमबाट मुक्त व्यक्तिहरू मन लागेको बेला हिँडडुल गर्ने र अरू घरभित्रै लकडाउनमा बस्ने वा समाजिक दूरीका कारण सीमित हुने?

युनिभर्सिटी कलेज लन्डनका स्वास्थ्य, मनोविज्ञान तथा व्यवहार विज्ञानका प्राध्यापक रोबर्ट वेस्ट विभाजित समाज बन्ने चिन्ता व्यक्त गर्छन्। उनकाअनुसार इम्युनिटी पासपोर्ट भएका व्यक्तिहरू आफूले चाहे अनुसार जहाँ पनि काम गर्न पाउनेछन् भने एन्टीबडी नभएकाहरूले काम नै पाउने छैनन्।

उनले भने, ‘यसले बहु तहको समाज निर्माण गर्नेछ एवम् विभेद र असमानताको तह बढाउनेछ।’ प्राध्यापक वेस्ट संक्रमणमुक्त भन्ने अवधारणा कै बलियो आधार नरहेको चेतावनी दिन्छन्।

कोभिड-१९ का कारण हालसम्म सबैभन्दा बढी मृत्यु अमेरिका, ब्रजिल र यूकेमा भएका छन्। सबैभन्दा खराब संक्रमण देखिएको न्यूयोर्कका २१ प्रतिशतसम्म बासिन्दामा कोभिड-१९ जोडिएका एन्टीबडी देखिएको अध्ययनलाई न्यूयोर्कका गभर्नरले उदृत गरेका छन्।

अमेरिकामा आधारित कोभिड-१९ परीक्षण प्रोजेक्टले मे महिनामा प्रकाशित गरेको अध्ययनले १२ वटा एन्टीबडी जाँच गर्दा ८१ देखि १०० प्रतिशतसम्म सही नतीजा दिएको देखिएको थियो। कोभिड-१९ को लक्षण देखिएका व्यक्तिहरूलाई त्यसको २० दिनपछि गरिएको एन्टीबडी परीक्षणमा यी नतिजा आएका हुन्। उनीहरूलाई पहिला परीक्षण गर्दा कोभिड-१९ देखिएको थियो। त्यही भएर रोग लागेका व्यक्तिहरूमा एन्टीबडी रहेको नरहेको पत्ता लगाउन परीक्षण उपयुक्त विधि हुनसक्छ।

तर अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सीडीसीले एन्टीबडी परीक्षणको नतीजा पचास प्रतिशतमात्र सही देखिने चेतावनी दिएको छ। परीक्षणले एन्टीबडी रहेको सही नतिजा दिएपनि त्यसको अर्थ के हो भन्ने प्रश्न उठ्न सक्छ।

विश्व स्वास्थ्य सङ्गठनले एन्टीबडी हुनुलाई कोरोनाभाइरसको जोखिम नै नहुनु भनेर ठहर गर्न मिल्ने कि नमिल्ने भन्नेबारे आशङका व्यक्त गर्ने गरेको छ।

एबरडीनकी पाम पनि एन्टिबडीको परीक्षण सम्बन्धी तर्कसँग सहमत छैनन्।

उनले भनिन्, ‘हामीलाई थाहा छैन यो प्रतिरोधी क्षमता कहिलेसम्म रहनसक्छ। कसैलाई पार्कमा भेटेर कफी पिउँदैमा मलाई समस्या छैन। म उसै पनि पहिलो डेटमा नै चुम्बन गर्ने खालकी व्यक्ति हुँदा पनि होइन।’

साभार: अन्नपूर्णपोष्ट अनलाइन
 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds