१५ चैत २०८०, बिहीवार
(नेपाली समय)
१५ चैत २०८०, बिहीवार
नेपाली समय

खेलकूदमा महिला सहभागिता बढाइने

काठमाडौँ, २९ जेठ (रासस) ः युवा तथा खेलकूद मन्त्री जगतबहादुर सुनार(विश्वकर्मा)ले खेल क्षेत्रमा महिला सहभागिता वृद्धि भएमा महिला हिंसा न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभएको छ । 

राष्ट्रिय खेलकूद परिषद्ले आज आयोजना गरेको राष्ट्रपति खेलकूद महिला सहभागिता अभिवृद्धि विषयक अन्तरक्र्रिया कार्यक्रममा उहाँले खेल क्षेत्रमा महिलाको सहभागिताका लागि प्राथमिकता दिइने बताउनुभएको हो । 

मन्त्री विश्वकर्माले खेलकूदकै माध्यमबाट आपसमा तीतो सम्बन्धमा रहेका संयुक्त राज्य अमेरिका र उत्तर कोरियासमेत आपसमा शिखर वार्तामा आउन तयार भएको सन्दर्भ उल्लेख गर्दै उहाँले खेलको विकासबिना समाजको समग्र विकास नहुने बताउनुभयो । 

परिषद्का सदस्यसचिव केशवबहादुर विष्टले चालू आवमा शुरु भई आगामी वर्षमा पनि राष्ट्रपति खेलकूद महिला सहभागिता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । सो कार्यक्रमका लागि चालू आवमा रु एक करोड ४० लाख बजेट बिनियोजित गरिएको छ । 

परिषद्का सदस्य सकुन्तला नकर्मीले कानूनी र नीतिगतरुपमा खेल क्षेत्रमा महिलाको सहभागिता वृद्धिका लागि कुनै समस्या नहरे पनि सामाजिक परिस्थिति र पुरातन संस्कारका कारण खेल क्षेत्रमा तुलनात्मकरुपमा महिलाको सहभागिता बढ्न नसकेको बताउनुभयो । 

नेपाल टेलिभिजनका कार्यक्रम निर्देशक आरती चटौतले समाजमा महिलाले कडा र गाह्रो काम गर्नु हुन्न र उसलाई घरबाट बाहिर लानु हुँदैन भनिन्छ त्यही समाजमा महिला हिंसा हुने भएकाले महिलालाई खेल क्षेत्रमा लगाउन सकिए सामाजिक परिवर्तनमा योगदान पुग्ने बताउनुभयो । 

सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माले बलात्कार हुनु मात्र महिला हिंसा नभएकाले परिषद्भित्रै लैङ्गिक समताको सोच र व्यवहार हुनुपर्ने बताउँदै हाल खेल क्षेत्रमा रहेका महिलाहरुले भोग्नुपरेका विभेदको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । 

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds