१६ चैत २०८०, शुक्रवार
(नेपाली समय)
१६ चैत २०८०, शुक्रवार
नेपाली समय

गठबन्धनमा सकस भएपछि एकल उम्मेद्ववारी घोषणा

बेनी : सत्ता साझेदार पाँच दलीय गठबन्धनमा सकस भएपछि दलहरुले एकल उम्मेद्ववार छनौट, सिफारिस र घोषणा गर्न थालेका छन्। चैत २४ गते नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको पाँच दलीय संयन्त्रले बैशाख ३० गते हुने स्थानीय तह चुनावमा साझा उमेद्वार बनाउने सैद्धान्तिक सहमति गरेका थिए। 

सहमतिपछि दुई पटक बसेको बैठकमा वडा र पालिका बाँडफाँडमा बिवाद उत्पन्न भएपछि गठबन्धनमा रहेका दलहरुले एकल उम्मेदवारी घोषणा गरेका हुन्। नेपाली काँग्रेसले दूई वटा र माओवादी केन्द्रले एक वटा स्थानीय तहमा एकल उम्मेदवारी घोषणा गरिसकेका छन्। 

बेनी नगरपालिकामा नेपाली काँग्रेसले चिरञ्जिवी शर्मालाई मेयरको उमेद्वार बनाउने निर्णय शुक्रबार गरेको थियो। माओवादी केन्द्रले आइतबार मेयरमा नगर अध्यक्ष सेरबहादुर केसी र म्याग्दी–काठमाडौ गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैशी तथा उपमेयरमा ज्योती लामिछाने पौडेललाई उमेद्वार बनाउन सिफारिस गरेको छ। 

माओवादीका गण्डकी प्रदेश सदस्य तथा बेनी नगर इञ्चार्ज बिनोद केसीले गठबन्धनभित्र समय घर्किदा सम्म पनि सहमति नभएपछि एकल उमेद्वार छनौट गर्नुपर्ने अवस्था आएको बताए। ‘सहमतिको अन्तिम प्रयत्न अझै पनि छ,’ उनले भने ‘समय घर्किसकेकाले आफ्नै तयारी गर्नुपर्छ भनेर उमेद्वार घोषणा गरिएको हो।’

काँग्रेसले मालिका गाउँपालिकाको अध्यक्षको उमेद्वारमा अहिलेका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकालाई दोहोर्याउने घोषणा गरेको छ। मालिकाको अध्यक्षका आकाक्षी रहेका माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीले सामाजिक सञ्जाल फेसबुक मार्फत ‘माओवादीले एमालेलाई हराएर काँग्रेसलाई ठूलो पार्टी बनाउने ठेक्का लिन जरुरी’ नभएको चेतावनी दिएका छन्। 

नेपाली काँग्रेस म्याग्दीका सचिव हिराबहादुर पुनले कसले कति र कुन पालिका, वडाको नेतृत्वमा उमेद्वार बनाउने भन्ने विषयमा छलफल अड्कीएको बताए। काँग्रेसले अघिल्लो चुनावमा आफुले जितेका पालिका आफुसँगै राखेर एमालेले जितेको थप पचास प्रतिशत वडा र पालिका छोडेर बाँडफाड गर्ने प्रस्ताव गरेका थिए। 

माओवादी केन्द्रले कम्तिमा दुई वटा स्थानीय तह र १८ वटा वडा अध्यक्षमा दावी गरेका थिए। नेकपा एकिकृत समाजवादी र जसपाले पनि एक÷एक वटा पालिकाको नेतृत्व दावी गरेका थिए। 

अन्नपूर्ण, रघुगंगा, मंगला र धवलागिरी गाउँपालिकामा सिफारिस भएका उमेद्वार छनौट र सार्वजनिक गर्ने चरणमा काँग्रेस छ। माओवादी केन्द्रका नेताहरुले बेनीसँगै अन्य पालिकाहरुमा एकल उमेद्वार सार्वजनिक गर्ने तयारी भएको जनाएको छ। 

गठबन्धनका प्रमुख दलले सम्वाद अन्त्य र सहमति भंग भएको घोषणा गरिनसकेकाले एकले अर्कालाई गलाउन खोजेको देखिन्छ। पछिल्लो तीन दिनयता छलफल नगरेका उनिहरु केन्द्रको निर्णयको प्रतिक्षामा छन्। 

एमालेका चार पालिकाको नेतृत्व सर्वसम्मत 

नेकपा एमालेले म्याग्दीका चार वटा गाउँपालिकाको अध्यक्ष र दुई वटा पालिकाका उपाध्यक्षका उमेद्वार सर्वसम्मत छनौट गरेको छ। मालिकाको अध्यक्षमा बेगप्रसाद गर्बुजा, मंगलाको अध्यक्षमा सतप्रसाद रोका, रघुगंगाको अध्यक्षमा प्रेमबहादुर कार्की र अन्नपूर्णको अध्यक्षमा भरत पुनलाई उमेद्वार बनाउने सर्वसम्मत निर्णय भएको एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र केसीले बताए। 

अन्नपूर्णको उपाध्यक्षमा दिवा पुन र रघुगंगाको उपाध्यक्षको उमेद्वारमा यामकुमारी गर्बुजाको नाम सर्वसम्मत सिफारिस भएको छ। बेनी नगरपालिकाको मेयरको उमेद्वारमा एमालेबाट प्रमोद श्रेष्ठ, सुरत केसी, सन्तोष रावल र नारायण जिसीको नाम सिफारिस भएको छ। उपमेयरमा पशुपति शाही, गौरी थापामगर, बिष्णु गुरुङ र भावना पौडेलको नाम सिफारिस भएको छ। 

धवलागिरीको अध्यक्षको उमेद्वारमा अहिलेका अध्यक्ष थमसरा पुन, प्रदेश कमिटी सदस्य रेशम भण्डारी, गाउँपालिका कमिटीका अध्यक्ष होमबहादुर थापा र गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले दावी गरेका छन्। मंगलाको उपाध्यक्षमा अहिलेका उपाध्यक्ष सिर्जना केसी र पेमा अधिकारीले दावी गरेका छन्। 

साभार : अन्नपुर्णपोष्ट अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds