१६ चैत २०८०, शुक्रवार
(नेपाली समय)
१६ चैत २०८०, शुक्रवार
नेपाली समय

चितवनको समुदायमा कोरोना फैलिएको हो ?

३० जेठ, चितवन । समुदायमा कोरोना फैलिन पाएन भनेर खुसी देखिएका चितवनका प्रशासक, चिकित्सक तथा जनप्रतिनिधिहरु सोमवार साँझ एकैपटक २० जना संक्रमित थपिएपछि झस्किए । भारतबाट आएर क्वारेन्टिनमा बसेकादेखि अस्पतालका चिकित्सक र नर्ससम्मलाई कोराना संक्रमण देखिएपछि डराउनु स्वाभाविक हो । त्यसैले त चितवनका स्थानीय तहहरुले धमाधम वडा सिल गरेका छन् ।

भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरुले उतैबाट कोरोना लिएर आएको हुनसक्ने अनुमान गरिए पनि चिकित्सक र नर्सलाई कसरी संक्रमण भयो भन्ने भेउसम्म यहाँका चिकित्सक र सम्बन्धित निकायले पाउन सकेका छैनन् । भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएका ६८ वर्षीय वृद्ध, नारायणी सामुदायिकका चिकित्सक र मनकामना अस्पतालकी एक नर्सलाई कसरी कोरोना संक्रमण भयो भन्ने कुरा अझै थाहा हुन सकेको छैन ।

कोरोना संक्रमितमध्ये भरतपुर महानगरपालिकाका धेरै छन् । महानगरपालिकाका ९ वटा वडामा कोरोना संक्रमित देखिएका छन् । कालिका नगरपालिकामा १ जना, भरतपुर महानगरको वडा नं. ४ मा एक जना, वडा नं. ५ मा एक जना, वडा नं. ६ मा तीन जना, वडा नं. ११ मा एक मृतकसहित दुई जना, वडा नं. १९ मा एक जना, वडा नं. २० मा एक जना, वडा नं. २२ मा एक जना, वडा नं. २७ मा एक महिलासहित दुई जना, वडा नं. २८ मा दुई जना कोरोना संक्रमित भेटिएका छन् ।

यसअघि, भरतपुर महानगरपालिका वडा नं. ६ मा तीन जना संक्रमित भेटिएका थिए । उनीहरुमध्ये दुई जनाको भरतपुर अस्पताल र अर्का एक जनाको भरतपुर कोरोना अस्पतालमा उपचार भैरहेको छ ।जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले जिल्लामा कोरोना संक्रमण समुदायमा जान थालेको बताए । यसलाई समयमा नै नियन्त्रण गर्न नसकिए समस्या ठूलो बन्ने उनी बताउँछन्

महानगरमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ । सोमबार संक्रमण पुष्टि भएकामध्ये पूर्वी चितवनको खैरहनी नगरपालिका-५ घर भएका एक चिकित्सक र माडी नगरपालिका वडा नं. १ का ६ जना छन् । राप्ती नगरपालिका वडा नं. ८ मा दुई आमा–छोरा कोरोना संक्रमणबाट निको भएर घर फर्किसकेका छन् ।

संक्रमित चिकित्सक चितवनबाट पास लिएर काठमाडौं प्रस्थान

सोमबार चितवनमा संक्रमित पुष्टि भएका अर्का एक चिकित्सक सवारी पास बनाउन जिल्ला प्रशासन कार्यालय पुगेको पाइएको छ । चितवन मेडिकल कलेजबाट पासआउट भएका काठमाडौं इचङ्गुनारायणका ती चिकित्सक लाइसेन्सको लागि नेपाल मेडिकल काउन्सिल जान भन्दै सवारी पास बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

जेठ २० गते पासको लागि जिल्ला प्रशासन कार्यालय गए तापनि उनको कागजात पूरा नभएकाले थप कागजात पुर्याएपछि २५ गते मात्रै पास पाएका थिए । उनी मोटरसाइकलको पास बनाएर २५ गते नै काठमाडौं गएको खुलेको छ । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा सतर्कता अपनाउन थालेको छ । संक्रमण पुष्टि भएका चिकित्सक काठमाडौंमा नै छन् ।

जिल्ला प्रशासन कार्यालयभित्र कोहि पनि सेवाग्राहीलाई प्रवेश गर्न दिइएको छैन । कार्यालयबाट अहिले मृत्यु संस्कार र वैदेशिक प्रयोजनको लागि मात्रै पास दिइएको छ । आवश्यक कागजात गेटमै लिने र आवश्यकताअनुसार मात्रै पास दिने गरिएको छ ।

समुदायमा सरेको संकेत

जिल्लामा संक्रमितको संख्या बढ्नु र एक जनाको कोरोनाकै कारण मृत्यु हुनुलाई कोरोनाको संक्रमण चितवनको समुदायमा सरेको सम्भावनाको रुपमा लिइएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले जिल्लामा कोरोना संक्रमण समुदायमा जान थालेको बताए । यसलाई समयमा नै नियन्त्रण गर्न नसकिए समस्या ठूलो बन्ने उनी बताउँछन् । उनले संक्रमितहरुले दिने झुटो विवरण नै सबैभन्दा ठूलो समस्या बनेको बताए । ‘संक्रमितहरुले सहि जानकारी नदिँदा कन्ट्याक्ट ट्रेसिङमा निकै समस्या छ,’ तिवारीले भने, ‘संक्रमितले सहि सूचना दिए तत्कालै परीक्षणको दायरामा ल्याउन सजिलो बन्छ तर समस्या झेलिरहेका छौं ।’

भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरुबाट खासै खतरा नरहे पनि संक्रमणको लक्षण नै नदेखिएका व्यक्तिबाट कोरोना सर्न सक्ने अवस्था देखिएको जनस्वास्थ्य विज्ञहरु बताउँछन् । चितवनमा पछिल्लो समयमा संक्रमण पुष्टि भएका २० जना मध्ये १७ जना क्वारेन्टिनमा बसेकाहरु छन् । बाँकी चिकित्सक, नर्स, घरमा नै बसेका छन् ।

चितवन जिल्लामा संक्रमितको संख्या अझै बढ्न सक्ने देखिएको छ । पछिल्लो समयमा भारतबाट पनि नागरिकहरु नेपाल आएको र परीक्षणको दायरा पनि बढेकाले संक्रमित अझै थपिने बताउँछन् जनस्वास्थ्य कार्यालयका प्रमुख तिवारी ।

चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले पनि आउने साता जिल्लामा संक्रमितको संख्या बढ्नसक्ने बताए । अस्पताल, क्वारेन्टिन र आइसोलेसनमा निकै सावधानी अपनाउनुपर्ने डा. लम्सालले बताए । अहिले संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ राम्रोसँग गर्न सकिए थप संक्रमण कम हुने डा. लम्सालले बताए ।

साभार :अनलाइनखबर अनलाइन

Breaking News
prev next

जनदृष्टी अनलाइन


This will close in 15 seconds